आज एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरिँदै

१५ शैय्याको अस्पताल भवनको डिजाइन

काठमाडौँ, १५ मंसिर । देशभर एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरिँदै छ । ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन सरकारले स्वास्थ्य संस्था नभएका ६४९ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ५, १० र १५ शैय्याका ३९६ वटा आधारभूत अस्पतालको शिलाल्यास गर्न लागेको हो ।

यद्धपी, केही पालिकाहरुमा जग्गाको टुंगो लागि नसकेकोले सिलान्यासको कार्यक्रम केही दिन पर सारिएको छ ।

शिलान्यास कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, अर्थ मन्त्री विष्णु पौडेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुदयेश त्रिपाठी सहित नेता, सांसद, स्थानीय तहका अगुवाहरु सहभागी हुँदैछन् ।

आधारभूत अस्पताल सिलान्यास कार्यक्रमका संयोजक एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा माधवप्रसाद लम्सालले अहिलेसम्म ३०२ वटा पालिकाले शिलान्यास गर्ने विवरण पठाइसकेको जानकारी दिए । केही स्थानमा हिजो अस्ती नै शिलान्यास भईसकेको र केही स्थानमा केही दिन पछि सिलान्यास गर्ने कार्यक्रम रहेको बताए ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार स्थानीय तहमा स्वास्थ्य सेवा उपलव्ध गराउने सरकारको नीति अनुरुप सबै स्थानीय तहमा कम्तीमा आधारभूत अस्पताल स्थापनाको कार्य अघि बढाइएको हो । कुल ७५३ वटा पालिकामध्ये एउटा पनि अस्पताल नभएकाका कुल ६४९ वटा पालिका रहेका छन् ।

सरकारले त्यसमध्ये पहिलो चरणमा यसबर्ष ३९६ वटा पालिकाका आवश्यकताका आधारमा ५, १० र १५ शैय्याका अस्पतालहरु निर्माण गर्न लागेको हो । आज शिलान्यास हुने अस्पतालहरु दुई बर्ष भित्र निर्माण सम्पन्न भई सञ्चालनमा आउने बताइएको छ । त्यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट सुनिश्चित गरिसकेको छ ।

कुन प्रदेशमा कति अस्पताल बन्दैछन् ?
दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने भनिएका ३९६ वटा आधारभूत अस्पतालहरुमध्ये प्रदेश नं १ मा ८६ वटा बन्दैछ ।

प्रदेश नं २ मा ५३ वटा, बाग्मती प्रदेशमा ५१ वटा अस्पताल बन्ने भएको हो ।

यस्तै गण्डकी प्रदेशमा ५३ वटा, लुम्बिनी प्रदेशमा ५७ वटा, कर्णाली प्रदेशमा ४२ वटा र सुदूरपश्चिम प्रदेशमा ५४ वटा अस्पताल निर्माण हुन लागेको हो ।

डा लम्सालका अनुसार यो पटक ५ शैय्याका ५२ वटा आधारभूत अस्पताल निर्माण हुँदैछन् । त्यसबाट २६० शैय्या थप हुँदैछ ।

यस्तै १० शैय्याका १०९ वटा अस्पताल बन्दैछन् । त्यसबाट १ हजार ९० शैय्या थप हुँदैछन् ।

यस्तै १५ शैय्याका २३५ वटा अस्पताल बन्दैछन् । त्यसबाट ३ हजार ५२५ वटा अस्पताल बन्दैछन् । ३९६ वटा अस्पताल निर्माण पुरा हुँदा देशभर थप ४ हजार ८७५ शैय्या थपिदैछ ।

आधारभूत अस्पतालका लागि कति जनशक्ति ?
स्वास्थ्य मन्त्रालयले दुई बर्ष भित्र निर्माण हुने आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको लागि ओएनएम तयार गरिसकेको छ । त्यो स्वीकृति हुने चरणमा छ । त्यसमा कुल ३९६ वटा आधारभूत अस्पताल सञ्चालनका लागि कुल १ लाख १६ हजार ८२५ जना जनशक्ति आवश्यक हुने प्रस्ताव गरिएको छ । स्वास्थ्यको प्रस्तावमा ५ शैय्याका आधारभूत अस्पतालमा १ चिकित्सक, ४ नर्स सहित १२ स्वास्थ्यकर्मी रहने छन् । ५ शैय्याका अस्पतालहरुमा मात्रै ५२ चिकित्सक, २०८ जना नर्स सहित कुल ३ हजार १२० जना जनशक्ति आवश्यक हुने देखिएको छ ।

यस्तै १० शैय्याको अस्पतालमा २ जना चिकित्सक, ४ जना नर्स र एक जना मिडवाइफ सहित कुल १७ जनाको दरबन्दी प्रस्ताव गरिएको छ । कुल १०९ वटा यस्ता अस्पतालका लागि २१८ जना चिकित्सक, ४३६ जना नर्स, १०९ जना मिडवाइफ सहित कुल १८ हजार ५३० जना जनशक्ति चाहिने स्वास्थ्य मन्त्रालयको प्रस्तावमा उल्लेख छ ।

यसैगरी १५ शैयाको अस्पतालका लागि ३ जना चिकित्सक, एक जना नर्सिङ अधिकृत, ५ जना नर्स, २ जना मिडवाइफ सहित कुल २७ जनाको दरबन्दी प्रस्ताव गरिएको छ । २३५ वटा यस्ता अस्पतालका लागि ७०५ जना चिकित्सक, १ हजार ४१० जना नर्स र ४७० मिडवाइफ गरी कुल ९५ हजार १७५ जना जनशक्ति आवश्यक हुने प्रस्ताव गरिएको छ ।

संघीयताको कार्यान्वयनको एउटा उदाहरण
यसअघि स्वास्थ्य संस्था भवन निर्माणको जिम्मा शहरी विकास मन्त्रालय अन्तरगर्तको भवन विभागले लिने गर्दथ्यो । तर यसपटक भवन ढाँचा, जनशक्तिको खाका र बजेटको व्यवस्था संघीय मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको छ ।  निर्माण तथा त्यसको कार्यान्वयनको जिम्मा स्थानीय पालिकाहरुलाई नै दिइएको छ । यसलाई संघीयता कार्यान्वयनको गतिलो उदाहरण भएको मान्न सकिन्छ ।

आज शिलान्यास हुने अस्पताल दुई बर्ष पछि सञ्चालनमा आउँदा यसले स्वास्थ्य बीमा कार्यक्रमका लागि समेत ठूलो महत्व राख्ने विश्लेषकहरु बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *