नेपालमा कोभिड – १९ को अवस्था र रोकथामका लागि चाल्नुपर्ने सात रणनीति

- नेपाली हेल्थ
डा. उत्तम पच्या

३१, डिसेम्बर २०१९  अर्थात  अंग्रेजी वर्षको पूर्वसन्ध्यामा चीनको हुबेइ प्रान्तको वुहान शहरका जनता हरु नयाँ वर्ष २०२० को लागि स्वागत गर्ने तम्तयारीमा रहेका बेला  कोरोना भाइरस (कोभिड – १९) को केस देखियो । यो रोग SARS-CoV-2 भन्ने भाइरसले गर्दा हुन्छ ।

जो भाइरसले अहिले विश्वव्यापी महामारीको रुप लिईसकेको छ । यस पंक्तिकारले यो लेख लेख्दासम्म विश्वमा १६ लाख  ५ हजार  २७७ जनालाई संक्रमण गरी सकेको र ९५ हजार ७५१ जनाले मृत्युवरण गरेको अवस्था छ । यस्तै  ३ लाख ५६ हजार ९२५ जना यस रोग बाट सन्चो भै सकेको तथ्यांक आइ सकेको छ ।

नेपालमा पनि हाल सम्म ९ जना संक्रमित भएको पुष्टि भएको छ ती मध्ये ८ जना आयातित र एक जना स्थानीय संक्रमण भएको छ ।

अब स्थानीय संक्रमण भै सके पछि सराकारले लक डाउन मात्र नभई विश्व स्वास्थ्य संगठनले ‘टेस्ट —टेस्ट —-टेस्ट !!  भन्ने सिफारिसलाई मनन गरी नेपाल भरी हरेक प्रदेशमा प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ  ।

परीक्षण सातै प्रदेशमा सुचारु भै सकेको छ । यसले धेरै भन्दा धेरै शंकास्पद कोभिड – १९ केसलाई परीक्षण गर्ने र  धेरै भन्दा धेरै कोभिड – १९ का बिरामी पत्ता लगाई उपचार तथा नियन्त्रणमा सहयोग गर्ने छ ।

नेपाल भरी कोभिड – १९ का बिरामीलाई उपचार गर्न विशेष अस्पताल बनाइएको छ ।  मुख्य शहरहरुका अस्पतालहरुमा आईसीयूको पहिचान गरिएको छ तर पर्याप्त चै देखिदैन ।

हरेक स्वास्थ्य संस्था तथा शंकास्पद कोभिड – १९ का बिरामीलाई उपचार गर्ने आइसोलेसन युनिटमा पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामाग्री सरकारले पुराउन सकेमा र त्यसको उचित प्रयोग गर्न पाएमा स्वास्थ्यकर्मीहरु उच्च मनोवलका साथ काम गर्न सक्थे ।

व्यक्तिगत सुरक्षा सामाग्री अप्रयाप्त हुँदा हुँदै पनि स्वास्थ्यकर्मीहरुले मितव्ययी भै बिरामीको उपचारमा कुनै कमी राखेका छैनन् ।  यस्तो अवस्थामा सम्बन्धित निकायले हतोत्साही नगराइ प्रोत्साहन गर्ने वातावरण मिलाएमा अझ स्वास्थ्यकर्मी हौसलाका साथ काम गर्न मरी मेट्थे तर पनि अधिकांश स्वास्थ्यकर्मी दत्तचित्त भै सेवामा लागि रहेका छन् ।

जनता जनार्दनमा मेरो अनुरोध के छ भने अनावश्यक रुपमा सूचना दुरप्रयोग नगरी दिनु होला किनकी तपाईलाई लागेको हल्का कुरा अरुलाई गम्भीर असर पनि पर्न सक्छ । सही सूचनालाई पनि विवेकपूर्ण ढंगले बाँड्न अनुरोध गर्दछु ।

उदाहरणको लागि गुल्मी अस्पतालले ५ जनाको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो तर समुदायमा ५ जना कोभिड – १९  का बिरामी देखिए रे तिनीहरुलाई हेलिकोप्टरले उद्धार गरी काठमाडौं लग्यो रे भन्ने विकृत सूचना फैलियो । यसरी सूचनाहरु विकृत गरी अनावश्यकरुपमा हल्ला फैलाउनु अपराध हो। यसले दिने मानसिक तनाव र त्यसले दैनिक काममा पारेका असरको लेखाजोखा कसले गर्ने र क्षतिपूर्ति कसले भर्ने ?

कोभिड – १९ रोकथाम गर्न के गर्न सकिन्छ ?

निम्न रणनीति इमान्दार पूर्वक पालना गर्न सकियो भने कोभिड – १९  को सक्रमणको चेन तोडी यसको महामारीको चाप बाट बच्न सकिन्छ :
१. लक डाउन :
– अन्तरदेशीय : नेपाल र भारतको सिमाना खुल्ला भएकोले यसलाई बेलैमा दुवै सरकारले शुरु गरेका छन् यसले गर्दा आयातित केसहरु घट्छन र समुदायमा संक्रमण फैलिन रोकिन्छ ।
– आन्तरिक : यसले गर्दा आयातित तथा समुदायमा फैलिएको रोग एउटा ठाउ बाट अर्को ठाउमा फैलिन रोकिन्छ । यो पनि नेपाल सरकारले लागू गरेको छ ।
२. क्वारिन्टीन: विदेशबाट आएका नागरीकलाई जसको लक्षण छैन अनिवार्य रुपमा क्वारिन्टीन होम व्यवस्था गरी १४ दिन त्यही राख्नु पर्छ र अझ थप ७ दिन होम क्वारिन्टीनमा बसेमा अझ राम्रो हुन्छ ।

३. आइसोलेसन: कोभिड – १९ का लक्षण देखिएमा तुरन्तै आइसोलेसन होममा राखी उपचार गर्नु पर्छ ।

४. टेस्ट: आइसोलेसनमा राखिएका बिरामीको लागि नाक र मुखबाट नमुना संकलन गरी कोभिड – १९ को निदानको लागि RT-PCR ( जुन भाइरस पत्ता लगाउने उच्चतम प्रबिधि हो) गर्न सम्बन्धित प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशालामा पठाउनु पर्छ ।

५. कन्ट्याक्ट ट्रेसिंग तथा टेस्ट : यदि RT-PCR पोजिटिभ आएमा बिरामीको थप उपचार गर्ने र ऊसंग संसर्गमा आएका परिवारका सदस्य, साथीहरु तथा छिमेकीको Rapid diagnostic test ( द्रुत टेस्ट ) समुदायमा गर्ने र पोजिटिभ आएकालाई RT-PCR को लागि नमुना संकलन गर्ने र क्वारिन्टीनमा बस्न लगाउने र नेगेटिभ आएकालाई पनि क्वारिन्टीनमा रहन लगाउने ।

६. उपचार : सरकारको रणनीति अनुसार हरेक स्वास्थ्य संस्थामा ज्वरो क्लिनिक संचालन गर्ने र हरेक कोभिड – १९ का विरामीलाई तथा शंकास्पद कोभिड – १९ का बिरामीलाई छुट्टाछुट्टै क्याबिनमा उपचार गर्ने र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामाग्रीको उचित प्रयोग गरी बिरामीको उपचार गर्ने 

७. जना चेतना : सरकारले सबै भन्दा राम्रो जनचेतना नेपाल टेलिकमको CRBT मा कोभिड – १९ सम्बन्धी सूचना प्रवाह गरेको देखिएको छ । यो जस्तै रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा समुदायमा माइकिंग गरी कोभिड – १९ सम्बन्धी सूचना प्रवाह गर्दा मानिसहरु सामाजिक भेला नगर्ने, एक मिटर भन्दा बढी भौतिक दूरी राख्ने, साबुन पानीले हात धुने, ह्याण्ड स्यनिटाइजरको प्रयोग, मास्कको प्रयोग गर्ने देखिएको र जसले गर्दा संक्रमण को चेन तोड्न मद्दत पुर्याउछ र एक देखि अर्कोमा यो रोग सर्दैन ।

माथिका रणनीतिहरु अपनाउदा COVID-19 का बिरामी घट्छन भन्ने ग्यारेन्टी चै होइन तर थोरै समयमा धेरै अत्यन्तै धेरै थाम्नै नसकिने गरी COVID-19 का बिरामी नहुनको लागि प्रवेग घटाउने हो र हाम्रा रोकथाम संयन्त्रहरुले पर्याप्त समय प्राप्त गरी COVID-19 को महामारीको शक्तिलाई घटाई त्यसको सजिलै रोकथाम गर्न सकिने हो ।

उपचारको उपाय केही छ त ?
अहिलेसम्म ठोस उपचार केही छैन सिर्फ लाक्षणिक उपचार मात्र हो । जटिल अवस्था आए सघन कक्षमा भर्ना गरी उपचार गर्नु हो । विभिन्न देशले यसको रोकथामको लागि खोप बारे रिसर्च गरिरहेका छन् र २०२१ सम्म खोप आउने सम्भावना देखिन्छ। केही औषधीको प्रयोग भै रहेको छ तर ठोस प्रामाणिक रुपमा ती औषधी हरुको उपदायता बारे निर्क्यौल वैज्ञानिकहरुले निकाली सकेको अवस्था छैन । तथ्य आंकलन गरेर हेर्दा जुन देशमा BCG खोप लगाउन छोडिएको छ त्यहा एक महिना भित्र नै कोभिड – १९ को बिरामी हरु ह्वात्त बढेको देखिन्छ तर दक्षिण एसियाली मुलुकमा जहाँ BCG खोप नियमित रुपमा लगाइएको छ त्यहा कोभिड – १९ का बिरामीहरु २ महिना बित्दा पनि ह्वात्त बढेको देखिदैन ।BCG खोपको कोभिड – १९ विरुद्ध प्रतिरक्षा गर्छ कि गर्दैन भन्ने रिसर्च पनि भैरहेको छ ।

कोभिड – १९  रोग लाग्न बित्तिकै मरी नै हाल्ने हो त ?
कोभिड – १९ रोग लाग्दैमा मान्छे तुरुन्त मरी हाल्ने पनि होइन बरु टिबीले नेपालमा हरेक दिन २०-२२ जना मान्छे मरी रहेका छन् यसलाई चै हामीले सहजै स्वीकार गरेका छौ । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सन को अध्ययन अनुसार ४४ हजार ५००  कोभिड – १९ का बिरामीमा ८१ % लाई साधारण निमोनिया देखिएको थियो, १४% लाई मध्यम खालको निमोनिया देखिएको थियो र बाँकी ५% मा मात्र जटिल खालका देखिए जसलाई मात्र सघन कक्षमा उपचार गर्नु परेको थियो र यो रोग लागेका व्यक्तिमा जम्म्मा २.३% मात्र मृत्यु देखिएको छ ।

यसरी तथ्यांक हेर्दा त ८१% सामान्य नै हुँदा रहेछन् जसमा कसैको पनि मृत्यु भएको थिएन । त्यसैले ज्वरो आउने बित्तिकै लौ कोभिड – १९ रोग हो अब यसले सार्ने भो र मरी पो हाल्ने हो की भन्ने त्रास स्वास्थ्यकर्मी तथा जनमानसबाट हटाउनु अत्यावश्यक देखिन्छ ।

कोभिड – १९ रोग लाग्न बित्तिकै मर्ने होइन तर त्यसो हो भन्दैमा जथाभावी सामाजिक भेला गर्ने, शंकास्पद बिरामीको व्यक्तिगत सुरक्षा सामाग्री उचित प्रयोग नगरी उपचार गर्ने भन्ने पनि होइन ।  यस राष्ट्रिय संकटको बेला कोभिड – १९ को संक्रमण रोक्न संयम भएर नागरीकले पनि सरकारले लागू गरेका नीति नियम पालना गर्ने र यो समस्या स्वास्थ्यको मात्र नभई सबैको हो भनी सर्बपक्षबाट सहयोग हुनु जरूरी छ र भएमा यो संकटबाट पार लाग्न गाह्रो छैन ।

थप समाचार


Facebook Comment