बर्षमा एक करोड ७५ लाख मानिसको मृत्यु मुटुरोगको कारण

काठमाडौँ, १२ असोज । विश्व मुटु महासंघका अनुसार विश्वमा बर्षेनी १ करोड ७५ लाख मानिसहरु मुटुको रोगका कारण ज्यान गुमाउने गर्दछन् । यसमध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशत भन्दा भएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले यहि अवस्था जारी रहे सन् २०३० सम्ममा मुटु मुटुरोगबाट मर्नेको संख्या बार्षिक २ करोड ५० लाख पुग्ने अनुमान गरेको छ ।

विकासोन्मुख राष्ट्रहरुमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशत छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कूल जनसख्ंयाको २५% अर्थात करिव ७५ लाख जनता मुटुरोगी भएको अनुमान गरिएको छ ।

नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ, २० प्रतिशतलाई कोलेस्टेरोल छ, ६ प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई बाथ मुटुको रोग छ । ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन् । करिब ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चूरोट, सुर्ति सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी भन्छन्, ‘मुटुको रोग बद्दै जानुको प्रमूख कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु हो । आजको मानिसहरुको जीवनशैली अस्वस्थकर भएको छ । एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नूनको मात्रा बढेको छ, हरियो सागपात, फलपूmल आदी घटेको छ, चूरोट, सूर्तीको सेवन बढेको छ, रक्सी पिउने बानी बढेको छ भने अर्कोतिर व्यायाम गर्ने बानीमा कमि आएको छ, मानसिक तनाव अत्यधिक बढेको छ । यस प्रकारको अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदम चाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाए हो ।’

त्यसो त सरकारले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि सन् २०१४ देखि २०२० सम्मको कार्य योजना तर्जूमा गरि कार्यान्वयन तर्फ अग्रसर भएको बताएको छ । यद्धपी त्यसको यसको व्यवहारिक पक्ष अझै पनि कमजोर देखिएको छ ।

यसैबीच विश्व मुटु महासंघको आह्वानमा आज संसारभर विश्व मुटु दिवस मनाईदै छ । विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे जनचेतनाको अभिवृद्धि र रोकथामका लागि यो दिवस मनाउन लागिएको हो ।

नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइदै छ । दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षा मूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रमहरू गरिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *