शुक्रबार र शनिबार चिकित्सकको ‘विशेष दर्ता प्रमाणपत्र’ परीक्षा सञ्चालन गर्दै काउन्सिल

काठमाडौँ, ११ मंसिर । नेपाल मेडिकल काउन्सिलले आगामी शुक्रबार र शनिबार पोष्ट ग्राजुएट्स (पीजी) तह अध्ययन पुरा गरेका चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स)परीक्षा सञ्चालन गर्न लागेको छ । कोरोना महामारी शुरु भएयताको यो पहिलो विशेष परीक्षा हो । यसपटक परीक्षामा ८४४ जनाले सहभागिता जनाउँदै छन् ।

काउन्सिलले पहिलो पटक कम्प्युटरमा आधारित रहेर परीक्षा सञ्चालन गर्दैछ । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानसंग सम्झौँता गरी परीक्षा हलको व्यवस्था मिलाएको छ । काउन्सिलका रजिष्ट्रार एवं प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले विशेष परीक्षाका लागि पुल्चोक क्याम्पसको सूचना तथा सञ्चार प्रविधि केन्द्रलाई प्रयोगमा ल्याइएको बताए । यसअघि यो परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा हुने गर्दथ्यो ।

‘पीजी तहका कुल ४५ वटा विषयका परीक्षा हुँदैछन् । त्यसका लागि हामीले शुक्रबार दुईवटा र शनिबार तीनवटा गरी कुल पाँच सिफ्टमा नौ – नौँ वटा विषय भाग लगाई परीक्षा लिदैछौँ । कोरोना महामारीले गर्दा परीक्षार्थीबीच भौतिक दुरी कायम गर्नुपर्ने भएकोले धेरैवटा सिफ्टमा परीक्षा लिन लागेको हो,’ डा अधिकारीले भने ।

काउन्सिलले शुक्रबार १२ देखि २ मा पहिलो सिफ्ट र ४ देखि ६ बजे दोस्रो सिफ्टमा परीक्षा गर्दैछ । त्यस्तै शनिबार विहान ९ देखि ११ बजे पहिलो, १ देखि ३ बजे दोस्रो र अपरान्ह ५ देखि ७ बजे तेस्रो सिफ्टमा परीक्षा गर्दैछ ।

सबै सिफ्टको परीक्षा सकिए लगत्तै शनिबार नतिजा प्रकाशित हुने काउन्सिलले जनाएको छ । यसपटक परीक्षामा सबैभन्दा बढी इन्टरनल मेडिसिनका १२८ जना सहभागि हुँदैछन् । त्यस्तै अर्थोपेडिक्स, गाइने, रेडियोलोजी, प्याडियाटिक लगायतका परीक्षार्थी समेत बढी भएको डा अधिकारीले जनाए ।

विशेषज्ञ डाक्टर बन्नका लागि दिइने यो लाइसेन्स परीक्षा १०० पूर्णाङ्कको हुन्छ । त्यसमा कम्तीमा ५० नम्बर ल्याउने उत्तीर्ण हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *