बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

धरान, १८ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना सप्तरी राजबिराज ७ का पुरुषहरु हुन् । उनीहरुको बुधबार दिउसो ४७ मिनेटको अन्तरमा मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृत्यु हुनेमा एक जना ५५ बर्षका र अर्का ५० बर्षका पुरुष हुन् । राजविराज ७ सप्तरीका ५५ बर्षीय पुरुष गत ४ भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए । रक्तअल्पता र मधुमेह नियन्त्रण हुन नसकेको उनमा ७ भदौमा कोरोना पोजेटिभ देखिएको थियो । उनको आज १ १५ बजे मृत्यु भएको हो ।

यस्तै राजविराज ७ कै अर्का ५० बषीय पुरुषको आज दिउसो २ बजेर २ मिनेटमा ज्यान गएको छ । कोरोना पोजेटिभ आजै थाह भएका उनी आजै नै अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन आएका थिए । अस्पताल आइपुग्दा उनको ज्वरो, स्वासप्रस्वासमा कठिनाई, शरीर शिथिल हुने अवस्थामा रहेको डा सापकोटाले जानकारी दिए ।

अपरान्ह सवा ४ बजेको मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले २ जना पुरुष र ४ जना महिला गरी कुल ६ जनाको मृत्यु भएको बताएका थिए । तर धरानमा मृत्यु भएकाको विषयमा उनले विवरण दिएका थिएनन् । यससगै आज मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *