कालो ढुसीको उपचारका लागि आठ लाख पर्ने ‘इन्जेक्टेवल’ औषधि नि:शुल्क दिदै सरकार
काठमाडौँ, १ असार । यतिवेला राजधानीका त्रिवि शिक्षण अस्पताल लगायत मोफसलका कतिपय अस्पतालमा म्युकोरमाइकोसिस (ब्ल्याक फङ्गस) अर्थात कालो ढुसीको संक्रमण परेका व्यक्तिहरुको उपचार भइरहेको छ ।
कोरोना संक्रमणमा परि निको भएका कतिपयमा देखिएको यो रोगको उपचारका लागि छुट्टै औषधि छैन् । चिकित्सकहरुले कालाजार रोगमा प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन – बी’ प्रयोग गर्दै आएका छन् ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले म्युकोरमाइकोसिस रोगको उपचारका लागि एम्पोटेरिसिन बी ‘इन्जेक्टेवल’ औषधि माग भइरहेको बताएको छ । ‘हामीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कालाजारका लागि उपलव्ध गराएको केही भाइल एम्पोटेरिसिन वी ‘इन्जेक्टेवल’ औषधि थियो । म्युकोरमाइकोसिस रोगको उपचारका लागि भन्दे यहाँ लिन आइरहेका छन् । करीब १२ जनाले त लगि पनि सके,’ इडिसिडीका निर्देशक डा कृष्ण पौडेलले भने ।
कालाजारका बिरामीका लागि यो औषधि एक जना बिरामीका लागि १० देखि १५ भाइल प्रयोग हुने गर्दथ्यो । तर म्युकोरमाइकोसिसका लागि ७० देखि ८० भाइल चाहिँदो रहेछ । निर्देशक डा पौडेलले कालाजार भन्दा सात आठ गुणा बढी मात्रामा उपलव्ध गराउनु पर्दा अभाव हुने समस्या भएको बताए ।
‘सामान्य अवस्थामा यो खोप एक भाइलको मूल्य करीब १० हजार पदथ्यो । ७० – ८० भाइल औषधिको मूल्य हिसाव गर्दा झण्डै ७ – ८ लाख रुपैयाँ पर्दो रहेछ । राज्यले निकै महंगो यो ‘इन्जेक्टेवल’ औषधि’ निशुल्क रुपमा उपलव्ध गराउनु पनि निकै ठूलो कुरा हो,’ उनले भने ।
त्यसो त नेपाली बजारमा एम्पोटेरिसिन – बी निजी क्षेत्रले पनि ल्याएको सुनिएको छ । इडिसिडीले भने कालाजारको ‘इन्जेक्टेवल’ औषधि पछि सोधभर्ना गर्ने गरी अहिले म्युकोरमाइकोसिसका लागि उपलव्ध गराएको भन्दै थप औषधिका लागि सहयोग गर्न डव्लुएचओलाई अनुरोध गरेको छ ।
‘हामीलाई कालाजारका लागि २५०० देखि ३००० भाइल खोप भए पुग्थ्यो । तर अब म्युकोरमाइकोसिसका लागि ठूलो मात्रामा माग हुँदा समस्या परेको छ भनेका छौं,’ उनले भने ।
नेपालमा अहिलेसम्म कतिजनामा म्युकरमाइकोसिसको समस्या देखियो भन्ने एकीन विवरण आएको छैन् । इडिसिडीले औषधि खोज्न आएकाहरुबाट लिइएको विवरणको आधारमा थोरै जानकारी आएको भन्दै एकीन विवरण कसैले पनि नपठाएको बताएको छ ।
सम्पर्क इमेल : [email protected]