चोटपटक र घाइते बिरामीलाई ट्रमा सेन्टरको नियमित उपचार

शरद शर्मा


काठमाडौँ, १६ वैशाख । राष्ट्रिय ट्रमा सेन्टरले कोभिड–१९ को अवधिमा नियमित सेवा सञ्चालन गरेको छ । सेन्टरले लकडाउनको समयमा सेन्टरमा आउने घाइते र चोटपटकका बिरामीलाई बहिरङ्ग तथा आकस्मिक सेवा प्रदान गरेको छ ।

ती बिरामीलाई कोभिड–१९ पोलिमरेज चेन रियाक्सन (पिसीआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरी उपचार गरिहेको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेट डा सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म एक हजार २१० बिरामीको उपचार गरिएको छ । जसमध्ये एक हजार १४ अत्यावश्यक (इमर्जेन्सी सेवा) र २७५ जनालाई बहिरङ्ग सेवा प्रदान गरिएको छ । सेन्टरले १९२ जनाको साना शल्यक्रिया र १३० जनाको ठूलो शल्यक्रिया गरेको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलले लकडाउन भए पनि ७० प्रतिशत बिरामी उपचार गर्न सेन्टरमा आएको बताए । अन्य अस्पतालले चोटपटक र घाइते बिरामीलाई उपचार नगर्ने भएपछि सबै बिरामी सेन्टरमा आउने गरेको उनले बताए । उनका अनुसार सडक दुर्घटना नभए पनि अन्य कारणले घाइते भएका बिरामी आउने गरेको छन् ।

“अहिले अरु अस्पतालले चोटपटक र घाइतेका बिरामी नहेरेको अवस्थामा हामीले उपचार गरिरहेका छौँ”, उनले भने, “हामीले अस्पतालबाट रिफारिस भएका बिरामीको सेवा निरन्तर दिइरहेका छौँ ।” लकडाउनभन्दा अगाडि सेन्टरमा दैनिक ३५० बिरामीलाई बहिरङ्ग सेवा, ६० जनालाई इमर्जेन्सी सेवा र १५–२० जनाको शल्यक्रिया गर्ने गरेको थियो ।

उनले घाइते र चोटपटकका बिरामीलाई बहिरङ्ग सेवा दिनुअघि ज्वरो नाप्ने तथा कोभिड–१९ को आशङ्का लागेमा परीक्षणसमेत गरिने उनले जानकारी दिए । “उपचारका लागि सबै बिरामीको ज्वरो र कोभित–१९ आशङ्का लागेका बेला पिसीआर परीक्षण गरिरहेका छौँ”, उनले भने, “उपचारका लागि आएका बिरामीलाई फिर्ता नगरी उपचार गरेका छौँ ।”

सेन्टरमा आएकामध्ये कोभिड–१९ को आशङ्का लागेका सात जनाको पिसीआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिएको सुपरिटेन्डेन्ट डा पौडेलले जानकारी दिए । सेन्टरले उपचार गर्नका आएका बिरामीलाई अवस्था हेरी शल्यक्रियासमेत गरेको छ । इलेक्टिभ (विस्तार गरिने शल्यक्रिया), अर्जेन्ट र इमर्जेन्सी तीन समूहमा विभाजन गरी शल्यक्रिया गरिएको उनले बताए । सेन्टरले अर्जेन्ट र इमर्जेन्सीका बिरामीलाई तत्काल शल्यक्रिया र इलेक्टिभ शल्यक्रियालाई पनि प्राथमिकताका आधारमा शल्यक्रिया गरिएको छ ।

सबै वार्डमा आइसोलेसन

सेन्टरमा अहिले वार्डमा सात र इमर्जेन्सी वार्डमा छ आइसोलेसन स्थापना गरिएको छ । सेन्टरले सम्भावित बिरामीलाई आइसोलेसनमा राखेर नै उपचार गरिरहेको छ । “सम्भावित बिरामीलाई शुरुमा आइसोलेसनमा राख्दछौँ”, उनले भने, “कोभिड–१९ को परीक्षण गरेपछि मात्र उक्त बिरामीको उपचार गर्दछौँ ।” सेन्टरमा सबै वार्डमा आइसोलेसन बनाएको छ ।

स्वास्थ्यकर्मीलाई समूहमा विभाजन

सम्भावित जोखिमलाई हेरेर सेन्टरमा रहेका जनशक्तिलाई विभिन्न समूहमा विभाजन गरी परिचालन गरेको छ । उनका अनुसार साप्ताहिकरूपमा स्वास्थ्यकर्मीलाई बिहान र बेलुका ड्युटी छुट्याइ काम गरिएको छ । “बिरामीमा कोरोना भाइरस देखिएमा सम्पूर्ण सेन्टर नै लकडाउन गर्नुपर्दछ । त्यसैले बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सेन्टर नै राखेर काम गराइरहेका छौँ”, उनले भने, “एउटा समूह अहिले सेन्टरमा बिरामीको उपचारमा संलग्न छ, अर्को बाहिर रहेको छ ।” उनले कोरोनाका बिरामीलाई उपचार गर्नका लागि स्वास्थ्यकर्मीलाई उपचारको प्रशिक्षण तालिमसमेत दिइएको जानकारी गराए ।

हटलाइन सेवा

सेन्टरमा नै आउन नसक्ने बिरामीलाई फोनमार्फत सेवा दिइरहेको छ । ओपिडी सेवालाई प्रभावकारी बनाउन ०१–४२५२७५ र मोबाइल नं ९८४०८८३०५५ बाट सेवा दिइरहेको उनले जानकारी दिए। “बिरामीलाई केही कुरा फोनबाट सुल्झाएका छौँ र नसुल्झेका कुरालाई बिरामीलाई सेन्टरमा नै आउने भनेका छौँ”, उनले भने ।

भोलि बिरामीलाई सहज होस् भनेर अनलाइन टिकट र भिडियोबाट परामर्श दिने अवधारणा पनि सेन्टरले अगाडि सारेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलले सम्भावितलाई ध्यानमा राखेर सेन्टरमा सात भेन्टिलेटर तयारी अवस्था राखिएको बताउनुभयो । कोभिड–१९ को सङ्क्रमण तेस्रो तहलाई मध्यनजर गर्दै हामीले हाइडीपेडेन्सी युनिट बनाउन तयारी सेन्टर रहेको छ । सरकारले दुर्घटनाका बिरामीलाई उपचार गर्नका लागि विसं २०७१ मा स्थापना भएको सेन्टरले स्थापना गरेको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *