नेपालमा ‘हेपाटाइटिस-बी’ को अवस्था र अबको बाटो

- नेपाली हेल्थ
  • केशव रिजाल
– केशव रिजाल

पृष्ठभूमी:

विभिन्न प्रकारका जैविक कारक तत्वको कारणले शुरू भइ कुनै न कुनै माध्यमद्वारा मानिसबाट मानिसमा सर्ने प्रकृतिका रोगहरू नै सरूवा रोगहरू हुन्। सरूवा रोगहरू विगत देखि नै विश्वव्यापी रूपमा जनस्वास्थ्य समस्याको रूपमा रहेका छन्।

कुनै कुनै सरूवा रोगहरू मानिसबाट मानिसमा छिटो गतिमा सर्ने र छोटो सममयमा नै ठूलो समूदायमा फैलने सामर्थ्यका अत्यन्त संक्रामक प्रकृतिका हुन्छन्। सरूवा रोग गराउने कारक तत्वहरू व्याक्टेरिया, भाइरस, प्रोटोजोवा, परजिवी किराहरू, ढुसी लगायतका जैविक तत्वहरू तथा तिनका टक्सिनहरू मध्ये एक वा एक भन्दा बढि हुन सक्छन्।

ती विभिन्न कारक तत्वहरूमध्ये भाइरसका बिरूध्द प्रभावकारी ड्रग्सको बिकास भएको छैन। त्यसैले एड्स, हेपाटाइटिस, सार्स, इबोला, जिका तथा कोभिड – १९ जस्ता रोगहरूले महामारीको रूप लिँदा विश्वमा नै जटिलता सृजना भैरहेको पाइन्छ।

भाइरल हेपेटाइटिसको कारणले सन् २०१५ मा विश्वमा १३ लाख ४० हजार जनाको मृत्यु भएको पाइन्छ । यो संख्या क्षयरोगको कारण हुने मृत्युको करीव वरावरी र एचआईभीको कारणले हुने मृत्युभन्दा बढी हो।

यद्यपि, क्षयरोग र एचआईभीको कारण हुने मृत्यु घट्दो क्रममा रहेको र भाइरल हेपेटाइटिसका कारण हुने मृत्युको संख्या बृद्धि भइरहेको छ। सन् २०१५ मा भाइरल हेपाटाइटिसको कारणबाट मृत्यु हुनेहरू मध्ये धेरै कलेजोको दीर्घ रोग (सिरोसिसको कारण ७२०,०००) र कलेजोको क्यान्सर (हेपाटोसेलुलर कार्सिनोमाका कारण ४७०,००० )का कारण भएको थियो।

विश्वमा सन् २०१५ मा अनुमानित २५ करोड ७० लाख मानिसहरू हेपाटाइटिस बी र ७ करोड १० लाख हेपाटाइटिस सी को दीर्घ संक्रमणबाट ग्रसित रहेका छन्। यी रोगले विश्वका सबै क्षेत्रहरूलाई असर गर्दछ तर समस्याको मात्रा विभीन्न देशहरूमा र देश भित्रै पनि फरक फरक मात्रामा रहेको पाइन्छ।

यस लेखमा हेपेटाइटिस बी रोगको बोझ र सेवा पहुँचको असमानता पहिचान गरी रोग नियन्त्रणको लागि सेवाहरूको पुन: योजना गर्न नीतिगत सुझाव दिने प्रयास गरिएको छ। साथै यसमा हेपेटाइटिस बी संक्रमणको बर्तमान स्थिति र नियन्त्रण र उपचारका लागि उपलब्ध उपाय तथा सेवाहरूको बारेमा छलफल गरिएको छ, जसका लागि उपलब्ध विभीन्न प्रमाणिक सन्दर्भ सामग्रीहरूको प्रयोग गरिएको छ।

हालसम्मको उपलब्धि:
भाइरल हेपेटाइटिस विरूध्दको प्रतिकार्यमा हेपेटाइटिस बी विरूद्धको खोपको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण उपाय रहेको पाइन्छ। सन् २०१५ मा ८४ % शिशुहरू हेपाटाइटिस बी विरूद्धको तीन मात्रा खोपबाट लाभान्वित भएको पाइएको छ। यसले जीवनको पहिलो बर्षमा हेपाटाइटिस बीको संक्रमण तथा प्रसारणमा कमी गर्न सघाएको पाइन्छ, बच्चाहरूमा हेपेटाइटिस बी रोगको दरमा १.३ % ले कमी आएको छ। हेपाटाइटिस रोगको परीक्षणको सेवा सिमीत र पहुँच अत्यन्त न्यून रहेकोछ।

भाइरल हेपाटाइटिस बी बाट संक्रमित मध्ये थोरै व्यक्तिहरूको मात्र निदान गरिएको छ। सन् २०१९ मा अनुमानित २.२ करोड हेपाटाइटिस बी संक्रमित मध्ये ९% को मात्र निदान गरिएको पाइन्छ। सन् २०१५ मा हेपाटाइटिस बीको संक्रमितहरू मध्ये ८% (१७ लाख) व्यक्तिहरू निदान भइ उपचारमा रहेका थिए। यसरी हेर्दा यस रोगको समस्यामा साथै सेवाको उपलब्धता र कभरेजको ढाँचामा पनि विविधता रहेको छ।

नेपाल, बंगलादेश, भुटान र थाइल्यान्ड हेपाटाइटिस बी नियन्त्रणमा तत्कालीन रूपमा सफलता प्राप्त गर्ने डब्ल्यूएचओ दक्षिण-पूर्वी एसिया क्षेत्रमा पहिलो देश बनेका छन्। यी देशहरूमा विश्व स्वास्थ्य संगठनले विगत धेरै वर्षमा एक वर्ष भन्दा कम उमेरका शिशुहरूमा हेपाटाइटिस बी विरूद्धको तीन मात्रा खोपको प्रगति र बाल्यकालमा यो रोगको दर विश्लेषण गर्दा हेपाटाइटिस बी विरूध्दको खोप कभरेज ९०% भन्दा बढी र बाल्यकालमा रोगको विद्यमानता दर १ % भन्दा पनि कम रहेको पाइएको छ। यस रोग नियन्त्रणमा नेपाल लगायत चार दक्षिण-पूर्वी एसियाका देशहरूले राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धी हासिल गरेका छन्।

सार्वजनिक सेवामा असमानता चुनौती र आलोचना दुवैको विषय हो। हेपाटाइटिस बी संक्रमणको दर र यसको उपचार तथा नियन्त्रणको लागि प्रदान गरिएको सेवाहरूमा समेत समाता छैन।

नेपालले हेपेटाइटिस बी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरे ता पनि निश्चित समूहमा यसको रोगदर १० % भन्दा बढी र एक वर्ष मुनीका शिशुमा खोपको कभरेज ९० % भन्दा कमी रहेको छ। रोगको प्रसारणको जटिल जीवनचक्रको कारण, उच्च रोगदर भएको समूहले अन्य समूहहरू र क्षेत्रमा यो रोग सार्न सक्ने सम्भावना रहन्छ।

विद्यमान अवस्था तथा समस्या:
विश्व स्वास्थ्य संगठनको मूल्याँकनमा नेपालमा हेपाटाइटिस बी बिरूद्धको खोप कभरेज लगातार ९०% भन्दा बढी र लक्षित समूहमा रोगको दर १ % भन्दा कम छ।

एउटै खोपबाट पाँचवटा रोग विरूद्ध प्रभावकारी हुने खोप डीपीटीएचपीबी हिबलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरि लगाइने गरिएको छ। जस अनुसार जन्म पश्चात ६, १० र १४ हप्तामा उक्त खोप लगाउँन सिफारिश गरिएको छ। उक्त खोपको पछिल्ला तीन वर्षको प्रगति बिश्लेषण गर्दा आ व ७३/७४ मा ८२ % र त्यस पछिका दुइ वर्षमा ८६%र ८२% को कभरेज रहेको छ। गण्डकी र बागमती प्रदेशको आ व ७५/७६ मा यस खोपको नियमित कभरेज क्रमशः ७२ र ७३% छ।

नेपालमा समग्रमा यस रोगको दर १ % भन्दा कम रहेता पनि विभीन्न समूहहरूबीच असमान दर रहेको छ। विभिन्न अध्ययनहरूबाट कुनै कुनै उच्च जोखिम तथा सेवाको पहुँच कम रहेको समूहमा १ देखि ३८% सम्म रोगको दर रहेको पाइएको छ।

उच्च हिमाली क्षेत्रका आदिवासीहरूमा संक्रमणको दर उच्च रहेको भएता पनि राष्ट्रिय रूपमा यसको संचार तथा पैरवी नभएको पाइन्छ। यस रोगको क्षेत्रमा लामो अध्ययन र अन्सन्धान गर्नु भएका डा. पुरूषोत्तम राज सेढाइले डोल्पा जिल्लको उच्च हिमाली क्षेत्रमा गरेको अध्ययन (सन् २००७ मा प्रकाशित) अनुसार त्यस भूभागका केही आदिवासी समुदायहरूमा लगभग ०७% आमाहरू संक्रमित छन् र उनीहरूसाथ बाँचिरहेका लगभग आधा बच्चाहरू संक्रमित रहेको पाइएको छ।

अध्ययन गरिएका बच्चाहरूमध्ये ३६% बच्चाहरूलाई मात्र हेपाटाइटिस बी विरूध्दको खोपको तेस्रो मात्रा खोप दिइएको पाइयो, खोप लगाएका बच्चाहरू मध्ये ५६% मा मात्र उक्त रोग विरूध्द लड्ने क्षमता (HBSAg) विकास भएको पाइएको थियो।

त्यस्तै, सन् २००६ मा माथिल्लो डोल्पादेखि काठमाडौंमा जाडो समयमा मौसमी वसाइ सर्ने बीच गरिएको अध्ययनले यस रोगको दर ३८% देखाएको थियो। समान समूहमा सन् २०११ र १२ मा गरिएको क्लिनिकल मूल्यांकनबाट यस रोगको दर क्रमशः १८% र १९% पाइयो। त्यस्तै यस रोगको दर सन् २०१४ मा उच्च हिमाली क्षेत्र मनाङ जिल्लाको गुरुङ समुदायमा ७.३% र शोलुखुम्बु जिल्लको शेर्पा समुदायमा ३.५% पाइयो। असुरक्षित यौन अभ्यास, बाल विवाह र मादक पदार्थको अधिक खानपान लगायतका जोखिम व्यवहार अध्ययन गरिएको दुबै समूहमा व्याप्त थियो।

नेपालमा यस रोगको नियन्त्रण र रोकथामको लागि विद्यमान कार्यक्रम नै शिशु अवस्थामा लगाइने खोप नै हो तथापि जन्मना साथ हेपाटाइटिस बी बिरूद्धको खोप प्रदान गर्ने नीति रहेको छैन। रक्तदान र शल्यकार्य गर्नु पूर्व एवं पूर्व प्रसूती सेवामा स्क्रीनिंग सुरक्षा सुनिश्चित गर्नका लागि परीक्षण गर्ने नीति रहेको छ।

विद्यमान नीति अनुसार पहिलो मात्रा हेपाटाइटिस बी बिरूद्धको पहिलो खोप ६ हप्ता उमेरमा दिइन्छ। राष्ट्रिय खोप कार्यक्रमको यस नीति तथा अभ्यासले उच्च प्रभावित तथा उच्च जोखिम समूहमा यथोचित सुरक्षा प्रदान गर्न सक्दैन।

उच्च जोखिम समूहमा अधिकांश गर्भवती अमाहरूबाट बच्चामा गर्भको अवधि वा जन्मेको केहि दिनमा नै संक्रमण सर्ने हुन्छ तर १६ हप्तामा दिइने खोपले यसरी हुने रोगको प्रसारणलाई रोक्न सक्दैन। हेपाटाइटिस बी रोग खोपबाट बचाउँन सकिने साथै यौनजन्य गतिबिधि लगायत विभीन्न माध्यमबाट प्रसारण हुन्छ।

हेपाटाइटिस बी भाइरस अत्यन्त संक्रामक हुने र रगत वा संक्रमित व्यक्तिको शरीरको अन्य तरल पदार्थको सम्पर्कबाट प्रसारित हुन्छ। हेपाटाइटिस बी भाइरस कम्तिमा ७ दिन सम्म शरीरको बाहिर बाँच्न सक्छ जसले गर्दा स्वास्थ्यकर्मीहरूको लागि महत्वपूर्ण व्यवसायजन्य जोखिम हुनसक्छ। यसका साथै हेपाटाइटिस बी लक्षित रोकथाम, नियन्त्रण र उपचार सेवाहरू उच्च रोग दर भएको र उच्च जोखिम समूहमा तत्कालै शुरू नहुनु गम्भीर चिन्ताको विषय हो। त्यसैले यस रोग नियन्त्रणको लागि एक भन्दा धेरै हस्तक्षेपकारी कार्यक्रमको तत्कालै आवश्यकता रहेको छ।

सुझावहरूः
I. भौगोलिक, जातीय, धार्मिक र पारिवारिक इतिहास भएको तथा विशिष्ट जोखिम व्यवहार गर्ने समूहमा थप अनुसन्धान र कार्यक्रमको आवश्यकता रहेको छ।

II. जन्मना साथ एक मात्रा (जन्मेको २४ घण्टा भित्रै) साथै त्यस पश्चात ६ महिना भित्र जम्मा ३ वा ४ मात्रा हेपाटाइटिस बी बिरूद्धको खोप प्रदान गर्ने नीति तत्कालै लागु गर्नुपर्ने हुन्छ।

III. प्रसूती तथा प्रसूती पश्चातको सेवा, प्रयोगशाला तथा अन्य स्वास्थ्य सेवा प्रदान गर्दा उचित रूपमा सतर्कताका स्तरीय उपायहरू अवलम्बन गर्नुपर्दछ।

IV. त्यस्तै गरी यस समस्यालाई सम्बोधन गर्नका लागि विशेष कार्यक्रम र सेवाहरू तुरुन्त शुरू गरी क्रमिक रूपमा विस्तार गर्दै लानु आवश्यक छ।

V. संक्रमणको दर न्यून गरी उन्मूलनको लक्ष्य हासिल गर्न असुरक्षित यौन अभ्यास र सुइ बाट ड्रग प्रयोगकर्ताहरू लगायत सहरी क्षेत्रमा रहेकाो उच्च जोखिमको अध्ययन र ती समूहमा विशेष कार्यक्रमको समेत आवश्यकता देखिन्छ।

अन्त्यमा
कतिपय उच्च जोखिम समूहमा हेपाटाइटिस बी को समस्याले गम्भीर रूप लिन थालेको छ, यसको मुख्य कारण नियन्त्रण तथा उपचारका लागि प्रभावकारी कार्यक्रम लागू नगरिनु हो। जसले गर्दा प्रभावित समूहमा अन्तर पुस्ता, वहुअयामिक जटिल असरहरू देखा पर्नुका साथै नेपालमा हेपाटाइटिस बी जनस्वास्थ्य समस्याको रूपमा देखा पर्ने जोखिम रहेको छ।

यसले संविधान, मानव अधिकार तथा आदिवासी जनजातिको स्वास्थ्यमा समानताको अधिकारको संरक्षण गर्न व्यक्त अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप स्वास्थ्य सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायहरू चुकेका त छैनन्? भन्ने प्रश्न उब्जेको छ।

संघियता सफलतापूर्वक कार्यान्वयन गरिरहेको नेपालले यस समस्यालाइ कति प्राथमिकतामा राख्छ भन्ने कुराले अगामी दिनमा हेपाटाइटिस बी को समस्यालाइ समाधान गर्न सहयोगी सिध्द हुने अपेक्षा गर्न सकिन्छ। साथै “हराइरहेको लाखौं फेला पारौँ (Find the Missing Millions)” भन्ने नारा साथ यहि जुलाइ २८ का दिन मनाउँन लागिएको विश्व हेपाटाइटिस दिवशको सार्थकताका लागि उल्लेखित विषयहरूमा सम्बन्धित सरोकारवाला सबैले ध्यान पुर्याउँन जरूरी छ।

#  रिजाल हाल  कोरिया स्थित Yonsei University मा MPH अध्ययनरत छन् ।

थप समाचार


Facebook Comment