एन्टिबायोटिक प्रतिरोधः गम्भिर जनस्वास्थ्य चूनौती

  • बसुन्धरा शर्मा ,बरिष्ठ जनस्वास्थ्य अधिकृत

गाँउघर तिर होस् वा शहरमा, सामान्य रुघा खोकी लागेर कुनै औषधी पसलमा गयौं भने अधिकांस औषधी पसलहरुले एन्टिबायोटिक सहित अन्य धेरै औषधी भिराएर पठाउने गरेको हामीले देखेका र भोगेका छौं । आखिर किन यस्तो ?

सन् २०१५ मा विश्व स्वास्थ्य महासभाले विश्व भरी नै गम्भिर जनस्वास्थ्य चूनौतीको रुपमा बढ्दै गरकोे Antimicrobial Resistance सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वव्यापी कार्य योजना Global Action Plan एबिल अनुमोदन गरेको थियो । त्यसैकारण सबै सदस्य राज्यहरुले प्रत्येक वर्षको नोभेम्बर महिनाको १८ तारिख देखि २४ तारिख सम्मलाई विश्व एन्टिबायोटिक जनचेतना सप्ताहको रुपमा मनाउदै आइरहेका छन् ।

एन्टिबायोटिकहरु महत्वपूर्ण र शक्तिशाली औषधी हुन् । चिकित्सक अर्थात दक्ष जनशक्तिको सल्लाह वेगर औषधी सेवन गर्ने, मानव तथा पशुपंछिहरुमा अत्यधिक औषधी प्रयोग गर्ने गराउने, औषधीको पूर्ण मात्रा वा पूरा अवधि नखाने, सरसफाइमा ध्यान नदिने, औषधी पसलहरुको प्रभावकारी अनुगमन तथा नियमन गर्न नसक्नु जस्ता कारणले विश्वमा दिन प्रति दिन Antimicrobial Resistance बढ्दै गइरहेको तथ्याँकले देखाएको छ जुन विश्वमा एक गम्भिर जनस्वास्थ्य चुनौतीको रुपमा देखा परेको अवस्था हो ।

पहिलो पटक

विश्व स्वास्थ्य संगठनको सन २०१८ को प्रतिवेदन अनुसार विश्व भरी करिव ५ लाख ५० हजार मानिसहरुमा औषधी प्रतिरोधी क्षयरोग भएको अनुमान गरेको छ साथै एच.आई.भि, मलेरिया लगायतका संक्रामक रोगहरुको उपचारमा समेत जटिलता थपेको छ ।

सन् १९२८ मा सर एलेकजेन्डर फ्लेमिङले पेनिसिलिन नामको पहिलो एन्टिबायोटिक पत्ता लगाएका थिए । यस्ता एन्टिबायोटिकको पत्ता लागे सँगै विध्यमान समयमा भइरहेको यसको अत्याधिक उपयोग वा दुरुपयोग, मानव वा पशुहरु, ले उपलब्ध एन्टिबायोटिकहरुले सहि काम गर्न नसकेको तथ्य वर्तमान जनस्वास्थ्य चुनौतीको रुपमा खडा भएको छ ।

ब्याक्टेरिया, भाइरस, ढुसी लगायतका सूक्ष्म किटाणुहरु साधारणतया हाम्रो वातावरणको वरिपरि तथा मानव र पशुहरुको शरिरको छाला वा भित्री भागहरुमा समेत पाइन्छन् । ती मध्ये केही ब्याक्टेरियाहरु मानव शरिरको लागि सहयोगी हुन्छन् भने अरु ब्याक्टेरिया, भाइरस, फंगस लगायतका सूक्ष्म किटाणुहरु हानिकारक हुन्छन् । ती नै हानिकारक किटाणुहरुले मानव तथा पशुहरुमा विभिन्न रोगहरु ल्याँउछन् । त्यो अवस्थामा उपचारका लागि अर्थात किटाणुहरु मार्न वा विकास हुन नदिनको लागि विभिन्न एन्टिबायोटिकहरु प्रयोग गरिन्छ । साधरण अर्थमा उपचारका लागि प्रयोग गरिएका औषधीहरुले प्रभावकारी रुपमा काम नगरेर रोग निको हुन नसकेकोे वा ढिलो हुनु अवस्था नै Antimicrobial Resistance  हो ।

एन्टिबायोटिकको प्रभावकारीता कायम राख्नको लागि चित्सिक वा दक्ष स्वास्थ्य कर्मीको सल्लाह बमोजिम मात्र एन्टिबायोटिकको प्रयोग गर्ने, आँफु खुशी एन्टिबायोटिक किनेर नखाने, एन्टिबायोटिकको पूरा मात्रा तथा पूरा अवधि खाने, औषधी पसले तथा विक्रेताहरुको प्रभावकारी अनुगमन तथा नियमन गर्ने, संक्रमण रोकथामको लागि खोप लगाउने, व्यक्तिगत तथा वातावरण सरसफाइमा ध्यान दिने लगायका उपायहरु अबलम्बन गनु पर्दछ ।

अन्त्यमा, राज्यका सरोकारवाला निकायहरुद्धारा जथाभावी किराना पसल जस्तै खोलिएका औषधी पसलहरुको प्रभावकारी नियमन अत्यावस्यक देखिन्छ । साथै बिरामी स्वयं, घर परिवार, समुदाय, चिकित्सक तथा स्वास्थ्य कर्मीहरु, नीति निर्माता तथा अनुसन्धान कर्ताहरु लगायतको उत्तरदायित्वबाट मात्र यस्तो अवस्थालाई सम्बोधन गर्न सकिने छ र यदि हामीलाई कुनै संक्रमण भै हाले पनि सजिलै निको हुने अवस्था प्राप्त हुनेछ ।

# बरिष्ठ जनस्वास्थ्य अधिकृत शर्मा राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुरमा कार्यरत छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *