दीगो विकास लक्ष्य हासिल गर्न सबैको सहभागिता आवश्यक
काठमाडौँ, १७ फागुन । दीगो विकास लक्ष्य हासिल गर्न सर्बपक्षीय संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को आयोजनामा शुक्रवार भएको दीगो विकास लक्ष्यसम्वन्धि चौंथो राष्ट्रिय परामर्श गोष्ठीमा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले दीगो विकास लक्ष्य पूरा गर्नु नेपालको समग्र विकासको लागि पनि आवश्यक रहेको भन्दै यसको लागि राजनीतिक एवं प्रशासनिक प्रतिबद्धता, स्थानीय तहसम्मको साझा रणनीति निर्माण र कुशल नेतृत्व आवश्यक रहेको बताइन । उनले दीगो विकास लक्ष्य हासिल गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय स्तरमा सवै पक्ष समेटिने गरी समिति निर्माण गरिएको पनि उनले जानकारी दिइन ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दीगो विकास लक्ष्य हासिल गर्न सर्वपक्षीय सम्लग्नता हुनुपर्ने बताए । जनतालाई स्वास्थ्यको पहुँचमा पुग्नका लागि स्वास्थ्य वीमा कार्यक्रममा प्रभावकारी रुपमा अघि बढाउनुपर्ने औल्याए ।
विश्व स्वास्थ्य संगठनका जनस्वास्थ्य प्रशासक डा.मोहम्मद खुर्सिद अलाम हैदरले नेपालमा स्वास्थ्य सम्वन्धी दीगो विकास लक्ष्य हासिल गर्नका लागि प्राथमिक स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्नुपर्ने, तीनओटै सरकारका अंगहरुको क्षमता र सहकार्य वृद्धि गर्नुपर्नेमा जोड दिए ।
अन्तराष्ट्रिय गैर सरकारी महासंघका रामनरेश यादवले अहिले पनि केन्द्र, प्रदेश र स्थानीय तहमा जाँदा नीतिगत रुपमा समस्या रहेको बताए ।
जनताको स्वास्थ्य अभियन्ता प्रा.डा.शरद वन्तले कुनै पनि तवरबाट गरिब तथा निमुखा परेका लगायतका जनताको स्वास्थ्य अधिकार रक्षा हुनुपर्ने र समानता एवम् सामाजिक न्यायको सिद्धान्तको आधारमा दीगो विकास लक्ष्य चल्नुपर्ने स्पष्ट पारे ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामाले दीगो विकास लक्ष्यका सवै सूचकहरुको स्थिति कस्तो छ भनेर अध्ययन हुनुपर्नेमा जोड दिए ।
एसडीजी नेशनल नेटवर्कका दयासागर श्रेष्ठले स्वास्थ्यका कारण नेपाली जनता गरिब हुँदै गइरहेको र दीगो विकास लक्ष्यका सवै लक्ष्यहरुमा स्वास्थ्य प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाहित हुने बताए । वातावरण, सडक सुरक्षा, खानेपानी र सरसफाइमा नेपाल झन झन पछाडि पर्दै गएकोमा पनि उनले दुःख प्रकट गरे ।
रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले गैरसरकारी संस्थाहरुको दायित्व र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको जिम्मेवारी तथा कर्तव्यबोध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
सरकारले तयार पारेको दीगो विकास लक्ष्य अनुसार २५ वर्षपछि नेपालीको प्रतिव्यक्ति आम्दानी १२ हजार डलर पुग्नेछ । यसका लागि पहिलो ५ वर्ष आधार निर्माण गर्ने र त्यसपछिको १० वर्षमा देखिने गरी परिवर्तन गर्ने योजना रहेको छ ।
सन् २०३० सम्ममा स्वास्थ्यसम्वन्धि दीगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई १ खर्ब ३४ अर्ब रुपैयाँ आवश्यक पर्ने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]