शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा

696
Shares

भक्तपुर, ५ असोज । सूर्यविनायक नगरपालिकाले दुर्गम मानिएको वडा ९ नंखेल काँक्राबारीमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रको आज सांसद महेश बस्नेतले उद्घाटन गरे ।

कार्यक्रममा उनले सरकारले गरेका विकासका काम देखेर आत्तिएकाहरुले अहिले विरोधको विगुल फुक्न थालेका बताए । “वर्षौसम्म हुन नसकेका विकासका कामहरु वर्तमान सरकारले धमाधम गर्न थालेको छ, सरकारले गरेका विकासको काम दखेर आत्तिएकाहरु विरोधमा विगुल फुक्न थालेका छन्”, पूर्वमन्त्रीसमेत रहेका बस्नेतले भने, “जनता भनेका राजहंश हुन्, दूधको दूध पानीको पानी छुट्याइदिनुपर्छ ।” विरोधीहरुले गरेको हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले जनताले जे देख्यो त्यही बोल्नु पर्ने बताए । उनले भने, “यो सरकार आउनुभन्दा अगाडि कति विकास भएका थिए, अहिले विकासको गति कहाँ पुग्यो, तपाईहरुले देख्नुभएको छ, हल्लामा विश्वास गर्ने होइन, देखेको कुरामा विश्वास गर्नुस् ।”

नगरपालिकामा पछाडि परेको नंखेल काँक्राबारीको अब मुहार फेरिन थालेको बताउँदै यो क्षेत्रलाई ‘ईको टुरिजम’ र ग्रामीण पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने उनले बताए। कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले नगर क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेगरी गुरुयोजना तयार पारेर कार्य अगाडि बढाइएको जानकारी गराए । उनले नगरपालिका क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा सहज पुहँच पु¥याउन शहरी स्वास्थ्य केन्द्र स्थापना गर्दै गएकाले स्वास्थ्यको पहुँचबाट अब नगरवासी वञ्चित हुन नपर्ने भनाइ राखे ।

कूल रु २० लाखको लागतमा काँक्राबारीमा एक तलाको तीनकोठे पक्की भवन निर्माण सम्पन्न गरेर आजबाट तीन जना स्वाथ्यकर्मीको टोलीसहित विभिन्न सेवा सुचारु गरेको हो । वडा नं ९ अध्यक्ष उपेन्द्र केसीले सूर्यविनायक मात्रै नभई काभ्रेका बासिन्दाले पनि यहाँबाट स्वास्थ्य सुविधा लिनसक्ने बताए । कार्यक्रममा वडा नं। ७ का अध्यक्ष रवीन्द्र सापकोटा, वडा नं ८ का अध्यक्ष किरण थापा र वडा नं १० का अध्यक्ष शिवराम राउतले सबै वडामा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *