के हो एक्कासी सुन्ने क्षमता हराउने रोग ? के कारणले यस्तो हुन्छ ?

डा.  विज्ञानराज ज्ञवाली 

 कान, नाक, तथा घाँटी रोग विशेषज्ञ

कान हाम्रो एउटा संवेदनशील अंङ्ग हो र यसले सुन्ने काम गर्छ । र यो दैनिक जीवनका लागि चाहिने एउटा अत्यावश्यक प्रणाली हो ।
सुनाईमा कमी आएमा हाम्रा अनेक दैनिक तथा पेशागत कामहरुमा नराम्रो प्रभाव पर्न सक्छ ।

कानको बाहिरी, मध्य वा भित्री भागमा समस्या भयो भने सुन्ने क्षमतामा कमी आउने गर्दछ । भित्री कानको समस्याले गर्दा हुने सुनाईको कमीलाई ‘सेनसरी न्युरल हियरिङ्ग लस’ भनिन्छ र यसकै एउटा प्रकार हो ‘सडन सेन्सोरी न्युरल हियरिङ्ग लस’ अर्थात एक्कासी सुन्ने क्षमता हराउनु ।

को हो सडन सेन्सोरी न्युरल हियरिङ्ग लस ?

एक्कासी कानको सुनाई जाने रोगलाई ‘सडन सेन्सोरी न्युरल हियरिङ्ग लस’ (SSNHL) भनिन्छ । बैज्ञानिक भाषामा यदी कुनै कानको सुनाई ७२ घण्टा भित्र कम भएको छ र सुनाईको जाँचमा सुनाई शक्ति ३० डेसीवेल वा त्यो भन्दा बढीले कम्तीमा तीन वटा ध्वनीको प्रिक्वेन्सीमा कम देखियो भने त्यसलाई (SSNHL) भनिन्छ । यो हाम्रो शरीरमा हुने हृदयघात, मस्तिष्कघात जस्तै एउटा आपतकालिन अवस्था हो । यसलाई समयमै उपचार नगरिए कानको सुन्ने क्षमता सधैका लागि प्रभावित हुन सक्छ ।

कस्तो व्यक्तिमा देखिन्छ यो रोग ?

यो रोग जुनै पनि उमेरमा देखिएता पनि प्रायःजसो ठूला मानिसमा नै देखिन्छ । महिला र पुरुष दुवैमा देखिने यो रोग जसलाई पनि हुन सक्छ ।

के कारणले हुन्छ यस्तो समस्या ?

बैज्ञानिक अध्ययनहरुले धेरै कारणले गर्दा यो रोग हुन सक्ने देखाएका छन् । तर प्राय जसो बिरामीहरुमा कुनै कारण भेटिदैन र यसलाई हामीले “ इडियोप्याथिक ” भन्ने गर्छौ । अन्य कारणहरु मा भाइरल इन्फेक्सन, अटो इम्युन, कानको नशाको ट्युमर, रगतको क्यान्सर, औषधी (ओटोटक्सिक मेडिकेसन), कानमा चोट पटक, उच्च रक्तचाप इत्यादी हुन सक्छन् ।

लक्षणहरुः

यदी कानको सुनाई पहिलेको अवस्थाभन्दा एक्कासी या २–३ दिनको अन्तरालमा कम हुन्छ भने त्यो SSNHL हुन सक्ने सम्भावना धेरै हुन्छ । प्राय जसो मानिसमा सुनाईमा कमी आउनुको साथै कान कराउने र रिङ्गटा लाग्ने सम्भावना पनि हुन्छ ।

यस्ता लक्षण देखिएमा के गर्ने ?

यदी तपाईलाई यी समस्याहरु देखिएका छन् भने तुरुन्तै कान, नाक तथा घाँटी रोग विशेषज्ञलाई देखाई आवश्यक जाँच गराउनु पर्दछ । हामीले यो रोग बिरमीको गुनासो र सुनाईको जाँचबाट पत्तालगाउने गर्दछौं ।यदी SSNHL देखिएमा रोगको कारणहरु पत्ता लगाउन अन्य जाँचहरु गराउनु पर्दछ र छिटो भन्दा छिटो चिकित्सा शुरु गर्नुपर्दछ ।

किन जरुरी छ अत्यावश्यक सेवा ?

विशेषत यो रोग जुनसुकै कारणले भएतापनि सुक्ष्म तहमा भित्रीकानको रक्त सञ्चालनमा कमी आएर हुने गर्दछ ।  बैज्ञानिक अध्ययनहरुले ७२ घण्टा भित्र चिकित्सा शुरु गरेमा, सुनाई पहिलेको अवस्थामा आउने वा धेरै मात्रामा सुधार हुने देखिएका छन । चिकित्सामा ढिलो गर्नाले सुनाईमा सुधार आउने सम्भावना पनि घट्दै जान्छ ।

समयमा उचित चिकित्सा गरे के सुनाई सामान्य हुन्छ ?

कुन बिरामीको उपचारको परिणाम कस्तो हुन्छ भन्ने कुरा हामीले १०० प्रतिशत ठेक्का राखेर भन्न सक्दैनौ । तर हामी शुरुकै अवस्थामा केही प्यारामिटरहरु हेरेर सुनाईको परिणाम कस्तो हुन सक्छ भनेर अनुमान चाँहि लगाउन सक्छौं । जस्तै:  युवा अवस्थाको विरामीमा ,सुनाई धेरै कम नभएको बिरामीमा, चिकित्सा ७२ घण्टा भित्रनै शुरु गरेमा, रगतमा ESR को मात्रा कम भएमा, अन्य कुनै रोग जस्तै : थाइरोइडको समस्या,उच्च रक्तचाप, मधुमेह आदि  नभएमा सुनाईमा सुधार हुन सक्ने सम्भावना प्रवल हुन्छ ।

सुन्ने क्षमता पुरै गएमा औषधी बाहेक अरु के उपाय हुन्छन् ?

सुनाईमा सुधार नआए अन्य उपाय भनेको श्रवण यन्त्र हो । यदि सुनाई धेरैनै कम छ र श्रवण यन्त्रले पनि काम गरेन
भने कक्लियर इम्प्लान्ट गरेर सुनाईमा सुधार ल्याउन सकिन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *