फेरी पनि कोरोनाकै डर

काठमाडौँ, १ बैशाख । एक बर्ष अघि आजकै दिन (१ बैशाख २०७७) को कुरा गर्ने हो भने देशभर लकडाउन शुरु भएको तीन साता पुगेको थियो । देशभरमा १३ जना कोरोना संक्रमित भेटिएका थिए । कसैको पनि मृत्यु भएको थिएन ।

आज ठिक एक बर्ष पछि ( १ बैशाख २०७८)  को दिन, कोरोनाको कुल संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । ती मध्ये धेरै निको त भएका छन् तर अहिले पनि ३ हजार ६०८ जना उपचारमै छन् । ३ हजार ५८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट फर्किएका एक नेपाली युवकको परीक्षण गर्दा ९ माघ २०७६ का दिन कोभिड पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछिको अढाई महिना ‘केश सिंगल डिजिज’ मै रोकिएको थियो तर जव भारतमा संक्रमण देखिन थाल्यो जेठ असार देखि नै नेपालमा कोरोनाले भयावह रुप लिन थालिहाल्यो । भदौ असोजमा पुग्दा त्यो सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । दैनिक संक्रमित ६ हजारकै हाराहारिमा पुग्न थालेको थियो । तर कात्तिक मंसिर देखि पुन: विस्तारै संक्रमणको गति ओरालो लाग्न थाल्यो । फागुनसम्म प्रतिदिनको संक्रमण १०० भन्दा कममा झरिसकेको थियो ।

तर पछिल्लो साता यता संक्रमणले पुन: आफ्नो संक्रियता देखाउन थालेको छ । चार पाँच सयको हाराहारीमा संक्रमण देखिन थालेको छ र यो दर बढदो क्रममा छ । लामो समय देखिको संक्रमण नियन्त्रणमा आयो भन्ने बेलामा हाम्रै असावधानीले पुन संक्रमण उकालो लाग्दैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नयाँ बर्षको अघिल्लो दिन स्वास्थ्य पत्रकारहरुसंग गरेको छलफल कार्यक्रममा आगामी जेठ असारसम्ममा संक्रमण दैनिक ११ हजारसम्म पुग्न सक्ने आँकलन गरेका छन् । उनले यहि अवस्था रहेमा संक्रमणको संख्या ६ लाखसम्म पुग्न सक्ने विज्ञहरुलाई उदृत गर्दै प्रक्षेपण सुनाएका छन् । यसले कोरोना संक्रमण कति भयावह बन्दै गईरहेको छ भन्ने स्पष्ट हुन्छ ।

अघिल्लो बर्ष कोरोना फैलन नपाउँदै देशमा लकडाउनमा गएको थियो । मानिसहरुमा कोरोनाको डर थियो । अनुशासन थियो । तर यसपटक परिस्थिति अलि बदलिएको छ । सक्रिय संक्रमित तीन हजार बढी हुँदा र दैनिक ५ सय बढीले संक्रमण हुन थाल्दा पनि हामी दैनिक क्रियाकलाप ढुक्कले गरिरहेका छौँ । जो हाम्रो आगामी दिनका लागि थप चुनौतीपूर्ण हुनसक्छ ।

सरकारले तोकेको स्वास्थ्यको मापदण्ड एसएमएस (मास्क लगाउने, नियमित हात धुने र भौतिक दुरी कायम गर्ने) को कुनै पर्वाह देखिदैन । यसले कोरोना संक्रमणलाई तिब्र गतिमा फैलिनमा झनै सजिलो भएको जस्तो देखिन्छ ।

गतवर्ष संक्रमितहरु अधिकांश ५० बर्षमाथिका थिए । तर अहिले अधिकाशं संक्रमितहरु किशोर तथा युवा अवस्थाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा भर्ना भएका र गम्भीर अवस्थामा भएका बिरामी पनि ४० बर्ष कम उमेरकै बढी भएको चिकित्सकहरुले बताएका छन् । यसले आगामी दिन थप चुनौतीपूर्ण छ भनेर थप स्पष्ट भएको छ ।

तसर्थ यसपटक हामीले कोरोनासंग लड्नका लागि स्वास्थ्यका मापदण्डलाई अनिवार्य रुपमा पालना गरौँ । भिडभाड हुने स्थलमा नजाऔँ । मास्कको अनिवार्य प्रयोग गरौं । भौतिक दुरी कायम गरौँ । नियमित रुपमा सावुन पानी वा स्यानिटाइजरले हात धोऔँ । बालबालिका, बृद्धबृद्धा, दीर्घरोगीहरुलाई विशेष ख्याल गरौँ । भारत लगायतका जोखिमयुक्त देश स्थानबाट आउनेहरुले कम्तीमा १० दिन क्वारेन्टिनमा बसौँ । त्यसका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच समन्वय गरियोस । अनि व्यक्ति परिवार र टोल समाज पनि जिम्मेवार बनौँ । विशेषगरी व्यक्ति र परिवार जिम्मेवार नभईकन यो समस्या समाधान हुन गाह्रो हुन्छ । यसमा सबैले ध्यान दिऔँ ।

यस्तै सरकारले कोभिड – १९ बिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । थप खोप चाँडै ल्याएर यसलाई अझ बृहत बनाइयोस । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण र उपचारको दायरा थप बढाउँदै लगियोस् ।

जोखिमयुक्त शहरी क्षेत्रमा विद्यालय तथा कलेजका पठनपाठन अनलाइनमाध्यममा सञ्चालन गरियोस् । ज्यान रहेमा न विद्या आवश्यक हो । ज्यानको जोखिम हुँदा हुँदै विद्यालय तथा कलेज खोल्नु हुँदैन । सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो भन्ने नर्विसौं । नयाँ बर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *