वीरको नयाँ सर्जिकल भवनमा कोरोनाका बिरामीको उपचार हुने

काठमाडौँ, ८ बैशाख । भर्खरै निर्माण सम्पन्न भएको वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना उपचार युनिट सञ्चालनमा ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस भवनमा तीन दिन भित्र २०० बेडको कोरोना उपचार युनिट सञ्चालनमा ल्याउने गरी सैद्धान्तिक सहमति दिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले संक्रमणले तिब्रता लिएको अवस्थामा भएका अस्पतालहरुको स्तरोन्नती गर्ने र बेडहरु थप गर्ने कार्यलाई पनि अघि बढाइएको बताए । उनले आगामी तीन दिन भित्र वीर अस्पतालको नयाँ सर्जिकल व्लकमा २०० बेडको कोरोना उपचार युनिट सञ्चालनमा ल्याउने बताए । उनले त्यसमा सामान्य अवस्थामा विरामी राख्ने र मध्यम तथा गम्भीर बिरामीलाई भने अस्पतालको अहिलेको मुख्य भवनमा बनाइएको डेढ सय बेडको युनिटमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको बताए ।

डा पोखरेलले बलम्बुस्थित एपीएफ, कीर्तिपुर अस्पताल, भक्तपुरको खरीपाटी, दहचोकको मनमोहन अस्पताल भवनहरुमा थप दुई दुई सय बेडका दरले आइसीयू तथा एचडीयु समेत भएको आइसोलेसन सेन्टर थप्न लागिएको बताए ।

अक्सिजनको व्यवस्था के छ ?
समितिका सदस्यहरुले अस्पतालहरुमा अक्सिजनको अवस्था कस्तो छ भनेर समेत सोधेका थिए । जवाफमा डा पोखरेलले आजै अपरान्ह अक्सिजन सप्लायर्सहरुसंग बैठक राखिएको र तीन दिन भित्र ल्याउनका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताएको जानकारी दिए । उनले बुलेटमा ल्याएर सिलिन्डरमा भर्ने र लिक्वीड अक्सिजन अहिले ल्याउने भन्दा दोब्बर बढी ल्याएर स्टक राख्न निर्देशन दिइएको उनले सुनाए । भारतका अस्पतालहरुमा अहिले अक्सिजनको निकै नै अभाव खडकिएको छ ।

रेम्डेसिभिर कति छ ?
प्रमुख विशेषज्ञ डा पोखरेलले बजारमा अहिले १३ हजार डोज रेम्डेसिभिर मौज्दात रहेको र त्यसले करीब २ हजार गम्भीर बिरामीका लागि पुग्ने जानकारी दिए । उनले भारतले अहिले रेम्डेसिभिरलाई रोक लगाएको अवस्थामा नेपालमा निर्यात गर्ने बंगलादेशको बेक्सिन्कोबाट ल्याउनका लागि बाटो खोलिदिएको र तीन दिन भित्र ल्याउन समेत भनिएको बताए । तीन दिन भित्र व्यापारीहरुले ल्याउन नसके जी टू जी मार्फत सरकार आफैले ल्याउने पहल गर्न लागेको बताए । डा पोखरेलले आफूहरु ३६ हजार डोज स्टकमा राख्ने योजना रहेको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *