काठमाडौँ मेडिकल कलेजका थप एक जना चिकित्सकमा कोरोना संक्रमण

काठमाडौँ, २१ जेठ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत थप एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । मंगलबार २ जना बिरामी, एक जना चिकित्सक र एक जना नर्स गरी ४ जनामा संक्रमण थियो ।

बुधबार (आज) थप एक जना चिकित्सकका कोरोना संक्रमण देखिएको कलेजका प्रमुख प्राडा चन्दा कार्कीले बताइन् । संक्रमित विरामी र चिकित्सकको कन्ट्याक्ट ट्रेसिङ गरी जाँच गर्ने क्रममा आज थप चिकित्सकमा कोरोना संक्रमण देखिएको हो ।

‘हामीले कोरोना विशेष अस्पताल दुवाकोट भक्तपुरमा स्थापना गरेका छौँ । संकास्पद विरामी र संक्रमित विरामीलाई त्यहाँको आइसोलेसनमा राख्छौँ । सिनामंगलमा सुरक्षित ठानिएकाहरु मात्रै राख्ने हो तर हिजो बिरामी, चिकित्सक र नर्समा देखियो आज थप एक जना चिकित्सकलाई देखिएको छ । यसले अवस्था भित्र भित्रै जटिल त बनेको छैन् भनेर गम्भीर बन्न बाध्य बनाएको छ,’ डा कार्कीले भनिन् ।

सिनामंगलस्थित केएमसी अस्पतालमा आकस्मिकसहितको सबै सेवा बन्द
दुई बिरामी र तीन जना मेडिकल स्टाफ गरी ५ जनामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल आकस्मिक सहित सबै सेवा बन्द भएको छ । अस्पतालले मंगलबार राती सूचना जारी गर्दै अनिनिश्चत कालका लागि आकस्मिक सहितका सबै सेवा बन्द गरिएको जनाएको छ ।

मंगलबार जारी विज्ञप्तीमा अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको उल्लेख गरेको छ । उसले विज्ञप्तिमा बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।

कलेजकी प्रमुख डा कार्कीले यो निर्णयलाई संक्रमण रोक्नका लागि चालिएको अत्यावश्यक कदम भनेकी छन् । ‘स्वास्थ्यकर्मीमा संक्रमण बढ्न थाल्यो विरामीमा पनि बढ्न थाल्यो भने त अवस्था भयावह हुन्छ । त्यसैले सबैको सुरक्षाका लागि हामीले यो कदम चालेका हौँ,’ उनले भनिन् ।

डा कार्कीले अहिले पनि अस्पतालमा ६० ६५ जना भर्ना भएका विरामी भएको र उनीहरुको सुरक्षित ढंगले उपचार भइरहेको बताइन । उनले डिस्चार्ज हुन चाहने विरामीलाई खुल्ला गरिएको समेत बताइन । अस्पतालका प्राइमरी कन्ट्याक्टमा रहेकाहरुको विवरण संकलन भइरहेको भन्दै त्यो संख्या १८० बढी हुने जानकारी दिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *