चीनबाट ल्याइने १८५ जना नेपालीलाई यसरी राखिदैँछ क्वारेन्टाइनमा

चीनबाट ल्याइने नेपालीलाई राख्न खरिपाटीस्थित क्वारेन्टाइनमा तयार गरिएको कोठा : रमेश गिरी

काठमाडौँ, ३ फागुन । कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुवेई प्रान्तमा रहेका १८५ नेपाललाई उद्धार गर्न सरकारले नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी विमान आज त्यसतर्फ पठाउँदैछ ।

विमान अपराह्न ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्ने तालिका छ । चीनको स्थानीय समय अनुसार साँझ ६ : ४५ मा विमान वुहान पुग्ने छ  । अहिलेको तालिकामा वुहान पुगेको २ घण्टामा नै विमान काठमाडौँका लागि उड्ने छ । नेपाली समयअनुसार आइतबार बिहान २ १५ मा काठमाडौँ अवतरण गर्ने बताइए पनि फकर्ने तालिका केही तलमाथि हुने नागरिक उड्यनन प्राधिकरण स्रोतले बताएको छ ।

बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको छ । ‘हुबेई प्रान्तका विभिन्न ठाउँबाट पाँचवटा बसमा हाम्रा नागरिक शनिबार साँझसम्म वुहान पुर्‍याउँदै छौँ र वुहानमा रहेकालाई पनि सामेल गरेर स्वदेश फर्काउँछौँ,’ दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले भने । उनका अनुसार चीन सरकारले नेपाली जहाज वुहान जान र फर्किन अनुमति दिइसकेको पनि उनले बताए ।

चीन जाने नेपाली सेनाका चार जना स्वास्थ्यकर्मी
हुवेई जान लागेको चार्टर विमानमा नेपालबाट १७ जनाको टोली रहनेछन् । टोलीमा ४ जना स्वास्थ्यकर्मी, ३ पाइलट, ७ जना क्रु मेम्बर, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहनेछन्।

विमानमा जाने चारै जना स्वास्थ्यकर्मी नेपाली सेनाका हुन् । त्यसमा चिकित्सक, नर्स, प्यारामेडिक्स सहितको टोली रहेका छन् । पाइलट देखि स्वास्थ्यकर्मी सबैले पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई)को प्रयोग गर्नेछन् ।

विमानमा जाने सबै १७ जनाको टोलीले आवश्यक तालिम पाइसकेका छन् । तालिमको नेतृत्व इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा हेमन्त ओझाले दिएका छन् ।

वुहानदेखि काठमाडौंसम्मको उडान अवधि करीब ५ घण्टाको हुनेछ । मा चालक दलका सदस्य र स्वास्थ्यकर्मीले दिएको निर्देशन, सल्लाह र सुझाबको पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । जहाजभित्र ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा अप्ठ्यारो हुने भए जहाज दलका सदस्य वा स्वास्थ्य टोली सदस्यलाई जानकारी गराउन भनेको छ । शंकास्पद व्यक्तिलाई स्वास्थ्यकर्मीले विमानको तोकिएको अन्तिम सिट (आइसोलेसनमा) सार्नेछन् । जहाज दलका सदस्य तथा स्वास्थ्य टोली सदस्यले नियमित रूपमा अनुगमन तथा निरीक्षण गरिरहनेछन् ।

विमानस्थलमा पाँचवटा हेल्थ डेस्क
चीनबाट ल्याइने नागरिकको स्वास्थ्य जाँचका लागि विमानस्थलनमा पाँचवटा हेल्थ डेस्क स्थापना गरिएको छ । त्यहाँ स्वास्थ्यकर्मीले प्रारम्भिक परीक्षण गरेपछि खरीपाटी तर्फ लगिनेछ । सामान्य स्वास्थ्य समस्या भएको लक्षण देखिएमा उनीहरुलाई सिधै टेकु अस्पताल लगिनेछ ।

उद्धारका लागि पाँचवटा बस, पाँचवटा एम्बुलेन्स
चीनबाट ल्याइने नागरिकलाई खरीपाटीस्थित क्वारेन्टाइनसम्म लैजान पाँचवटा बस र पाँचवटा एम्बुलेन्स प्रयोग गरिन्छ । चीन गएका स्वास्थ्यकर्मीहरु खरीपाटीमा पनि उनीहरुको हेरचाहमा खटिनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा बताएको छ । त्यसको जानकारी अभिभावकलाई गराइसकेको छ । मन्त्रालयका सहप्रवक्ता सागर दाहालले स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइनको बसाइलाई सकेसम्म सहज, व्यवस्थित र स्वस्थ बनाउन सक्दो प्रयास गरिएको बताए ।

क्वारेन्टाइनमा कसरी राखिदैँछ ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारीका अनुसार चीनबाट ल्याइने १८५ विद्यार्थीमध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा र श्रीमान्, श्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थापन गरिएको छ, चिकित्सकको टोली अर्को ब्लकमा राखिने छ, विमान चालक, सहचालक र परिचारिकालाई चाँगुनारायण नगरपालिका–६ नगरकोटको खानेपानी तालीम केन्द्रको भवनमा बनाइएको ब्लकमा राख्ने व्यवस्था गरेका छौँ ।”

सचिव विडारीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै क्वारेन्टाइन बनाइएको बताउँदै एउटा कोठामा एक मिटरको दूरीमा रहने गरी तीनवटा श्यया राखिएको, कूल चारवटा ब्लकमा १९९ वटा श्यया तयार पारेको, एक व्यक्तिका लागि दैनिक जीवनमा चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको जानकारी दिए ।

यहाँ नेपाली सेनाको एक चिकित्सक र एक नर्सको टोलीले सुरक्षा कवचका रुपमा रहेको अन्तर्राष्ट्रिय मापदण्डकै गाउन लगाएर पूर्ण सुरक्षित रुपमा बस्ने, यहाँभित्र खानेपानी, शौचालय, खानेकुरा, नुहाउने सबै व्यवस्थापन गरी शौचालयको सेफ्टी ट्याङ्कीसमेत नयाँ बनाएर व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *