करीब २५ प्रतिशतले बढ्यो सुर्तिजन्य पदार्थमा कर

काठमाडौँ, १६ जेठ । सरकारले सुर्तिजन्य पदार्थमा अघिल्लो बर्षको तुलनामा करीव २५ प्रतिशतले कर बृद्धि गरेको छ । सुर्तिजन्य पर्दार्थमा यसबर्ष भएको कर बृद्धि दर पछिल्लो पाँच बर्ष यताकै बढी हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७८ /०७९ को बजेटमा सुर्तिजन्य पदार्थमा लाग्दै आएको करमा सामान्य बृद्धि गरिएको उल्लेख थियो ।

शनिबार जारी आर्थिक अध्यादेशमा सुर्तिजन्य पदार्थहरु बिडीमा करीव साढे ४ प्रतिशत र हुक्का फ्लेवरमा २० प्रतिशत बाहेक अरुमा २५ प्रतिशतको हाराहारीमा बढेको छ ।

साढे तीन प्रतिशतको मुद्रास्फितिलाई समेत समावेश गर्दा बृद्धिप्रतिशत झण्डै २१ देखि २२ प्रतिशतमा अडेको सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण क्रियाशिल संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द बताउँछन् । उनले यसबर्षको बढेको प्रतिशतको आधारमा यसअघि सुर्तिजन्य पदार्थमा रहेको झण्डै ३० प्रतिशतबाट बढेर ३७ प्रतिशत नजिक पुगेको बताए ।

उनले आफूहरुले सरकारलाई यसबर्ष कम्तिमा ५० प्रतिशत बृद्धि गरी आगामी ३ बर्ष भित्रमा डव्लुएचओको मापदण्ड पुग्न सकिने सुझाव दिएको सुनाए । ‘हामीले भने भन्दा करीव आधाले बढ्यो आगामी बर्ष अलि धेरै प्रतिशतमा बढाउनै पर्छ,’ उनले भने ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)का कार्यकारी निर्देशक शान्तलाल मुल्मीले अपेक्षाकृत सुर्तिजन्य पदार्थमा कर नबढेको बताए । ‘हामीले डव्लुएचओको मापदण्ड अनुसार कम्तीमा ७० प्रतिशत पुग्नै पर्छ भनेका हौं ।त्यो अनुसार हुन सकेन ।केही प्रतिशत मात्रै बढ्यो । यसलाई सामान्य रुपमा लिएको छु,’ उनले भने ।

स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका टोवाको फोकल पसर्न समेत रहेका स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले शनिबार सार्वजनिक बजेटमा सुर्तिजन्य पदार्थमा लगाइएको करको दर सकारात्मक रहेको बताए । ‘गतवर्ष भन्दा बढेको छ, भ्याट, अन्तशुल्क समेत गर्दा खुद्रा मुल्यमा करीव ३८ प्रतिशतले बढेको छ । यस्तै स्वास्थ्य जोखिम करमा पनि गतवर्षको तुलनामा दोब्बर बढेको छ । त्यसैले यसलाई सकारात्मक रुपमा लिएको छु,’ उनले भने ।

नेपाल विकास अनुसन्धान परिषदका कार्यकारी निर्देशक जयकुमार गुरुङले सुर्तिजन्य पदार्थमा जसरी कर बढाउनुपर्ने थियो त्यो दरमा नबढाएपनि केही सकारात्मक भने देखिएको प्रतिक्रिया दिए । उनले करको दर बढाउन थप दवाव दिनुपर्ने आवश्यक रहेको बताए ।

यसरी बढेको छ करको दर ?
अघिल्लो बर्ष ७० एमएमसम्मको फिल्टर चुरोटमा प्रति एम १ हजार १३५ रुपैयाँ कर तोकिएको थियो । यो बर्ष सो बढेर १ हजार ४१८ रुपैयाँ ( २४.९३ प्रतिशत) पुगेको छ । यस्तै ७० एमएमको फिल्टर नभएको चुरोटमा अघिल्लो बर्ष प्रति एम ४९५ रुपैयाँ तोकिएकोमा यो बर्ष ६१८ रुपैयाँ ( २४.८५ प्रतिशत) पुर्‍याइएको छ ।

सबै प्रकारका सिगारमा गतवर्ष प्रति खिल्ली १७ रुपैयाँ कर तोकिएको थियो । यसबर्ष सो बढेर २१ रुपैयाँ ( २३.५२ प्रतिशत पुगेको छ ।
तर बिडीमा भने यसबर्ष अपेक्षाकृत कर बढेन । बिडीमा गतवर्ष प्रति एम ९० रुपैयाँ तोकिएकोमा यसबर्ष बढाएर ९४ रुपैयाँ ( ४.४४ प्रतिशत) मात्रै पुर्‍याइएको छ ।

सबैप्रकारका जर्दा खैनीहरुमा प्रतिकेजी ६५० रुपैयाँबाट ८१२ रुपैयाँ (२४.९२ प्रतिशत) बढेको छ ।

अन्य सुर्तिजन्य पदार्थमा के मा कति बढ्यो कर ?

नेपालमा सुर्तिजन्य पदार्थको प्रयोगका कारण बर्षेनी २७ हजार बढी व्यक्तिको ज्यान जाने गरेको छ । यसको प्रयोगका कारण लाग्ने रोगको उपचार गर्न अर्वौं रकम खर्च हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले जनधनको क्षति कम गर्न सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताउँदै आएको छ । उसले त्यसका लागि नेपालजस्तो मुलुकले सुर्तिजन्य पदार्थमा लाग्दै आएको करको दरमा कम्तीमा ७० प्रतिशत पुर्‍याउनु पर्ने बताउँदै आएको छ ।

स्मरण रहोस नेपाल सुर्तिजन्य पदार्थमा कम कर लगाउने सार्क राष्ट्रहरुको सूचीको पहिलो नम्बरमै पर्दछ । कम कर भएकै कारण सुर्तिजन्य पदार्थको मूल्य सस्तो हुने र आम सर्वसाधारणको पहुँचमा पुग्ने भएकोले यसको प्रयोगमा नियन्त्रण गर्न नसकिएको विज्ञहरुले बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *