लकडाउन खुकुलो पार्नु अघि के – के कुरामा ध्यान दिने ? यस्तो छ स्वास्थ्यले बनाएको ११ बुँदे मस्यौदा

काठमाडौँ, २० बैशाख । कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै गत ११ चैत देखि देशमा जारी लकडाउन तीन पटक थपिएको छ ।

पछिल्लो पटक थपिएको अवधी आगामी २५ बैशाखमा सकिदैछ । त्यसपछि लकडाउन हटछ वा जारी रहन्छ अहिल्यै भन्ने अवस्थामा छैन् ।

यद्धपी सरकारी अधिकारीहरुले २५ बैशाखपछि लकडाउनको अहिलेको मोडललाई केही परिमार्जन गरी कतिपय स्थानमा खुकुलो बनाउने संकेत दिएका छन् ।

यता स्वास्थ्य मन्त्रालयले कोरोनाको अहिलेको अवस्था, जारी लकडाउनबाट देखिएको प्रभाव र यसलाई कसरी हटाउने भन्ने बारेमा देशको स्वास्थ्यस्थिति समेटिएको राष्ट्रिय रणनीति बनाउन थालेको छ ।

नेपाली हेल्थले प्राप्त गरेको उक्त रणनीतिको मस्यौदामा लकडाउन कसरी खुकुलो पार्ने र खुकुलो पारिसकेपछि के के कुरा अनिवार्य गर्ने भन्ने विषयको मापदण्ड समेत अघि सारिएको छ । यो स्वीकृत भइसकेको छैन तर तयार पारेको मापदण्ड भने यस्तो छ ।

लकडाउन खुकुलो पारेको वा हटाइएको अवस्थामा सार्वजनिक स्थानहरूमा देहाय अनुसारका जनस्वास्थ्यका मापदण्डहरू अनिवार्यरूपमा पालना गर्ने व्यवस्था मिलाउनु पर्नेछ : 
१. सबै सार्वजनिक स्थल तथा भवनहरूमा हात धुने साबुन र पानीको व्यवस्था गर्नु पर्ने,

२. सार्वजनिक भवन प्रवेश गर्दा अनिवार्यरूपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाउने र अनुगमन गर्ने,

३. कम्तीमा १ मिटरको दुरी अनिवार्यरूपमा पालना गर्ने कुरालाइ व्यापक प्रबर्धन र अनुगमन गर्ने,

४. खोक्दा वा हाछ्यु गर्दा रूमाल वा टिस्यु पेपरले मुख छोप्ने, उक्त सम्भव नभएमा कुहिनोको प्रयोगलाई प्रबर्धन गर्ने,

५. रूघाखोकी वा कुनै श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरूले सकभर अरूको सम्पर्क नआउने, आउनै परेको खण्डमा अनिवार्यरूपमा मास्क प्रयोग गर्ने । कपडाको मास्क पनि प्रयोग गर्न सकिनेछ, यस प्रकारको मास्क प्रयोग गरे पश्चात् साबुन पानीले राम्ररी धोएपछि मात्रै पुनः प्रयोग गर्नु पर्नेछ,

६. अत्यावश्यक सेवा प्रदान गर्नु पर्ने कार्यालयहरू लगायत अन्य क्षेत्रमा हुने कार्य निरन्तरताका लागि सकेसम्म भर्चुअल प्लाटफर्म प्रयोग गर्ने,

७.  व्यक्तिहरूको शारिरलाई छोएर सेवा दिनु पर्ने (जस्तै: स्वास्थ्य सेवा) अवस्थामा सेवा प्रदायकले अनिवार्यरूपमा मास्क, पञ्जा लगाउने व्यवस्था मिलाउने र साबुन पानीले हातधुने व्यवस्था मिलाउने,

८. कुनै पनि सार्वजनिक स्थानमा ७ जनाभन्दा बढी मानिसहरु भेला नहुने र हुनै पर्ने अवस्था भएमा स्थानीय निकायको स्वीकृती लिइ कम्तीमा १ मिटरको दुरी कायम गर्ने र सकभर मास्कको प्रयोग गर्ने व्यवस्था मिलाउने,

. सार्वजनिक यातायात संचालन गर्ने अवस्थामा एक पंक्तिको सीटमा एकजना मात्रै रहने व्यवस्था मिलाउने, स्यानिटाइजरको व्यवस्था गर्ने र सबैले मास्क प्रयोग गर्ने व्यवस्था मिलाउने,

१०.  एक जिल्लाबाट अर्को जिल्लामा अत्यावश्यक ढुवानी र अत्यावश्यक सार्वजनिक कार्यका लागि मात्रै आवतजावतको अनुमति दिने र सवारी साधनहरूमा रहेका व्यक्तिहरूको स्क्रिनिंग गर्ने र सवारी साधनको निर्मलीकरण गर्ने व्यवस्था मिलाउने,

११.  कृषि उत्पादनले समग्र अर्थतन्त्र र जनजिवनमा विशेष महत्व राख्ने भएकाले कृषी उत्पादनका कार्यलाई प्रमुख प्राथमिकता साथ सजगता तथा यस पत्र उल्लेखित मापदण्डहरू अनिवार्यरूपमा पालना गरी संचालन गर्ने व्यवस्था मिलाउने। सोको अनुगमन गर्ने कार्य स्थानीय जनप्रतिनिधिहरूले गर्नु पर्नेछ।

कृषि तथा उत्पादन क्षेत्रमा माथि उल्लिखित प्रावधानहरूका अतिरिक्त निम्नानुसारका मापदण्डहरू समेत अनिवार्यरूपमा पालना गर्ने व्यवस्था मिलाइ सेवा सुचारू गर्न सकिनेछस्

क. प्रत्येक दिन बिहान कार्य आरम्भ भन्दा पहिला अनिवार्यरूपमा इन्फ्रारेड थर्मोमिटरबाट ज्वरो जाँच गर्ने,

ख. १०० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएमा काममा नलगाउने,

ग. खोकी वा श्वासप्रश्वास सम्बन्धि समस्या भएका व्यक्तिहरूलाई काममा नलगाउने र आवश्यक निदान, उपचार वा आरामको व्यवस्था मिलाउने,

घ. उत्पादन क्षेत्रले काम गर्ने कर्मचारी र अन्य स्टाफहरूलाइ अनिवार्य रूपमा सोही उद्योग भित्र आवासको व्यवस्था मिलाउने र सकभर बाहिर भ्रमणमा रोक लगाउने,

ङ. कार्यस्थलमा कम्तीमा १ मिटरको दुरी कायम गर्ने र स्थानीय प्रशासनले नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,

च. खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउने र प्रयोग गरिएका भाडाहरू सुरक्षितरूपले सफा गर्ने र राम्रो सँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने,

छ. स्नानघर र शौचालयलाई नियमितरूपमा सरसफाइ गर्ने र ज्वरो आएका व्यक्तिहरूका लागि छुट्टै व्यवस्था गर्ने, सो सम्भव नभएमा निजले प्रयोग गरे पश्चात् राम्रो सँग साबुन पानीले सफा गरि पुनः प्रयोग गर्नु पर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *