वीरलाई कोरोनाको उपचार गर्ने अस्पताल बनाइदै, वीरका बिरामीलाई ट्रमाबाट सेवा दिइने
काठमाडौँ, १८ भदौ । सरकारले वीर अस्पतालमा अब कोरोना संक्रमितको मात्रै उपचार गर्ने तयारी गरेको छ । त्यहाँबाट हुने सेवालाई संगै रहेको राष्ट्रिय ट्रमा सेन्टरबाट उपलव्ध गराउने गरी वीरलाई कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा परिवर्तन गर्ने तयारी गरेको हो ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बुधबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स उपकुलपति प्राडा डीएन साह, वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी सहितको टोलीसंग बुधबार छलफल गरेका छन् । सो क्रममा वीरलाई कोभिड १९ का संक्रमितहरुको उपचार गर्ने मुख्य अस्पतालको रुपमा आवश्यक तयारी गर्ने भन्ने सहमति भएको छ ।
अस्पतालका निर्देशक डा सेन्चुरीले काठमाडौँ उपत्यकामा कोभिड-१९को संक्रमण बढी रहेको र अहिले पनि वीरमा कोभिडको विरामीको उपचार भइरहेको सन्दर्भमा अव थप बेड छुट्याएर उपचार गर्ने तयारी भइरहेको बताए ।
उनले आकस्मिक कक्ष र डायलासिस युनिट बाहेकका सेवा ट्रमाबाट उपलव्ध गराउने गरी तयारी सुरु भएको बताए । ‘ट्रमामा हामीले स्पेश मात्रै लिने हौँ । यहीकै जनशक्ति गएर सेवा गर्ने भन्ने व्यवस्था मिलाउँदै छौँ,’ डा सेन्चुरीले भने ।
वीरमा कुल बेड ४६० छ । तर अहिले सो अस्पतालमा ३८० बेड जति मात्रै सञ्चालनमा आएको छ । निर्देशक डा सेन्चुरीले ती मध्ये करीब ३०० बेडहरु कोभिड १९ का लागि छुट्याउने तयारी भएको बताए ।
अहिले अस्पतालमा आएका बिरामी र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ६७ जना कोरोना पोजेटिभको उपचार भइरहेको छ । त्यसमध्ये अस्पतालका १८ जना स्टाफलाई होटल क्वारेन्टिनमा राखेर उपचार भएको समेत डा सेन्चुरीले बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

