पाठेघरको क्यान्सरविरुद्ध ६ हजार किशोरीहरुलाई खोप दिईंदै

चितवन, ८ पुस । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीलाई खोप लगाउने भएको छ । अस्पतालले पाइलटिङको रुपमा यसबर्ष जिल्लाका ६ हजार किशोरीलाई ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोप लगाउने भएको हो ।

पाठेघरको मुखको क्यान्सर गराउने भाइरस ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको एचपीभी खोप किशोरीहरुलाई दुई डोज दिनु पर्दछ ।

गत नीति तथा कार्यक्रममा समावेश भएको राष्ट्रपति महिला स्वास्थ्य कार्यक्रम अन्तरगर्तको चितवनमा यो खोप शुरु गर्न लागिएको हो ।

आगामी चैत सम्ममा १२ देखि १४ बर्ष उमेरका ६ हजार किशोरीलाई यो खोप दिने योजना छ । त्यसका लागि आवश्यक खोप ल्याउने सम्झौँता समेत भइसकेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार ६ हजार किशोरीका लागि दुई डोज खोप दिनु पर्ने भएकोले १२ हजार भाइल खोप ल्याउने गरी सम्झौँता भइसकेको छ । ‘खोप खरीदका लागि छुट्याएको ५ करोड रुपैयाँबाट सम्झौँता भइसकेको छ । हाम्रो योजना अनुसार समयमै खोप आउने र लगाउन सकिने हाम्रो विश्वास छ,’ डा गौतमले भने ।

चितवनमा पालिकासँग सहकार्य गरेर खोप लगाइने डा गौतमको भनाइ छ । विदेशी दाताको सहयोगमा विभिन्न जिल्लाका किशोरीलाई खोप लगाइएको भए पनि सरकारले आफ्नै खर्चमा पहिलो पटक खोप लगाउन लागेको उनले बताए ।

यहाँको क्यान्सर अस्पतालको गत वर्षको तथ्याङ्कअनुसार कूल क्यान्सर भएका बिरामीमध्ये ११ दशमलब ५७ प्रतिशत महिला पाठेघरका रहेका छन् । महिला मात्रैको क्यान्सरको तथ्याङ्क हेर्दा यो २१ प्रतिशत हुन आउने गौतमको भनाइ छ । किशोरीलाई खोप दिन सकेमा क्यान्सरबाट रोक्न सकिने डा गौतमले बताए ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ ।

एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ । यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ ।

एचपीभी -१६ र एचपीभी -१८ ले मात्रै ७० प्रतिशत भन्दा बढी क्यान्सर गदाउँछन् ।

त्यसैले बालिकाहरुको संक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै ९ देखी १५ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो ।

त्यसो त नेपाल सरकारको खोप सम्वन्धी बहुबर्षीय योजनामा समेत एचपीभी लगायतको खोपहरु नियमित खोप सेवामा थप गर्दै जाने भनि उल्लेख गरिसकेको छ ।

सरकारले २०७२ र०७३ मा कास्की र चितवन जिल्लाका कक्षा ६ मा पढ्ने र विद्यालय नगएका १० बर्ष उमेरका बालबालिकाहरुलाई २ मात्रा एचपीभी खोप दिएर अध्ययन समेत गरेको छ । त्यस अभियानमा बालिकाहरु शिक्षक र अभिभावकहरु सबैको ठूलो सहयोग प्राप्त भएको थियो । जसले गर्दा त्यस खोपको कभरेजदर त्यसबेला ९६ प्रतिशत भन्दा बढी देखिएको थियो ।

विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरीसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्याउँछ ।

यो खोप छ महिनाको अन्तरालमा दुई पटक दिइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *