निजी मेडिकल कलेजहरु अतिरिक्त शुल्क समायोजन गर्न तयार
काठमडौँ, ९ मंसिर । निजी मेडिकल कलेजहरु अतिरिक्त शुल्क समायोजन गर्न सहमत भएका छन् । उनीहरुले मंगलबार १२ बजे भित्र समायोजनको खाका पेश गर्ने र त्यसमा सहमति भएपछि समायोजनको कार्य अघि बढाउने बताएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा आज शिक्षा मन्त्रालयमा भएको छलफलमा कलेज सञ्चालकहरुले मंगलबार १२ बजेसम्म शुल्क समायोजन गर्ने खाका प्रस्तुत गर्ने र त्यसपछि समायोजनमा जाने बताएका छन् ।
आज भएको छलफलमा शिक्षा मन्त्री, शिक्षा सचिव सहित निजी मेडिकल कलेजका सञ्चालक र चिकित्सा शिक्षा आयोगका प्रतिनिधिको सहभागिता थियो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार निजी मेडिकल कलेजले अतिरिक्त शुल्क समयोजन गर्ने मोडालिटी तयार पार्ने छन् र त्यो शिक्षा मन्त्रालयमा बुझाउनेछन् ।
त्यसमा मन्त्रालयका प्रतिनिधि, कलेज सञ्चालक तथा आन्दोलनरत विद्यार्थीहरु बसेर छलफल पछि अतिरिक्त शुल्क समायोजन गर्ने तयारी छ ।
प्राडा गिरीले उजुरी परे पनि नपरे पनि बढी शुल्क लिएका सबै जसो मेडिकल कलेजले शुल्क समायोजन गर्नुपर्ने निर्णय भएको समेत बताए । ‘कतिपयले उजुरी परेकाहरुको मात्रै समायोजन हुने हो कि भन्ने पनि आएको छ । त्यसो होइन । सरकारले तोकेभन्दा एक रुपैयाँ पनि बढी तिर्नु हुँदैन । बढी तिरेकाहरुको शुल्क समायोजन हुनेछ,’ उनले भने ।
सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न दिएको १५ दिनको समय आजबाट सकिँदैछ।
मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरी सहित निजी मेडिकल कलेजका तर्फबाट चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने, नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा सुरेश कुमार कनोडिया, काठमाडौं मेडिकल कलेजबाट डा चन्दा कार्की, कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट डा नटराज प्रसाद, गण्डकी मेडिकल कलेजबाट खुमा अर्याल लगायतको सहभागिता थियो ।
सम्पर्क इमेल : [email protected]