शंकास्पद व्यक्तिको कोरोना परीक्षण गर्न काठमाडौँमा तोकियो १४ वटा बुथ

काठमाडौँ, २० साउन ।  कोरोनाका संकास्पद संक्रमितको खोजपडताल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका थप १४ वटा अस्पताललाई नमूना (स्वाब) संकलन गर्ने बुथ तोकेको छ । मन्त्रालयले जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरु, संकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुले नजिकको बुथमा गई आफ्नो स्वाब दिन भनेको छ ।

यी बुथमा गएर नमूना दिँदा पैसा तिर्नु पर्दैन । ‘निशुल्क परीक्षण हुन्छ तर यी बुथहरुमा सरकारले तोकेको परीक्षण मापदण्ड अनुसारका व्यक्तिहरुको मात्रै नमूना लिइन्छ,’ मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भने ।

त्यसरी तोकिएका बुथहरुमा पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल र त्रिवि शिक्षण अस्पताल रहेका छन् ।

यस्तै वीर अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, प्रसूति अस्पताल, सशस्त्र (युनिफाइड) अस्पताल बलम्बुलाई पनि स्वाब संकलन गर्ने बुथ तोकिएको छ ।

यसैगरी स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल धुम्बाराही, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र नेपाल कोरिया मैत्री अस्पताललाई पनि नमूना संकलन गर्ने बुथ तोकिएको छ ।

यी बुथहरुमा विहान ९ बजे देखि १ बजेसम्म पुगेर नमुना दिन सकिनेछ । मन्त्रालयले यसबाहेक सम्पूर्ण हव अस्पताल, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२ र ३ अस्पतालहरुमा पनि गएर नमूना दिन सक्ने स्पष्ट पारेको छ ।

पछिल्ला दिनमा काठमाडौँमा जोखिमयुक्त ठाँउबाट आउने क्रम बढी भएको र संकास्पद विरामीको सम्पर्कमा गएका व्यक्तिहरुका लागि नमूना दिने उपयुक्त स्थान नभएर अफ्ट्यारो भएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *