म्युकोरमाइकोसिस (ब्ल्याक फङ्गस) के हो ?

डा. ज्ञानेन्द्र घिमिरे

म्युकोरमाइकोसिस सामान्य रूपमा दुर्लभ तर धेरै गम्भीर प्रकारको ढुसी(फङ्गस)को सङ्क्रमण हो ।  यो म्यूकोर्माइसिटिज (पहिले Zygomycetes भनिन्थ्यो) भनिने समूहमा पर्ने ढुसीहरूको कारणबाट हुन्छ।

ढुसी वातावरणको जताततै माटो, बोटबिरुवा, मल, कुहिन लागेका वा कुहिएका फल र तरकारीहरू र जुनसुकै ओसिला ठाउँमा हुन सक्छन्।

मुकोरमाइकोसिसको सङ्क्रमणको जोखिम समूह :

यी ढुसीहरू वातावरणमा जताततै पाइए पनि सामान्य अवस्थामा भने यिनले रोग लगाउँन सक्दैनन् । हाम्रो शरीरको सामान्य अवस्था अन्य कुनै रोगका कारणले खलबल भएको अवस्थामा वा शरीरको रोग प्रतिरोधात्मक क्षमता विभिन्न कारणहरूले कमी हुँदा नै यिनले आक्रमण गर्छन् ।

उदाहरणका लागि सामान्य रूपमा नै रोगप्रतिरोध क्षमता कम हुने रोग ,मधुमेह, क्यान्सर, अङ्ग प्रत्यारोपण, स्टेम सेल प्रत्यारोपण, दीर्घकालिक कोर्टिकोस्टेरोइड प्रयोग, लागु औषधिहरूको प्रयोग, शरीरमा धेरै फलाम तत्त्व जम्मा भएका व्यक्ति, शल्यक्रियाको कारण छालामा चोटपटक वा घाउहरू भएका, समय नपुग्दै जन्मेका वा कम वजनका नवजात शिशुहरूलाइ लिन सकिन्छ।

असर गर्ने मुख्य अङ्गहरु
वायुबाट ढुसीका बीजाणुहरू भित्र पसेपछि साइनस वा फोक्सोमा मुख्यत: आक्रमण गर्छ। घाउ मार्फत छालामा सङ्क्रमण गर्नसक्छ। प्रतिरोधात्मक क्षमता कम भएका जो भर्खर कोभिड -१९ रोगबाट निको भएर सङ्क्रमित भएका व्यक्तिहरूमा धेरै जोखिमपूर्ण छ. प्रारम्भिक चरणमा पहिचान गरिएको छैन र उचित उपचार नभएमा तिनमा मृत्युदर ७० प्रतिशत सम्म  छ।

म्युकोरमाइकोसिस गर्ने मुख्य ढुसीका प्रजातिहरू राइजोपस, राइजोम्युकर, अपोफाइसोमाइसेज ( Rhizopus Rhizomucor Apophysomyces) इत्यादि हुन्।

म्युकोरमाइकोसिसका प्रकारहरू
१.साइनस र मस्तिष्कको म्युकोरमाइकोसिस
२ फोक्सोको म्युकोरमाइकोसिस
३. पेट र आन्द्राको म्युकोरमाइकोसिस
४. छालाको म्युकोरमाइकोसिस
५. फैलिएको म्युकोरमाइकोसिस

यस रोगका लक्षणहरू

यसको संक्रमण भएको अङ्गमा निर्भर गर्दछ।

• नाक र मष्तिष्क- एक पक्ष अनुहारको सूजन, टाउको दुख्ने, नाक वा साइनस सुन्निने, नाकको प्वालमा कालो घाउ, ज्वरो आदि।

• फोक्सो – ज्वरो, खोकी, छाती दुख्ने, सास फेर्न कठिनाइ आदि।

• छाला – कालो दागका साथ छालाको गठन, अत्यधिक दुखाइ र रातोपन, न्यानोपन, घाउको वरिपरि सूजन आदि।

• पेट र आन्द्रा – पेट दुखाइ, वाकवाक हुने र बान्ता, दिसामा रगत आउने आदि फैलिएको  संक्रमण साइटमा निर्भर गर्दछ। सामान्यतया ज्वरो, घाउ, अत्यधिक दुखाइ आदि।

यो रोग कसरी सर्दछ ?

यी माथि भनिएका ढुसी वातावरणमा जताततै छन्। तर हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले यिनलाई बढ्न नदिने हुनाले स्वस्थ व्यक्तिलाई रोग लाग्ने सम्भावना साधारणतया हुँदैन।

• हावाको माध्यमबाट ढुसीका बीजाणुहरू सासबाट प्रवेश गरेर फोक्सोमा पुग्छन्। फोक्सोबाट बीजाणु शरीरको विभिन्न भागमा रगत भएर पुग्छ: मस्तिष्क, फोक्सो, आँखा, नाक आदि। कोभिड – १९ रोगबाट निको भएका व्यक्तिहरू बढी जोखिममा छन् किनकि यसअवधिमा मानिसहरूले कोभिड रोग नियन्त्रण गर्नका लागि विभिन्न प्रकारका स्टेरोइडहरू प्रयोग गरिरहेका हुन्छन्।

• स्टेरोइडले व्यक्तिको प्रतिरोधात्मक क्षमता कम हुन्छ जसले कालो ढुसीको वृद्धिलाई बढाउँदछ र फोक्सोबाट अन्य अङ्गहरूमा फैलन्छ।
यो रोग हावाबाट मानिसमा सरे तापनि कुनै व्यक्ति मानिस वा पशुबाट मानिसमा सरेको स्पष्ट छैन।

कोभिड – १९ का बिरामीहरुमा यो रोग फैलिनुका मुख्य कारण

हाल विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड – १९ रोगसगैँ भारत लगायतका मुलुकरुमा कोविड निकोभएका बिरामीहरुमा म्युकर्माइकोसिस व्यापक रुपमा फैलिरहेको छ। यसको मुख्य कारण भनेको कोरोना भाइरसबाट फोक्सो बचाउनका लागि भनेर स्टेरोइड औषधिहरू चिकित्सकको सुझावमा वा आफुखुशी प्रयोग गर्दा तत्कालका लागि बिरामीलाई निमोनिया हुनबाट बचाए तापनि शरीरको अन्य रोगसित लड्ने क्षमता भने घटाइदिने हुनाले सो मौकामा हावाबाट छिरेका ढुसीका बीजाणु फैलिने मौका पाएर यो रोग फैलिएको देखिन्छ।

साथै मास्क को उचित प्रयोग नहुँदा (एउटै मास्क २,३ दिनसम्म लगाइराख्नाले) पनि यो ढुसीका स्पोरहरु बाहिर फालिने सासमा हुने पानीले भिजेका मास्कमा वृद्धि भएर फोक्सोमा पुगी रोग फैलिएको हुनसक्ने सम्भावना छ।

त्यसैगरी लामो समयसम्म अक्सिजन लगाउँनुपर्ने बिरामीहरुमा पनि अक्सिजनसँगै स्पोरहरू पनि फोक्सोमा जानसक्ने भएकाले यो समस्या झनै बढेको देखिन्छ।

बच्ने उपायहरू

  • ढुसीहुनसक्ने वातावरणबाट आफूलाई जोगाउनुहोस्, उदाहरणका लागि धेरै ओसिलो र धुलोको साथ क्षेत्रबाट बच्न कोसिस गर्नुहोस् र यदि सम्भव छैन भने, N95 फेस मास्क लगाउनुहोस्।पानी चुहिएका वा भिजेर रहेका कोठा वा भवनहरू, बाढीग्रस्त क्षेत्र आदिसँग प्रत्यक्ष सम्पर्कबाट टाढा रहनुहोस्।
  • माटो वा धुलोसँग नजिकको सम्पर्क हुने गतिविधिहरू नगर्नुहोस् र सम्भव नभए सम्पर्कमा आउने समयमा जुत्ता, पन्जा, मास्क, लामो पेन्ट, लामो बाहिरी शर्ट आदि लगाउनुहोस्।
  • छालामा चोट लागेको छ भने तुरुन्त सफा गर्नुहोस् र थप उपचार आवश्यक भए गर्नुहोस्। माटो र मल जस्ता सामग्री चलाउँदा पन्जा लगाउनुहोस्। सकेसम्म रोगप्रतिरोध क्षमता घटाउने स्टेरोइड जस्ता औषधिको प्रयोग चिकित्सकको सल्लाहमा न्यूनतम मात्रामा न्यूनतम समयका लागि मात्र गर्नुहोस्।

निदान र उपचार
यसका लागि उचित तरिकाले सङ्क्रमण भएको ठाउँबाट नमुना सङ्कलन गरी प्रयोगशालामा ढुसी सूक्ष्मदर्शक यन्त्रले हेर्न र वृद्धि (कल्चर) गरेर पनि निदान गर्न सकिन्छ।

सीटी स्क्यान गरेर रोग लागेको अङ्गमा यसको असर थाहा पाउन सकिन्छ ।

घाउको प्रकार हेरेर शल्यक्रिया गरेर पनि सङ्क्रमित भागलाई निकालेर फाल्न सकिन्छ।

यो ढुसी समूहको सङ्क्रमण भएकाले ढुसीविरुद्ध काम गर्ने (एन्टिफङ्गल) औषधिहरु एम्फोटेरिसिन बी, इसवुकोनाजोल वा पोसाकोनाजोल इत्यादि औषधिको प्रयोग गरिन्छ।

लामो समय सम्म इन्जेक्सनबाट उपचार गर्नुपर्ने हुँदा उपचार महङ्गो हुनुका साथै यी औषधिहरू सजिलै उपलब्ध नहुँदा उपचार सजिलै हुन नसक्ने अवस्था छ। अत: यो समस्या आउनै नदिन सचेत हुनु अत्यावश्यक छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *