बजेटका विषयमा के भन्छन् स्वास्थ्यका पेशागत तथा व्यावसायिक संस्थाका प्रतिनिधि ?

आर्थिक बर्ष २०७८/ ७९ को बजेट आएको छ । कोरोना महामारीकाबीच ल्याइएको बजेटमा अर्थ मन्त्री विष्णु पौडेलले स्वास्थ्यमा अहिलेसम्मकै बढी हिस्सा छुट्याएका छन् । यो आफैमा सुखद संकेत हो । तै पनि बजेटका विषयमा स्वास्थ्यका व्यवसायिक तथा पेशागत संस्थाका प्रतिनिधिहरुले के भन्छन्, हामीले समेटने प्रयास गरेका छौँ ।

डा. लोचन कार्की, अध्यक्ष नेपाल चिकित्सक संघ
अर्थमन्त्री ज्यूले सुरु देखि नै कोभिडलाई प्राथमिकतामा राखेर बजेट ल्याएको भन्नुभएको छ । तुलनात्मक रुपमा बजेटको आकार पनि बढेको छ । तर जुन आउनुपर्ने मुख्य कुरा हो त्यो आएको छैन् । बजेटमा पूर्वाधारको कुरा गरिएको छ । आइसीयू, भेन्टिलेटरको कुरा गरिएको छ तर त्यसलाई सञ्चालनमा ल्याउने जनशक्तिको बारेमा सोचिएन ।

स्पष्ट रुपमा भनौँ,  चिकित्सक, नर्स लगायतका अरु स्वास्थ्यकर्मीको बारेमा यो पटक पनि उल्लेखनीय कुराहरु आएन । हामीले स्वास्थ्यकर्मी थप्दैनौँ भने, स्वास्थ्यकर्मीका बृत्तिविकासका गतिविधि गर्दैनौँ भने, उनीहरुलाई ढुक्क भएर काम गर्ने बाताबरण बनाउन सकेनौँ भने ती पूर्वाधार र उपकरण भएर मात्रै के काम ?

त्यसैले हिजोको बजेट मुख्य रोलमा उतार्नुपर्ने नायक नायिकाको खोजी नै नगरी उत्कृष्ठ चलचित्र बनाउन खोजे जस्तै लाग्यो । स्वास्थ्य क्षेत्रलाई चलचित्र मान्ने हो भने नायक नायिका स्वास्थ्यकर्मी स्वास्थ्य प्राविधिक नै हुन् । उनीहरुको रोल नै निर्धारण नगरी चलचित्र बनाउन खोजेर त्यो राम्रो होला र ? त्यसैले यो बजेट स्वास्थ्यकर्मीलाई केन्द्रविन्दु राखेर आउनु पर्दथ्यो भन्ने हाम्रो धारणा हो ।

कुमार थापा, बरिष्ठ उपाध्यक्ष एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)
अघिल्लो बर्षको बजेटमा कोभिड महामारीको कारण समस्यामा परेका व्यवसायलाई विशेष सहुलियत ५ प्रतिशतमा ऋण दिने घोषणा भयो । हामीले केही ऋण लिएका थियौँ तर पछि त्यो विशेष सहुलियत भएन नर्मल अवस्थामा रुपान्तरण भयो । म आफै त्यसको भुक्तभोगी हुँ ।

त्यसैले अहिलेको बजेटमा पनि म त्यति आशावादी छैन् । कागजमा मिठाकुरा आउने तर व्यवहारमा अर्कै कुरा । यो महामारीमा निजी क्षेत्रका लागि जे जति सहुलियत दिने भनिएको छ, विगतका अनुभवले विस्वस्त हुन सकिरहेको छैन् ।

मलाई यो बजेटले त्यस्तो उत्साहित बनाउन सकेको छैन् । कार्यान्वयन चरणमा उत्साहित बनायो भने त्यसबेला नै भनम्ला ।

 

रामजी घिमिरे, अध्यक्ष नेपाल स्वास्थ्यकर्मी संघ

यो पटकको बजेटमा मैले त्यति ठूलो आकर्षण देखिन । नयाँ खासै छैन् पुरानै कुराहरु दोहोरिएको छ । र ल्याइएका कार्यक्रमहरु कार्यान्वयन हुने भन्नेमा शंका छ । स्वास्थयकर्मीहरलाई जसरी सम्वोधन गर्नुपर्ने थियो, बजेटमा त्यस्तो पाइएको छैन् ।

अस्पतालमा काम गर्नेलाई जोखिम भत्ताको कुरा अलि अलि उठेको भएपनि अस्पताल बाहिर खटिएका ठूलो संख्याका स्वास्थ्यकर्मीका लागि मौन जस्तो देखिएको छ । उपचारात्मक सेवा तर्फ अलि अलि बोले पनि स्वास्थ्यको महत्वपूर्ण पक्ष जनस्वास्थ्यलाई सम्वोधन गर्न विर्सिएको जस्तो देखिन्छ ।

सर्ने नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने कुरा अर्थमन्त्रीले बुझेको देखिएन । जनस्वास्थ्यको तर्फबाट हेर्ने हो भने यो बजेटलाई पास मार्क दिन सकिदैन् तर स्वास्थ्यको समग्रतालाई हेर्ने हो भने अंक थपेर टुपुक्क पास मार्क दिन सकिन्छ ।

क्षेत्रराज कार्की, अध्यक्ष अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ

म अहिले कोरोना पोजेटिभ भई आइसोलेसनमा बसेको छु । बजेटको विषयमा मिहिन ढंगले अध्ययन् गर्न भ्याईसकेको छैन् । तर स्वास्थ्यले पाएको बजेटको आकार दरवन्दी तथा संरचना थप्ने कुरालाई सकारात्मक रुपमा हेर्न सकिन्छ ।

अर्को कुरा बजेट जति राम्रो भनिएपनि त्यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुन्छ । विगतका अनुभवले अहिले ल्याइएको यो बजेट कार्यक्रमको कार्यान्वयनमा सन्देह नै पैदा गर्छ ।

तसर्थ म यो बजेटलाई राम्रो हो भन्न पनि सक्दिन नराम्रो नै हो भन्न पनि सक्दिन । घोषित कार्यक्रमको राम्ररी कार्यान्वयन गर्न सके ठिकै हो ।

हिमालय तिवारी, सचिव राष्ट्रिय स्वास्थ्यकर्मी संघ 

बजेट उत्कृष्ठ छ । यस्तो महामारीको बीचमा आएको बजेटले सबैलाई समेटेको छ । स्वास्थ्यको कुरा गर्दा कुल बजेटको ७.४५ प्रतिशत अर्थात अहिलेसम्ममै ठूलो भोल्युममा यो बजेट आएको छ ।

स्वास्थ्यकर्मीको जोखिम भत्ता, १० दिन तलवी सुविधा सहितको भ्रमण विदा, निशुल्क विमाको व्यवस्था हाम्रा लागि थप सकारात्मक पक्ष हुन् । महामारीकै बीचमा आएको बजेटले कर्मचारीलाई विर्सेको छैन है भन्दै थोरै भए पनि तलव बढाएको छ ।

निशुल्क कोभिड खोप, कोभिड उपचार बाहेक निरोगी नेपालको अभियान मार्फत नसर्ने रोग नियन्त्रणमा समेत जोड दिएको छ । यस्तै स्वास्थ्य प्रविधि र पूर्वाधारको क्षेत्रमा पनि यो बजेटले धेरै नै ठूलो योजना अघि सारेको छ । अब यसको कार्यान्वयनको पाटो हेर्नुछ । अझ भनौ सबै मिलेर यसलाई पूर्ण कार्यान्वयनको बाटोमा लैजानु छ ।

कल्पना श्रेष्ठ, अध्यक्ष गभरमेन्ट नर्सेस एसोसियएन अफ नेपाल

स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । स्वास्थ्यमा यसअघि ४ साढे ४ प्रतिशतको हाराहारीमा बजेट भार पर्दथ्यो । यो पटक झण्डै साढे सात प्रतिशत पुगेको छ । यो राम्रो कुरा हो ।

स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका लागि, सरुवा रोग नसर्ने रोग आदि सबैलाई समेटेको छ । विद्यालयमा कम्तीमा एक स्वास्थ्यकर्मी राख्ने भनिएको छ । यो पनि राम्रै हो । अझ राम्रो त नर्स भनेर तोकेकै भए हुने थियो । अहिले कोभिड महामारीमा ज्यानको बाजी थापेर बिरामीको सेवामा सबैभन्दा बढी खटिने नर्सहरु नै हुन् ।

यसैले यो बजेटमा नर्सको हौसलाका लागि अझ स्पेशल प्याकेज ल्याएको भए हुन्थ्यो जस्तो लागेको छ । राम्रो बजेट भएपनि कार्यान्वयन भएन भने समस्या हुन्छ । अब हामीसबैले कार्यान्वयनमा जोड दिनुपर्छ ।

 

विप्लव अधिकारी, महासचिव नेपाल औषधि उत्पादक संघ

यो बर्षको बजेट हाम्रा लागि राम्रो छ । अघिल्ला बर्षमा छुटेका हाम्रा मागहरु पुरा भएका छन् । खास गरी नेपाली औषधि उद्योगहरुका लािग लागत मूल्य घटाउनका लागि हामीले र मेटिरियल प्याकिङ मेटिरियलहरुमा जसरी कर जोडिदै आएको थियो । यो हटेको छ ।

हामीले लामो समय देखि माग गर्दै आएको यी कुराहरु हटेकाले बजेटलाई हामीले स्वागत गरेका छौँ । स्वास्थ्य क्षेत्रमा पनि यसपटक बजेटले प्राथमिकता पाएको छ । यो पनि हाम्रा लागि सकारात्मक हो । समग्रमा बजेट राम्रो छ ।

 

पवन आचार्य, महासचिव नेपाल औषधि आयातकर्ता संघ

हिजोको बजेट भाषण सुन्दा कर्णप्रिय छ । नेपालको मुख्य समस्या कार्यान्वयनमा नहुनु भन्ने हो । गतवर्ष एफडीए बनाउने भन्ने आएको थियो । यो बर्ष त्यसबारेमा केही उल्लेख भएन । त्यो कहाँ पुग्यो के भईरहेको छ थाहा छैन् ।

यसपटक पनि केही नयाँ कुराहरु आएका छन् । यसको कार्यान्वयन कसरी हुन्छ हेर्न बाँकी छ । बजेटमा आयातकर्तासंग जोडिने विषयको पनि उल्लेख भएको छ ।

कोभिड- १९ को उपचारमा लाग्ने औषधिहरुको आयातमा भन्सार छुट दिने भनिएको छ । यो भयो भने साच्चिकै जनताका लागि राहत हुन्थ्यो ।

सुन्दा जसरी राम्रो लागेको छ व्यवहारिक कार्यान्वयनमा पनि उत्तिकै राम्रो होस् भन्ने हाम्रो चाहना हो ।

प्रज्वलजंग पाण्डे, अध्यक्ष नेपाल फार्मेसी परिषद्

स्वास्थ्यमा आएको बजेटको आकार हेर्दा अहिलेसम्मकै उच्च हो । कोरोना महामारीमा केन्द्रीत भएपनि नसर्ने रोगको परीक्षण तथा उपचार पनि ध्यान दिएको देखिन्छ ।

क्यान्सर जाँच, प्रेसर जाँच जस्ता कार्यक्रम मात्रै होइन योग तथा आयुर्वेदिक उपचार पद्धतीलाई पनि जोडिएको छ । ठूलो रकम स्वास्थ्य पूर्वाधार र प्रविधिमा लगाइने भनिएको छ ।

विश्व महामारीमा परेको बेला कोभिड खोप, कोभिडको उपचारमा विशेष ध्यान दिएको छ । औषधि क्षेत्रको कुरा गर्दा ७० प्रकारका औषधि खरीदका लागि बजेट देखि औषधिका लागि कच्चा पदार्थको आयातमा लाग्ने भन्सार छुटसम्मका कुराहरु सकारात्मक रुपमा लिनु पर्छ । समग्रमा बजेट राम्रो आएको हो । यसलाई कार्यान्वयनमा लैजानु पर्दछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *