कोभिड-१९ को महामारीका बेला विज्ञ तथा सरोकारवालाको हेर्नैपर्ने सन्देश

काठमाडौँ, १३ बैशाख । कोभिड – १९ को महामारीले विकराल रुप लिँदैछ । दिनानुदिन संक्रमण बढ्दा देशका विभिन्न क्षेत्रबाट अस्पातालको बेड, अत्यावश्यक औषधि र अक्सिजन समेत अभाव हुन थालेको खवरहरु आउन थालेका छन् ।

महामारीको यो बेलामा एक अर्कालाई दोष दिएर हिड्नु भन्दा आफै जोगिनु बढी बुद्धिमानी हुन्छ । किनभने यो संक्रमणमा आफू सतर्क भयो, स्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने जोगिन सकिन्छ ।

सोमबार विहानै स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाले कोरोना महामारीलाई लक्षित गर्दै केही सन्देशहरु सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । उनीहरुको सन्देश आम नागरिकले हेर्न र बुझ्नै पर्ने खालको देखिएकोले यहाँ राखिएको हो ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले फेसबुकमा लेखेका छन्, ‘आफू वा आफ्नो परिवारका सदस्यलाई कोरोना लाग्दा मात्र होस आउने हाम्रो बानी आत्मघाती छ । अस्पतालहरु भरिईसके । उपचार पाउन गाह्रो हुँदैछ । आफै जिम्मेवार बनौ ।’


बीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा निरज सिंह लेख्छन्, ‘अहिलेको सन्दर्भमा यदि ज्वरो रुघा खोकी छ भने त्यसको कारण कोभिड १९ हुने सम्भावना धेरै हुन्छ । कृपया टाइफाइड चेक गरेर, अनावश्यक पैसा र समय बर्वाद नगर्नुस् । यो टाइफाइडको लक्षण होइन र टाइफाइडको टेष्ट धेरै प्रकारको ज्वरोमा फल्स पोजेटिभ (टाइफाइड न भएपनि पोजेटिभ आउने ) हुन्छ । आज भोलि, टाइफाइड सोचेर अनावश्यक औषधि प्रयोग गरेर, अनि अलि धेरै सिकिस्त अवस्था भएपछि बल्ल कोभिड १९ को टेष्ट गर्ने बिरामीको संख्या धेरै बढेको छ । यसले गर्दा कोभिडको उपचारमा धेरै ढिलाई हुने र ठीक हुने सम्भावना पनि कम हुँदै जाने गर्छ । बिरामीहरु आफ्नै तर्क वितर्क गर्छन जस्तै घाममा घुमेर, फ्रिजको पानी खाए पछि भएको हो कि ? कृपया समयको महत्व बुझ्नुस अनावश्यक समय खेर नफाल्नुस ।’


यता ललितपुरस्थित स्टार अस्पतालका सञ्चालक गोविन्द अकेलाले पनि कोभिडबाट जोगिनका लागि केही सन्देश पोष्ट गरेका छन् । उनले भनेका छन्, ‘पछिल्लो समय काठमाडौँ कोभिड १९ को दोस्रो लहरमा पनि हटस्पट बन्दै गएको छ । सचेत रहौं, मनन गरौँ । अस्पतालमा बेड, आइसीयू र भेन्टिलेटर खाली छैनन् । अफ्टेरो परयो भने मात्र घरबाहिर निस्कौँ । परेको छैन भने घर भित्रै बसौँ । आफू र परिवारलाई सुरक्षित राखौँ ।’


यस्तै नेपाल औषधि आयातकर्ता संघ (मियान) का महासचिव समेत रहेका औषधि व्यावसायी पवन आचार्य लेख्छन्, ‘सरकारले तोकेको मापदण्ड पुरा गरेर कोभिड संक्रमितलाई लाभदायक मानिएको रेम्डेसिभिर इन्जेक्सन सहज रुपमा प्राप्त गर्न सकिन्छ । अभाव छ भनेर तोकेको एमआरपी भन्दा बढी मूल्य लिन खोज्ने अपराधीलाई प्रहरीकोमा बुझाउँ ।’


यता विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख राजेश सम्भाजी राव पाण्डभले महामारीमा जोगिने उपाय लेखेका छन् । उनले भनेका छन, ‘मास्क एउटा महत्वपूर्ण साधन हो । आफू तथा आफ्ना प्रियजनहरु तथा समुदायलाई कोभिडबाट सुरक्षित राख्न, कोभिड १९ को समयमा सुरक्षित तथा स्वस्थ रहनका लागि हात सफा राख्नुहोस, मास्क लगाउनुहोस , दुरी कायम राख्नुहोस, अनुहारमा नछुनुहोस, बिसन्चो भएमा घरमा बस्नुहोस, खोक्दा हाच्छीउ गर्दा कुहिनो वा टिस्यु कागज प्रयोग गर्नुहोस, कुनै लक्षण देखिएमा जाँच गराउनुहोस् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *