दाँत एवं मुखको सरसफाई कसरी गर्ने ?

डा. प्रकाश बुढाथोकी – बरिष्ठ कन्सल्टेन्ट डेण्टल सर्जन

खाना खानु अघि र पछि हात मुख धुनु जत्ति अनिवार्य छ, खाना खाईसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उत्तिनै अनिवार्य छ । त्यसैले ब्रस गर्नु पर्दछ ।

हरेक व्यक्तिले राती सुत्नुअघि ब्रस गरौँ र बिहान उठ्नासाथ कुल्ला गरी खाना वा नास्ता खाएपछि ब्रस गरी बाहिर निक्लने बानी बसालौँ ।

त्यसैगरी दुईवटा दाँचको बीचमा रहेको फोहर निकाल्न डेण्टल फ्लस प्रयोग गरौँ । रातीको ब्रस गर्नभन्दा पहिले कम्तीमा एकपटक डेण्टल फ्लस प्रयोग गरौँ ।

खानेकुरामा नियन्त्रण
टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थ दाँतका लागि लाभदायी हुँदैनन् । यस्तै सुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग नगरौं ।

भिटामिन बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अकुराउँदै गरेका अन्नबाली, मूला, गाजर, बन्दागोबी, सकरखण्ड जस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गरौं । रेशादार, ताजा फलफुल, दुध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्नुपर्दछ ।

नियमित रूपमा दन्त परीक्षण
दाँत दुख्न गिजाबाट रगत आउनु मात्रै दाँतको समस्या होइन ।

दाँत नदुखेको र गिजाबाट रगत नआएको बखत पनि दन्त समस्या हुन सक्छ ।त्यसकारण प्रत्यक्ष ६–६ महिनामा दन्त परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ र दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण संभव हुन्छ ।

बालक जन्मेदेखी दन्त परीक्षण गराउन शुरु गर्नु पर्दछ र त्यस पछि नियमित रुपमा दन्त परीक्षण गराउने बानी बसाल्नु पर्दछ । के शिक्षित के अशिक्षित, के शिक्षक के बिद्यार्थी, के गरिव के धनी सबै वर्गमा नियमित दन्त परीक्षणको अनुभव देखिंदैन ।

१४४० मिनेटमध्ये ८ मिनेट दाँतलाई दिउँ

एक दिनमा १४४० मिनेट हुन्छ । त्यसमध्ये विहान खाना खाइसकेपछि ४ मिनेट र बेलुका सुत्नु अगाडि ४ मिनेट गरी ८ मिनेट मुखको सरसफाईमा दिन सक्यौं भने करिब ९० प्रतिशत मुखका रोगहरुबाट मुक्त हुन सकिन्छ ।

यदि रोग लागिसकेमा उपचार गराउँदा विज्ञापनको पछि मात्र नदौडी उपचार गर्न चिकित्सक, सेवाप्रदायक सही भए नभएको, प्रयोग हुने वा गरिने सामान, उपकरण र पदार्थहरु पूर्ण निर्मलीकरण र शुद्धिकरण भए नभएकोमा राम्रोसँग ध्यान दिनुका साथै सोधपुछ पनि गर्नु पर्दछ ।

अन्यथा रोगको उपचार गर्न अस्पताल वा चिकित्सक कहाँ गएकोमा फर्कदा अपरिवर्तित नोक्सान, जटिलता, थुप्रै हेपाटाइटिस एचआइभी जस्ता सरुवा, संक्रामक र भयानक रोगहरु बोकेर घर फर्किन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *