एक चिकित्सकको नजरमा कोभिड – १९

डा. सोनाम शेर्पा

कुनै बेलाको अति दुर्गम थियो सोलुखुम्बु । त्यै जिल्लामा जन्मेर होला, सानोमा कसैले के बन्ने भनेर सोध्दा डाक्टर बन्छु भनेर कहिल्यै भन्न सकिन । तर परिस्थिति यस्तो भयो कि म डाक्टर बने ।

भनिन्छ नि मान्छेको भाग्य कर्म र लगन । सायद मेरो पनि त्यस्तै भयो कि ?  हुन पनि सोलुबाट काठमाडौँ पाईला टेक्नु मेरो निम्ति अभूतपुर्व यात्रा बन्न गयो ।

म भित्र गुम्सेर बसेको पढाई प्रतिको लगाव र अनि मलाई सिकाउनु हुने गुरुहरुको प्रभावले आफूलाई निखार्दै लगें । विद्यालय शिक्षा पार गरें । उच्च शिक्षाको शुरुवात विज्ञान विषयबाट शुरु गर्ने अठोट गरे । बायोलोजी विषय रोजेंँ किनभने मेरो मनले एमबीबीएस पढने समना देखिसकेको थियो ।

सोचे जस्तै भयो । परिवार तथा गुरुहरुको सहयोग र मेरो लगनेले भनौँ एमबीबीएस पढ्ने अवसर पाएँ । मेरो डाक्टर बन्ने सपना पुरा भयो ।

चिकित्सा पेशालाई उत्कृष्ठ पेशा मानिन्छ । कुनै पनि सन्तान यो पेशामा आवद्ध भयो भने उपको आमा बाबु र परिवारले गर्वको महसुस गर्छ । मेरो परिवार र आमा बुबाले पनि त्यस्तै महसुस गर्नु भएको थियो ।

तर,  आज भने परिस्थिति अलि बदलिएको छ । कोरानाले हाम्रा परिवार अभिभावकको मन बदल्दिएको छ । उहाँहरुमा छोरो अस्पताल जाँदा कोरोना संक्रमणमा पर्ने हो कि ? संक्रमण लिएर घर आउने हो कि ? भन्ने चिन्ता छ ।

मानवीय स्वभाव न हो । जीवन त सबैको लागि प्यारो हुन्छ । चाहे त्यो मजदुरको होस वा चिकित्सकको । त्यसैले कोरोनाको त्रासले अभिभावकमा पैदा भएको यो चिन्तालाई म स्वभाविक ठान्छु । किनभने हाम्रो भन्दा उत्कृष्ठ स्वास्थ्य सेवा भएका देशलाई घुडा टेकाएको छ । एक हिसावले  यो रोगले मान्छेको अस्थित्व माथि नै धावा बोलेको छ ।  त्यसैले यसको उच्च जोखिमलाई मध्य नजर गर्दै स्वास्थ्यकर्मी एवं चिकित्सकहरुको मनोवल उच्च राख्न सरकारले विशेष योजना ल्याउनु पर्छ ।

चिकित्सकको २५ लाख जीवन वीमा भएको छ भनेर मात्रै को साहसका साथ जीवन आहुती दिन चाहन्छ ? के चिकित्सकको मूल्य २५ लाख हो र ? होइन त्यसैले यसको रकम बढाउँ । सबै स्वास्थ्यकर्मीको जीवनवीमा कम्तिमा एक करोड पुरयाउँ । किनभने यी स्वास्थ्यकर्मी र चिकित्सकहरु विदेशमा १० गुणा तलव बुझ्ने अवस्था हुँदा हुँदै देशका लागि सेवा गर्छु भनेर बसेका हुन् ।

अर्को कुरा चिकित्सकलाई प्रोत्साहन गरौँ । रातदिन विरामीको सेवामा खटिएका चिकित्सकलाई स्याबासी दिउँ, स्पष्टीकरण सोधेर हतोत्साहि नगरौँ । यसले आम चिकित्सकहरुको मनोवल खस्किन्छ ।

बरु सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई र उचित जीवन विमा गरिदिनुपर्यो । यसो भयो भने चिकित्सकहरु जुन सुकै अवस्थामा देशको जुनसुकै भागमा गएर सेवा दिन तयार छन् । तयार हुनु पनि पर्छ । किनभने अहिलेको यो सन्दर्भमा चिकित्सा क्षेत्रको उच्चतम विधि प्रयोग गर्दै कोरोना भाइरसलाई परास्त गर्नुको विकल्प छैन ।

# डा शेर्पा शंकरापुर अस्पताल नारायणटारमा कार्यरत छन् ।


Leave a Reply

Your email address will not be published.