डा. प्रकाशराज रेग्मीद्धारा बाथमुटुरोग अनुसन्धान कोष स्थापना, १० लाख ‘डोनेशन’
काठमाडौँ, ११ असोज । विश्व मुटुरोग दिवसको सन्दर्भ पारेर बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बाथमुटुरोग अनुसन्धान कोष स्थापना गरेका छन् । बाथमुटुरोग अध्ययन् अनुसन्धान र रोकथाममा सहयोग गर्न पुर्याउन भन्दै डा. रेग्मीले कोष स्थापना गरेका हुन् ।
शुक्रबार नेपाल हृदयरोग निवारण प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा रेग्मीले कोष स्थापनाको घोषणा गरेका हुन् । डा रेग्मी बाथमुटुरोग अनुसन्धान तथा रोकथाम अक्षयकोष नाम दिइएको उक्तकोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ डोनेशन गरेको उनले जानकारी दिए । उनले उक्त कोष तीन बर्ष भित्र २५ लाख र १० बर्ष भित्र १ करोड पुर्याउने लक्ष्य रहेको बताए ।
‘नेपालमा बाथमुटुरोगको अवस्था भयावह बन्दै गएको छ । यसको अनुसन्धान र रोकथाम अहिलेको आवश्यकता पनि हो । त्यसका लागि सधै अरुको मुख ताकेर मात्रै पनि सम्भव छैन । त्यसैले आफैले केही गरौँ भनेर यो कोष स्थापना गरेको हो,’ डा रेग्मीले भने ।
कोषमा जम्मा भएको रकमको व्याजबाट बाथमुटुको अनुसन्धान खर्च गरिने र रोगथाममा लाग्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने योजना रहेको छ । नेपाल हृदयरोग प्रतिष्ठानका अनुसार नेपालमा १ प्रतिशत बालबालिकामा बाथमुटुरोगको समस्या भएको अनुमान छ ।
सम्पर्क इमेल : [email protected]