सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने अभियानमा फेरी चुक्यो सरकार

  • सृजना कंडेल

सुर्तीजन्य   पदार्थ नियन्त्रणका लागि कडा कानून बनाएर पनि कार्यान्वयनमा फितलो देखिएको सरकारलाई यसपटक सो कमजोरी सुधार्ने मौका थियो । तर यसपटक पनि सरकार निरीह भयो कानूनको अटेरी गर्दै आएका सुर्ती उद्योगीहरु नै बलिया देखिए ।

विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि छिमेकी देश भारतका विभिन्न प्रदेशहरुमा सुर्तीजन्य  पदार्थको प्रयोग प्रतिवन्ध लगाइयो । श्रीलंकाले त्यहि ग¥यो । तर नेपालले भने कानूनको अटेरी गर्ने तिनै सुर्ती उद्योगीहरुलाई रेड कार्पेट बिच्छाई स्वागत गर्यो र कोभिड – १९ विरुद्धका लागि भन्दै धमाधम डोनेशन लियो ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)का अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक २७ हजार १३७ जनाको निधन हुने गरेको छ । यो संख्या नेपालमा हुने कुल मृत्युको झण्डै १५ प्रतिशत हो ।

बार्षिक मृत्यु हुने संख्यालाई दैनिक औषतमा निकाल्ने हो भने यसबाट दैनिक ७४ जना जना हुन्छ । अर्थात नेपालमा आन्तरिक उडानमा रहने सबैभन्दा ठूलो क्षमताको हवाईजहाजको दैनिक दुर्घटना हुँदा हुने क्षति भन्दा बढी हो । तर सरकार सूर्ति उद्योगी र व्यापारीको अगाडी लाचार छ । पछिल्ला दिनमा प्रदेशका मुख्य मन्त्रीहरु डोनेसनका नाममा सुर्ती उद्योगीहरुसंग करोड बुझ्ने र फोटो खिच्ने काममा व्यस्त छन् ।

जवकी, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद- ३ दफा २२ को उपदफा ७ मा त्यसरी डोनेसन लिन दिन नमिल्ने स्पष्ट व्यवस्था छ । सो उपदफामा लेखिएको छ, ‘संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने नाममा सूर्ति उद्योगहरुले प्रदान गर्ने कुनै पनि किसिमका शैक्षिक उत्थान, जातीय तथा बर्गीय उत्थान, आपतकालिन सेवामा सहयोग र सहकार्यको कसैले पनि स्वीकार गर्नु हुँदैन र उत्पादक लगायतले यस्तो सहयोग गर्न पाउने छैन् ।’ भनिएको छ ।

सोही परिच्छेदको दफा २० को उपदफा ६ मा ‘सार्वजनिक निकायका पदाधिकारीहरुले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने लगायतका कुनै पनि गतिविधि वा कार्यक्रममा सुर्ती उद्योगहरुको सहयोग, सहभागिता र सहकार्यलाई स्वीकार गर्नु हुँदैन् भनिएको छ ।’
तर मुख्य मन्त्रीहरु सुर्ती उद्योगीहरुको करोड रुपैयाँको मोहजालमा फसे र आफैले बनाएको कानून कुल्चिएको पत्तो पाएनन् ।

अहिले धमाधम डोनेसन बाँढेको सूर्य नेपाल त्यहि सूर्ति उद्योग हो जसले १ जेठ २०७२ बाट लागू गर्नुपर्ने कानूनको लगातार उलंघन गर्दै आएको छ । सरकारले बनाएको सुर्तीजन्य पदार्थको प्याकेटमा ९० भाग चित्रअंकित चेतावनीयुक्त सन्देशले छोप्नुपर्ने व्यवस्थाको अटेरी गर्दै आएको छ ।

त्यसो त यहि उद्योगका प्रतिनिधिहरुले २०७२ साल बैशाखमा आएको महाभूकम्पकै बेला तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका स्वकीय सचिव अतुल कोइराला मार्फत मुख्य सचिवलाई चिठी लेख्न लगाएका थिए र बनेको कानून फिर्ता लिन निर्देशन दिन लगाएका थिए । यद्धपी सो निर्देशन त्यसबेला कार्यान्वयन भएन् ।

अहिलेको डोनेसनलाई पनि जनस्वास्थ्य विज्ञहरुले मुलुक संकटमा अल्मलिएको बेला सूर्ति उद्योगले चलाखी गरेको दावी गरेका छन् ।

सुर्तीजन्य पदार्थ सेवनकर्तालाई कोरोनाको जोखिम बढी

सन् २०१९ को अन्तिम दिनमा चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरस (कोभिड -१९) ले यतिवेला विश्वलाई त्राहीमाम पारेको छ । विश्वका २१६ वटा देशका १ करोड ५२ लाख बढीमा संक्रमण र ६ लाख २५ हजार बढीको ज्यान लिएको यो भाइरसबाट नेपालमा १८ हजार बढी संक्रमित भएका छन् । ४५ जनाको ज्यान गईसकेको छ ।

कोरोनाको संक्रमण तिब्रता संगै गत मार्चमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ‘उच्च जोखिम समूह’ घोषणा गर्दै ती समूहलाई सचेत रहन आग्रह गरेको थियो । जसमा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिस पनि सो जोखिम सूचीमा थिए ।
सुर्तीजन्य सेवन प्रयोग गर्ने मानिसहरुलाई चेतावनी दिँदै त्यसबेला डव्लुएचओले भनेको थियो, ‘दीर्घरोगी र ६० वर्ष माथिका मानिस, जस्तै– सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसलाई पनि संक्रमणको जोखिम उच्च हुन्छ, अन्य मानिसभन्दा उनीहरु बढी सचेत हुनुपर्छ ।’

यस्तै चीनमा कोरोना संक्रमितमा गरिएको एक अध्ययनअनुसार गम्भीर असर देखिएकाले आइसीयू र भेन्टिलेटरमा राख्नु परेका धेरै व्यक्तिको पृष्ठभूमि धूमपान गर्ने थियो । अन्य व्यक्तिलाई भन्दा धूमपान सेवन गर्ने व्यक्ति भाइरसबाट बढी पीडित थिए ।

गत मे मा सन्फ्रान्सिस्कोका ११ हजार ९० जना कोभिड बिरामीमा गरिएको एक अनुसन्धानका अनुसार भर्खरै धूमपान गर्न सुरु गरेकाहरुलाई भन्दा लामो समयदेखि धूमपान गर्नेहरु ज्यादा सिकिस्त भएको देखियो । त्यसैगरी धूमपान नगर्नेभन्दा धूमपान गर्नेहरुको संक्रमण र मृत्यु दोब्बर भयो ।

उक्त अध्ययनले भनेको छ, ‘ज्यादा सुर्तीजन्य पदार्थ सेवन गर्ने समाजमा कोरोना संक्रमणको महामारी नियन्त्रण गर्न गाह्रो हुन्छ।

यी अध्ययन्हरुको एउटै निस्कर्ष हो सुर्तीजन्य पदार्थ नसर्ने रोगका लागि जति खतरनाक थियो अहिलेको संक्रामक रोग अर्थात कोभिड-१९मा पनि उत्तिकै खतरा छ । तसर्थ खतराजन्य बस्तुलाई नियन्त्रण गर्नु नै अहिलेको आवश्यकता हो ।

सरकारसंग सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ छ । त्यसले बनाएका निर्देशिका तथा नियमावलीलाई टेकेर पनि यसलाई सहज रुपमा नियन्त्रण गर्न सकिने हो तर त्यस तर्फ राज्यका निकायहरु लागेका छैनन् । विगत देखिएको कमजोरी हटाउने भन्दा बरु झन् झन् बढाउने तर्फ उद्धत देखिन्छन् ।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर