चिकित्सा शिक्षा आयोग भन्छ, ‘विदेशी विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य’

काठमाडौँ, २२ कात्तिक । चिकित्सा शिक्षा आयोगले नेपालका मेडिकल कलेजमा अध्ययन् गर्न आउने विदेशी विद्यार्थीका लागि प्रवेश परीक्षा अनिवार्य भएको जनाएको छ । नेपाल मेडिकल काउन्सिलले यस सम्वन्धी व्यबस्था गतवर्ष नै ल्याए पनि कतिपय मेडिकल कलेजहरुमा यसको कार्यान्वयन भएको थिएन ।

आयोगका प्रवक्ता डा हरि लम्सालले विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था चिकित्सा शिक्षा ऐनमै व्यवस्था भएको हुनाले त्यसको अनिवार्य कार्यान्वयन गर्नु विश्वविद्यालय र मेडिकल कलेजको दायित्व भएको बताउँछन् । ऐनको दफा १६ को उपदफा २ मा स्पष्ट रुपमा प्रवेश परीक्षा दिनुपर्ने उल्लेख छ ।

डा लम्साल भन्छन्, ‘विगतमा कस्तो थियो भन्ने भन्दा पनि अब ऐन लागू भईसक्यो, त्यसैले यसको कार्यान्व्नय हुनुपर्छ । अब नेपालमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीले यहाँको प्रवेश परीक्षा पास गर्नुपर्छ र मेरिटको आधारमा मात्रै भर्ना हुन पाउँछ ।’

विदेशीका लागि सिट कति ?

सरकारले नेपालमा सञ्चालित स्वदेशी लगानीका कलेजमा कुल सिटको एक तिहाई अर्थात ३३ प्रतिशत र विदेशी लगानीमा सञ्चालित कलेजमा ५० प्रतिशत सम्म विदेशी विद्यार्थी भर्ना गर्न सकिने व्यवस्था गरेको छ ।

त्यसो त स्वदेशी लगानीका कलेजले १० प्रतिशत र विदेशी लगानीका कलेजले नेपाली विद्यार्थीका लागि २० प्रतिशत छात्रबृत्ति सिट छुट्याउनुपर्ने व्यवस्था गरेको छ ।

‘यो पनि ऐनमै भएको कुरा हो । यसको पनि पालना गर्नु अनिवार्य छ,’  प्रवक्ता डा लम्सालले भने ।

विदेशीका लागि सिट निर्धारण गर्ने व्यवस्था पहिले पनि थियो तर कतिपय कलेजहरुले कागजपत्र मिलाएर तोकिएभन्दा बढी विदेशी विद्यार्थी भर्ना लिदै आएका थिए । ‘आशा गरौँ अब यस्तो किर्ते काम रोकिनेछ,’डा लम्सालले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *