कोरोना संक्रमण जितेकी युवतीको ‘आइसोलेसन डायरी’

सांकेतिक तस्बिर

हुन त यस्ता कयौं रातको अनुभव लिएको छु मैले, तर यसपटक निन्द्राको अलिकती छिर्काहरु आँखामा बस्न नपाउँदै बिहानी प्रकाशले लाली छर्न आइपुगेका छन् ।

लगभग १० हजार रातको अनुभव लिई सकेको यो आँखालाई ती रातमा निन्द्रामा डुब्न नपाउदाको जस्तो पीडा अरु हजारौँ रातको घेरा भित्र छैन् सायद । यी हजारौं रातमा म सुत्ने बिछ्यौँनाले कहिले पनि घोचेन तर यो सात रात मन र दिमाग दुबैमा यति धेरै बिजायो कि भनि साध्ये छैन् ।

मनमा विश्वास नभए पनि विज्ञानलाई विश्वास मान्नै पर्ने । म मा कोरोना भाइरस (कोभिड १९) छ भनेर मेरो मनमा त सून्य दशमलव १ प्रतिशत पनि विश्वास थिएन् । कोभिड – १९ त के कुनै पनि भाइरस छैन् भन्नेमा म पूर्ण ढुक्कध थिए ।

बन्दाबन्दी हुनु केही दिन अघि छुट्टी लिएर आफ्नो घर सुनसरी गएकी थिएँ । म गएपछि देशभर बन्दाबन्दी शुरु भयो । यो लम्बिदै जाँदा करीब दुई महिना घरमै विश्राम लिन बाध्य भएँ । तर यता अफिसमा भने काम थुप्रिदै गएको थाहा पाइरहेको थिएँ । यसरी त हुँदैन, म त काठमाडौँ जानैँ पर्छ भन्ने लाग्यो ।

म काठमाडौँ फर्कने निर्णय गरेँ ।

……………………………………………………………….

काठमाडौँ आएर १४ दिन सेल्फ क्वारेन्टिनमा बस्ने सर्तमा जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुमति दियो । अनुमति लिएर गत २९ बैशाखमा काकासंग मोटरसाइकलमा काठमाडौँ आएँ ।

म जहाँ काम गर्छु त्यहाँ प्रतिरक्षा प्रणाली कमजोर भएका करिब २०० जना विरामी नियमित उपचारको लागि आउनुहुन्छ । उहाँहरुको जीवन रक्षा गर्नु हाम्रो ठूलो दायित्व हो भन्ने बुझेर नै मैले काठमाडौँ हिड्नु अघि नै पहिले कोरोना परीक्षण गराउँछु भन्ने सोचेकी थिएँ ।

सुनसरीमा रहँदा यो दुई महिनाको अवधीमा म घरबाट कतै निस्केको थिईन । तर तराईमा पछिल्लो समय कोरोना संक्रमण बढी रहेकोले मलाई कता कता एक पटक परीक्षण गराउनु पर्छ भन्ने मनमा लागेको थियो ।

२९ बैशाखको दिन करीव ३ बजे म साँगा आईपुगेको थिएँ । अफिससंग सम्पर्कमा थिएँ । मैले काम गर्ने अफिसको एम्बुलेन्स पनि भक्तपुर नै आएको रहेछ । सुरक्षा चेक जाँचले गर्दा मेरो कोरोना परिक्षण गर्न नभ्याउने भए पछि भक्तपुरसम्म आईपुगेको एम्बुलेन्सलाई साँगा नै बोलाएँ र सिधै टेकु गएर स्याम्पल दिएँ ।

त्यसबेला म मा कोरोनाका लक्षणको ल पनि थिएन । न घाँटी खसखस थियो, न त हाछिउ आएको थियो, त्यसैले ढुक्क थिएँ कोरोना रिपोर्ट नेगेटिभ आउँछ भन्नेमा ।

टेकु पुगेर मेरो थ्रोट स्वाब दिएपछि काका आफ्नो मोटरसाइकलमा जानु भयो । मलाई त्यही एम्बुलेन्सले भक्तपुर पुर्‍यायो । रिपोर्ट आएपछि मात्रै आफ्नो कोठमामा जान्छु भनेर चिनेको बहिनीको कोठामा बसेँ ।

…………………………………………………………………

कोरोना देखिदैन भन्ने ढुक्क भएपनि परीक्षणका लागि नमूना दिईसकेपछि नतिजा नआउँदासम्म छटपटी भने हुँदो रहेछ । अर्को दिन राती करीब ९ बजे टेकुबाट फोन आयो, तपाईँको रिपोर्ट पोजेटिभ आएको छ भनेर । म एक्कासी छाँगाबाट खसे जस्तो भएँ । मलाई पत्यार त लागेको थिएन । तर डर भने अति नै लाग्यो ।

दुई महिना घरमा ममीसंगै सुतेँ । दमको समस्या भएको ममीलाई झन् के भयो होला भनेर चिन्ता लाग्न थाल्यो । त्यो एक रातसंगै बसेको बहिनीले त झन् जुठो खाएकी छन् । उनको पनि धेरै चिन्ता लाग्यो । कोरोनालाई बुझेको छु भन्दा भन्दै पनि हाउगुजी जस्तो हुन थाल्यो । मनमा भयानक डर पलाउन थाल्यो । फेरी कोरोनालाई त अत्यन्तै खतरनाक रोग भने जसरी प्रस्तुत गरिएको छ , मिडियाले ले पनि सरकारले पनि ।

त्यस दिन टेकुबाट एम्बुलेन्स आउन नसक्ने जानकारी भए पछि मैले आफुले काम गर्ने ठाँउको एम्बुलेन्स मगाएँ । डाक्टरको निर्देशन बमोजिम पुरै सावधानी अपनाएर फुल पिपिई लगाएर मलाई लिन मेरो कार्यालयको एम्बुलेन्स भक्तपुरमा नै आयो । मलाई मास्क पनि ल्याइदिनु भएको रहेछ । त्यो लगाएँ । सरकारले निर्देशन गरेको मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरि म एम्बुलेन्समा बसेँ र टेकु तिर लागेँ । टेकु जाँदै गर्दा सरकारले निर्देशन गरेको लकडाउनको नियम पालना गरि म दुई महिनासम्म घरमा बसि रहेँ कोरोना मलाई कहाँबाट सर्‍यो होला ? दिमागमा यहि कुरा खेलि रह्यो ।

……………………………………………………………..

मलाई बास्तवमै कोरोना लाग्या हो भन्ने कुरामा पनि म विश्वस्त हुन सकिरहेको छैन तर विज्ञानलाई मान्दिन भन्ने छुट पनि मलाई छैन । तर कता कता खुशी पनि थिएँ । खुशी यो मानेमा कि यदि मलाई साँच्चिकै संक्रमण हो रहेछ भने पनि मैले काम गर्ने उक्त सेन्टरमा डायलासिस गर्ने करीब २०० जना सम्भावित संक्रमणबाट त जोगिए भनेर ।

टेकु पुगियो । मलाई त्यहाँको आइसोलेसनमा भर्ना गरियो । न कोहि भेट्न आउन मिल्ने न बहिर मुस्कुराई रहेको वसन्त ॠतुको अनुभव गर्न पाईने । पुरै जेल जस्तै लाग्न थाल्यो । सुबिधा त थियो । वाईफाई थियो, सामाजिक सञ्जाल हेर्दा, समाचार हेर्दा सुन्दा झन् अत्यास लाग्ने । त्यहाँ रहँदा सकरात्मक उर्जा दिने, उत्प्रेणा दिने म्यासेज गर्ने ट्याग गर्नेहरु पनि थुप्रै आईरहेका थिए तर नकरात्मक उर्जा दिने म्यासेज आउने र ट्याग गर्नेको पनि कमि थिएन ।

मलाई यस्तो लाग्थ्यो कि त्यहाँका भित्ताहरुले थिचिरहेको थियो । बाहिर वसन्त मुस्कुराएर के गर्नु भित्र डर फक्रिरहेको थियो ।
यसैबीचमा मैले यो दुई महिनामा भेटेको घर परिवार, मलाई छोड्न आउनुभएको काका, सिन्धुलीमा खाना खाएको ठूलो मम्मीको घरको सबै जनामा कोभिड – १९ को रिपोर्ट नेगेटिभ आयो भन्ने थाह पाएँ ।  यसले मलाई कोरोना छैन भन्ने आत्मविश्वास दोब्बरले बढ्यो तर डर भने यथावत नै ।

………………………………………………………….

मेरो पुन : जाँच भयो । नतिजा तीन दिन पछि आयो र नेगेटिभ । तर त्यसबेला रिपोर्टको प्रतीक्षा गर्न पनि यति मुस्किल भयो भनिसाध्ये छैन् । तर रिपोर्ट नेगेटिभ आएपछि भने मलाई ठूलो युद्द जिते जस्तो लाग्यो । नेगेटिभ आयो भन्ने खबर पाउँदा मलाई आइसोलेसन वार्डकै बेडबाट उठेर छमछमी नाचिदिउँ जस्तो लाग्यो । किनभने यो बीचको सबैभन्दा खुशीको क्षण थियो त्यो । अनि मेरो आत्मविश्वासको जित पनि ।

सात आठ दिनको टेकु अस्पतालको बसाईमा मैले त्यहाँको बारेमा गुनासो गर्नुपर्ने कुरा भेटिन् । तर एउटा कुरा भने सुधार भए राम्रो हुन्थ्यो भन्ने लाग्यो । त्यो के भने भर्ना भएका विरामीको परीक्षण रिपोर्ट चाँडो उपलव्ध हुने व्यवस्था भए निकै राम्रो हुन्थ्यो भन्ने । पोजेटिभ भए पनि नेगेटिभ भए पनि । नत्र आइसोलेसनमा बस्दा निकै छटपटि हुँदो रहेछ ।

……………………………………………………………..

सेवाको कुरा गर्दा टेकु अस्पतालको सुविधा सबै राम्रो छ । डाक्टर तथा सिस्टरहरुले गर्ने व्यवहारमा पनि कुनै गुनासो छैन् ।
मेरो सुझाव चाँही के भने एक पटक रिपोर्ट पोजेटिभ देखिएपछि उसलाई तत्काल आइसोलेसनमा राख्नुको सट्टा पुन एक पटक परीक्षण गरेर मात्रै राख्ने कि भन्न चाहन्छु ।

मैले बुझेको कुनै पनि ल्याबको रिपोर्ट सतप्रतिशत हुन सक्दैन् । त्यसैले एक पटकमा पोजेटिभ देखिएको रिपोर्टलाई भर नमानी संक्रमित ठानिएको व्यक्तिलाई यथास्थानमा राखी पुन परिक्षण गरेर मात्रै आइसोलेसनमा राख्ने निर्णय लिईयोस ।

अनि मिडियालाई पनि केही भन्न चाहन्छु । यो महामारीको बेलामा समाचार सम्प्रेसण गर्दा सत्य तथ्य बुझेर मात्रै गरिदिनु होला ।

यो बीचमा मलाई कुनै मिडियाले मलाई डाक्टर बनाए, कुनैले नर्स बनाए, कुनै मिडियाले विवाहीत युवती माईती गएर आएको भनेर लेखे । र यी सबै गलत थिए । यस्ता समचारले पत्रकारितामाथिको विश्वसनीयत गुम्ने डर हुन्छ । अनि समाजमा त्रास मात्रै पैदा गर्दछ । यहि समाचार सुनेको भरमा सत्यतत्थ्य नबुझी स्थानीय प्रशासनले म कार्यरत कार्यालय र संगैको अर्को अस्पताल सिल गरिदियो ।

यसले त्यहाँबाट उपचार तथा सेवा लिन आउने बिरामीहरुमा बाधा भयो । मैले गर्दा डायलासिस रोकियो । यसले म आम सेवाग्राही र मेरो कार्यालयप्रति माफी चाहन्छु । फेरी पनि भन्न चाहन्छु खासमा सम्भावित दुर्घटना नहोस भनेरै सतर्क भएर विना कुनै लक्षण परीक्षण गराउन गएको थिएँ ।

नतिजा पोजेटिभ आइदियो । त्यसपछि हस्पिटल सिल गरेको कारण उक्त अस्पतालमा कारर्यरत सबै कर्मचारी अस्पताल भित्रै बन्धी हुँन बाध्य हुनु भएछ । यस प्रति पनि म माफी चाहान्छु ।

डेरागरी बस्ने कर्मचारीहरुलाई कतिपय घर धनीहरुले गरेको व्यवहार सुनेर साह्रै दुख पनि लाग्यो । अनि साथ सहयोग गर्ने घरमुलीको बारेमा पनि सुनें खुशी लाग्यो ।

अन्त्यमा कोरोनाबाट आत्तिने होइन सचेत हुने हो । यसलाई लाग्न नदिनका लागि उपाय गर्ने हो । किनभने कोरोना हामीले सोचेको डर भन्दा धेरै कमजोर छ ।

साथ र सहयोगको लागि सबैलाई हार्दिक आभार ।
२०७७।०२।०७

आइसोलेसन वार्ड

(आरोग्य प्रतिष्ठानमा कार्यरत उनी विहीबार (हिजो) टेकु अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । – सं)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *