मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेलन आजबाट काठमाडौँमा शुरु


काठमाडौँ, ३ असोज । सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन् । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिएका छन् ।

नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । आज यहाँ शुरु भएको मेरुदण्ड, नशा र मांशपेशी (स्पाइन कन्फ्ररेन्स)सम्मेलनका सहभागी चिकित्सकले सो कुरामा जोड दिँदै यस विधामा सरकारको लगानी बढाउन आवश्यक रहेको औँल्याए ।

मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ । हाल मुलुकभर ८० जना मात्र मेरुदण्ड, नशा र मांशपेशीका विज्ञ चिकित्सक रहेको बताइएको छ ।

न्यूरो शल्यचिकित्सक समाज नेपाल (नेसोन)अन्तर्गत न्यूरो स्पाइन च्याप्टरद्वारा आयोजित सो दुईदिने सम्मेलनमा नेपालसहित भारत, अमेरिकाका न्युरो सर्जन, अर्थोपेडिक्स, फिजियोथेरापिष्ट, न्युरो ट्रमा विशेषज्ञ, बालनशा रोग विशेषज्ञलगायत १२५ भन्दाबढी स्वास्थ्यकर्मीको सभागिता रहेको छ । सम्मेलनमा ती क्षेत्रका २० वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलनको शुभारम्भका अवसरमा नेसोनका अध्यक्ष चिकित्सक निलमकुमार खड्काले मेरुदण्ड, नशा र मांशपेशीका जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिन, तल्लो तहका अस्पतालमा नशा रोग चिकित्सकको व्यवस्था गर्न आग्रह गर्दै मेरुदण्ड, नशा र मांशपेशीका बिरामीका लागि पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्छ भने ।

अन्नपूर्ण न्युरो अस्पतालका मेडिकल डाइरेक्टर डा समीर आचार्यले पछिल्लो समयमा हड्डी खिइने, नशा च्यापिने, हड्डीमा मासु पलाउने रोगीका सङ्ख्या तथा सडक दुर्घटनाका कारण मेरुदण्ड भाँचिने क्रम वृद्धि भइराखेको उल्लेख गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *