यसबर्ष देशका १८५ स्थानमा नयाँ खोप भण्डारण केन्द्र स्थापना हुने, २९१ वटा रेफ्रिजरेटर आइसक्यो

काठमाडौँ, ७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक बर्षमा देशभरका थप १८५ अत्याधुनिक खोप भण्डारण केन्द्र स्थापना गर्ने भएको छ । मन्त्रालयले ती खोप भण्डारण केन्द्रका लागि २९१ वटा अत्याधुनिक कोल्ड चेन रेफ्रिजरेटर ल्याइसकेको छ ।
ती सबै कोल्डचेन रेफ्रिजरेटर आगामी मंसिर महिनासम्ममा तोकिएको स्थानमा पुगेर जडान भइसक्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताए ।
खोप उत्पादन भए देखि नलगाउँदा सम्म तोकिएको तामक्रममा राख्नुपर्छ । त्यो भनेको २ देखि ८ डिग्री सेन्टीग्रेड हो । कोल्ड चेन रेफ्रिजरेटरमा सोही तापक्रम मिलाएर खोप राखिन्छ । अहिलेसम्म यस्ता रेफ्रिजरेटर अर्थात कोल्डचेन उपकरणहरु ५०० वटा जति भएको खोप शाखा प्रमुख गौतमले जानकारी दिए । ‘यसपटक नै आधा भन्दा बढी थपियो । अबको चार बर्ष भित्रमा कोल्डचेन उपकरण (रेफ्रिजरेटर) हरु १ हजार दुई सय थपिन्छ,’ उनले भने ।
चार बर्षमा १२०० कोल्डचेन सम्वन्धी उपकरण थप्दैछ सरकार ?
हो । सरकारले अबको चार बर्ष भित्रमा १ हजार २ सय वटा कोल्ड चेन उपकरण (रेफ्रिजरेटर) थप्ने भएको छ । कोल्ड चेन इक्युपमेन्ट अप्टिमाइजेसन प्लान (सीसीइओपी) को चार बर्षे परियोजना अन्तरगर्त यो उपकरण थपिन लागेको हो । त्यसैको सुरुवात यसबर्ष २९१ वटा रेफ्रिजरेटर खरीद गरेर भएको हो ।
यो परियोजनाले खोपको ढुवानी र गुणस्तर कायम राख्ने लगायतका काम गर्नेछ। सन् २०१९ मा सुरु भएर सन् २०२०, २०२१ र २०२२ सम्ममा १ हजार २०० वटा कोल्डचेन उपकरण (रेफ्रिजरेटर) खरीद गर्ने योजना छ । त्यसका लागि नेपाल सरकारलाई ग्लोबल एलाईन्स फर भ्याक्सीन एण्ड इमुनाइजेसन (गाभी) ले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । ‘यसलाई बहुवर्षिय परियोजना भन्दा पनि हुन्छ । त्यसका लागि ३० करोड बजेट छुट्याइएको छ,’ गौतमले भने ।

कहाँ कहाँ जडान हुँदैछ कोल्डचेन उपकरण ?
संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारसंग समन्वय गरी देशका विभिन्न स्थानीय तहमा यो उपकरण जडान गर्ने भएको छ । त्यसका लागि स्थान समेत तोकिईसकेको छ । यद्धपी अहिले ती स्थानका नाम सार्वजनिक गरिएको छैन ।
अहिलेका उपकरणहरु जिल्ला अस्पताल भन्दा मुनिका स्वास्थ्य संस्थामा पुग्नेछन् । त्यो भनेको प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरु हुन् । उपकरणलाई विजुलीको आवश्यकता पर्ने, मेसिन लैजान समेत गाडीको आवश्यकता पर्ने भएकोले महाशाखाले मेसिन वितरणमा केही मापदण्ड समेत बनाएको छ ।
‘सडकले छोएको, विजुली बत्ति भएको र संस्थाले आफ्नै भवनमा अडेको, यी तीन कुरा मिलेको स्थान हेरेर प्राथमिकताको क्रम निर्धारण गरेका छौँ,’ डा गौतमले भने ।
उनले स्थानीय तहमा कोल्डचेन स्थापना भएपछि स्थानीय बासी सामान्य खोपका लागि जिल्ला आइरहनु पर्ने बाध्यता समेत नरहने दावी गरे ।
सम्पर्क इमेल : [email protected]