अस्पतालको क्यान्टिनमा कफी पिउन जाँदा….

- नेपाली हेल्थ

– डा. प्रेणित पोखरेल

केही दिन अघि  एक जना बिरामी आफन्त लिएर काठमाडौंको नाम चलेको अस्पताल गएको थिएँ । ओपिडी टिकट काटेर पर्खाइमा थिएँ ।

बिशेषज्ञ डाक्टर राउन्डमा जानुभएको र राउन्ड सकिए पछी मात्र ओपिडी सुरु हुने कुरा ओपिडी बाहिर बस्ने दिदीले बताउनु भयो

त्यसपछि आफन्तलाई त्यहीँ बाहिरको कुर्सीमा छाडेर चियाको तलतल मेट्न म अस्पतालको क्यानटिन हानिएँ ।

……………………………………………………..

आफु पनि अर्को अस्पतालको कर्मचारी भएकोले त्यो इगोलाई शान्त पार्न पनि म अरु अस्पतालको क्यानटिन जाँदा प्राय कर्मचारी चिकित्सकका लागि छुट्याइएको स्थानमा बस्न रुचाउँछु । त्यसको दुइटा फाईदा हुन्छन् ।  एक, त्यहाँ कार्यरत कर्मचारीको व्यवहार अली नरम हुन्छ, दोस्रो चिनेका साथीभाई भेटिने सम्भावना रहन्छ ।

कालो कफी मगाइ म टेबलमा बसेँ । मेरो छेउको दुइटा टेबल जोडेर एप्रोन लगाएका ठूलै समूह मेरो उपस्तिथिलाई बेवास्ता गर्दै आफ्नै गफमा मस्त थिए । राउन्ड सकिएर आएका कुनै बिभागको युनिट हो त्यो भन्ने बुझ्न मलाई कठिन भएन । आफू रेसिडेन्सीमा रहेर काम गर्दाका दिन याद भयो, आहा ती दिन ….. एक्कासी नोस्टालजिक भएँ ।
……………………………………………………..

“अनी डाक्टरसाप नेपाल चिकित्सक संघको निर्वाचन आयो त, के छ माहोल ?” समुहमा रहेका अली अग्रज चिकित्सक (जसको अगाडि खुइलिएको तालुले चिकित्सा पेशामा बिताएका बर्ष र गरेका त्याग प्रस्ट झल्किन्थ्यो )ले भर्खरका युवा चिकित्सकलाई सोधे ।

यो संवादले मेरो एकाग्रता भंग गरिदियो । मलाई कौतुहलता जाग्यो कान ठाडो पारें ।

आफ्नो समुहमा मस्त त्यहाँ कसैलाई मेरो उपस्थितीबारे केही चासो थिएन ।

शायद ति त्यो समुहका सबैभन्दा जुनियर डाक्टर थिए होलान, आफ्ना अग्रजहरुको अगाडि खुल्न अली आँट गरेनन् । ऊनी फिसिक्क हाँसे मात्र ।

‘सर यसपाली निर्वाचन बडो पेचिलो होला जस्तो छ । स्थापना कालदेखि आजसम्म सधैं चिकित्सक संघको नेतृत्व कब्जा गरेर बसेका समुहमा बेचनी र छटपटि देखिएको छ । उम्मेद्वार चएनको विषयमा पनि निकै माथापिची भएको कुरा बहिर आएको थियो । आ ….कति एउटै समुहलाई सधैं जिताइरहनु यसपटक अरुलाई जिताएर हेरौं न….! हुने त खासै धेरै केही होइन तर एकाधको घमन्ड र महत्वकाङ्छ्याले नराम्रो चोट पाउथ्यो नि,’ ती बरिष्ठ चिकित्सक नजिकै बसेका सिनियर नै देखिने अर्का चस्मावाल चिकित्सकले  हातमा लिएको समोसा टोक्दै आफ्नो कुरा राखे ।  पदीय  मान्यतालाई ख्याल राख्दै हो कि साँच्चै चित्त बुझेर हो अरु सबैले टाउको हल्लाए ।

मधेश समुदाएका एक चिकित्सक तिर फर्कदै फेरी ति बरिष्ठ चिकित्सकले आफ्नो राय मागे ,  “सर हाम्रो त ज्वाँई नै अध्यक्षमा उठ्नुभएको छ (पछी थाहा भयो अध्यक्षमा उम्मेद्वारलाई मधेसी चेली विवाह गरेकोले मधेसको ज्वाँई भनिएको रहेछ ) फेरी पुराना सबैलाई यता र उता पद वाडफाड गर्दा महासचिवका आकांछीलाई मात्र पद दिइएन, समावेसी समुहमा साँच्चैनै समावेसी प्रतिनिधित्व छ ।

महिला चिकित्सकहरु पनि समुहमा थिए । उनीहरुको धारणा सुन्न ति वरिष्ठ चिकित्सक भन्दा आतुरी मलाई थियो ।

मेरो मनको कुरा  बुझे जस्तै गरी बुढाले महिला चिकित्सकलाई सोधिहाले ।  ‘खासै निर्वाचनसँग त्यती सरोकार छैन सर, जो आए पनि आफ्नो दुस्ख आँफैसँग हो । निर्वाचन अगाडि यो गर्छु र त्यो गर्छु भन्नेहरु निर्वाचन पछी कता हराउँछन् हजारउँछन् । हिजो देखिको सत्यता त्यही हो । तर पनि कुनै महिलालाई बरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार दिइनु सकारात्मक सन्देश हो । यसले भविश्यमा महिलाहरुलाई नेतृत्वका लागि अगाडि आउन प्रेरणा दिने छ । अवसर पाए नेपालका महिला चिकित्सक पनि नेतृत्व गर्न पछी पर्दैनन् भन्ने यो एउटा कोशेढुङ्गा हुनेछ,’ हँसिलो अनुहारमा गम्भिर भाव झल्काएर ति महिला चिकित्सकले ‘हट लेमोन’को चुस्की लिँदै आफ्नो भनाइ राखिन् ।

‘फेरी पटक पटक हारेपनी निर्वाचन लड्न हिम्मत चाहिन्छ नि सर,  जित्ने त पद र शक्तिको मोहले उठे होलान् तर हार्ने किन उठिरहेका छन् ? अवश्य पनि पेशा र पेशाकर्मीको हित गर्छु भन्ने लागे र त होला नि होइन र ?’ अर्की महिला चिकित्सकले हातमा मोबाईल स्क्रोल गर्दै वेफिक्र भएर भनाइ राखिन् ।

‘परिवर्तनको राग सामाजिक सन्जालमा अलाप्न सजिलो छ सर,  लोकसेवामा एघारौं तहको परीक्षा दिने तयारीमा थिएँ, चलिरहेको परिपाटि रोकियो, किन एघारौं तह खुल्लामा नदिने भनेर प्रश्न गरें, आठौँ, नवौँबाट आउनुहोस्, एघारौंबाट आउँदा मन्त्रालय अनिर्णयको बन्दी भयो, सरकारी कामकाज तौर तरिका नबूजेका आएर पर्फर्मेन्समा असर गर्‍यो भनियो । साह्रै चित्त दुखेको थियो उ वेला । प्रतिस्पर्धासँग किन डराउने होइन र सर ? एघारौं तह रोकिदा लोकसेवाका आठौँ नवौ तहकालाई पनि त घाटा लाग्यो नि । गैरसरकारी चिकित्सकहरु जो यस देशका असी प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्छन उनिहरुको बृत्ति विकास रोकेर नेतृत्व गर्छु भन्ने कसले कसरी सबैलाई समेट्ला र ?’ जुगाले माथिको ओठ ढाकेको, भावमा स्पस्ट र विचारमा दृढ ति चिकित्सकले बोलिरहँदा कता कता मलाई पनि मन छोइरहेको थियो ।

‘लामो कपाल भएका एकजना चिकित्सकले थपिहाले वडो मज्जाको गीत गाउने, स्वरका धनी फिजिसियन कलाकार पनि पो उम्मेद्वार हुनुहुँदो रहेछ । सबै साथीहरु त जसरी पनि जिताउने भन्दैछन सर,’ हौसिएर ति चिकित्सकले भनिरहदा आफ्ना कलेजका प्यारा वाद्यवाधक भाईहरुको याद आयो ।

अघी फिसिक्क हाँसेका भाई शायद धेरै जनाले बोलिसकेपछि आत्मवल बढेर होला बोल्न थाले, “ सर चुनावमा युवा युवा भनेर सबैले राग अलापिरहेका छन् युवा चिकित्सक मत दिने भाडा मात्र हुन भन्ने धेरैलाई लागेको छ, खेतवारीमा चरा चुरूङीले वाली नचोरोस भनेर ठड्याउने वुख्याचाझैं केही युवा विना विवेक यता र उताको गफ गरेर सामाजिक सन्जालमा मजाकको पात्र बनिरहेछन । वाली भित्रायपछी पछी वुख्याचाको हविगत के हुन्छ थाहा छ सर ? वुख्याचालाई त्यही बारीमा जलाउछन किसानले ताकी बारीलाई मल प्रदान होस्। यो निर्वाचन पछी केहि साथीहरुको निएती त्यही हुनेछ । हामी युवा नबुझेको झै गर्छौ तर सबै बुझेका छौं सर,’ पैसा र प्रलोभनमा  भएको जनाउन बोल्न थाले ।

‘हेर्नुस् म पेशामा लागेको दशकौं भयो  । यस्तो निर्वाचन धेरै आए, पहिला एती सार्हो प्रतिस्पर्धा थिएन । चिकित्सक भएर राजनीतिको कुरो गर्नु हुन्न भनेर म कहिले यता तिर आकर्शित भइन । तर कालान्तरमा के अनुभव भयो भने हामी पेशाकर्मी तर हाम्रो पेशा सम्बन्धी कुनै कानुन बन्न परे कुनै निती बन्न परे त्यो त राजनीतिबाट आएका हरुले नै बनाउने हुन् । हाम्रो पेशालाई सूहाउदो नीति र नियम बने हामी पेशाकर्मीहरुलाई काम गर्ने वातावरन शहज हुन्थ्यो । पेशागत सुरक्षा, रोजगारीको ग्यारेन्टी र सम्मानजनक तलब पाउनको लागि वारम्वार लडिरहन पर्दैन थियो । युवा जोश र तातो रगतको वेला लाग्छ संसार म आँफै बदलीदिन्छु तर उमेर पाको हुँदै गएपछी आत्मभुती हुने रहेछ संसार बदल्न अघी आफ्ना सोच र आफुले लिएको कदमको बाटो कस्तो छ ? नीतिगत तहमा पहुच नभै, नीति बनाउनेहरुसँग कुममा कुम मिलाएर आफ्नो माग राख्ने हैसियत नभएको नेतृत्व हामीले पठायौँ भने फेरी पनि परिणाम सुन्य रहने छ । बिदेशबाट पढेर आउनु भएका चिकित्सकको आफ्नै समस्या छन् । निजी मेडिकल र डेन्टल कलेजमा काम गर्ने चिकित्सकहरुको समस्या झन् कति छन् कति ? कमसेकम ति समस्याहरु बुझ्ने र सम्वन्धित निकायमा लगेर बुझाउन सक्ने नेतृत्व आज चाहिएको होइन र ?’

कक्षा कोठामा विद्यार्थीलाई पढाउदा पढाउदा अभ्यस्त भएका ति वरिष्ठ चिकित्सक धाराप्रवाहका साथ बोल्दै थिए । ‘हेर्नुहोस कती गार्हो छ चिकित्सा सेवा प्रदान गर्न, जिन्दगीभर गुणस्तर सेवा प्रदान गरिरहनुभएका हाम्रै अग्रजहरु जो सधैं राजनीतिबाट टाढा छु भन्दै यस्ता निर्वाचनहरुबाट भाग्नुभयो आज केही उछ्रीङ्खल तत्वहरुबाट सताइनूभयो,  अस्पतालहरु तोडफोड भयो,  चिकित्सकको मनोबल गिरेको कुनै नेतृत्व, कुनै सरोकारवालालाई महत्व भएन । काठमाडौंमा अस्पताल तोडफोड हुँदा बबरमहल सिडियो कार्यालयसम्म जान नसक्ने पुरानो नेतृत्व आज कुन मुख लिएर पेशागत सुरक्षाको कुरा गर्दैछन् ?कुन अठोटका साथ् हामीलाई जिताए हामी सम्पूर्ण चिकित्सकको सुरक्षाको प्रत्याभुती लिन्छौँ भन्दैछन् ? त्यसैले हामीले विचार नगर्ने हो भने फेरी थाङ्नामा सुताउनेछन्,’ उनले आफ्नो तर्क प्रस्तुत गर्दै थिए ।

यत्तिकैमा मोबाईल बिप गर्न थाल्यो,  मैले कतिखेर कफि सकेछु पत्तै भएन । त्यो समुहको वार्तालाप अझ सुनिरहन मन थियो तर फोन मेरै बिरामी आफन्तको रहेछ ।

‘हेल्लो ……………..’ भन्दै मोबाईल उठाएँ ।

‘बाबु ओपिडीमा डाक्टर साप आउनु भयो झट्ट आउन परो ……………..’ उताबाट आवाज आयो ।

कफीको पैसा तिरेर म ओपिडी हान्निए ।

चिकित्सकको समूह भने अझै पनि चुनावी गफमै मस्त थियो ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *