नेपाल र भारतका स्वास्थ्य अनुसन्धान परिषदबीच सहकार्य गर्न बाटो खुल्यो
काठमाडौँ, ७ कात्तिक । सरकारले स्वास्थ्यको विषयमा छिमेकी मुलुक भारतसंग मिलेर अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएनआरसी) लाई बाटो खोलि दिएको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एनएचआरसीलाई भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)संग मिलेर अनुसन्धान गर्न सक्ने गरी समझदारी पत्रमा हस्ताक्षर गर्न बाटो खोलिदिएको हो ।
बिहीबार मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अनुसन्धानको विषयमा सहकार्य गर्न समकक्षी मिलाई हस्ताक्षर गर्न स्वास्थ्य मन्त्रालयलाई स्वीकृति दिएको बताए ।
यता एनएचआरसीका अध्यक्ष डा. अञ्जनीकुमार झाले साध जोडिएको खुल्ला सिमानाका कारण नेपाल र भारतका सिमा क्षेत्रमा फैलिने सरुवा रोग विशेषगरी किटजन्य रोगहरुले समस्या पारिरहेको भन्दै यो सहकार्यले दुबै देशलाई फाइदा पुग्ने बताए ।
‘किटजन्य रोग जस्तै लामखुट्टेले सार्ने रोगहरु नेपालको सिमा क्षेत्रमा देखिदा भारतमा असर पर्छ नै । भारतमा देखिदा नेपालमा असर पर्छ नै । त्यसैले यो क्रसबोर्डरको इस्यु भएपनि सहकार्य गर्नु आवश्यक छ भनेर हामीले भनेका थियौँ । सरकारले निर्णय गरेछ राम्रो भयो,’ उनले भने ।
त्यसो त भारत सरकारले यसअघि नै नेपालको स्वास्थ्य अनुसन्धान परिषदसंग मिलेर स्वास्थ्यका विषयमा अनुसन्धान गर्नु भन्दै त्यहाँको परिषद आइसीएमआरलाई यसअघि नै स्वीकृति दिएको छ । त्यहाँको सरकारले स्वीकृति दिएपछि नेपाल सरकारले पनि सोही खालको निर्णय गरिदिएको हो ।
सम्पर्क इमेल : [email protected]