चिकित्सकलाई स्वास्थ्य सचिवको आग्रह, ‘हेण्ड राईटिङ तालिम लिएरै भएपनि अक्षर सुधार्नुस्’
काठमाडौँ, ३१ भदौ । स्वास्थ्य सचिव खगराज बरालले बिरामी रिपोर्टमा बुझिने अक्षरमा लेख्न चिकित्सकहरुलाई आग्रह गरेका छन् । उनले एमडी गरिसकेको चिकित्सकको अक्षर समेत नबुझिने भएको भन्दै ‘हेण्ड राईटिङ’ तालिम लिएर भएपनि अक्षर सुधार्न आग्रह गरेका हुन् ।
विश्व विरामी स्वास्थ्य सुरक्षा दिवसको सन्दर्भ पारी विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरमा गरेको कार्यक्रममा उनले चिकित्सक प्रति बिरामी र आम सर्वसाधारणले गर्ने सबैभन्दा बढी गुनासो नै अक्षरको रहेको भन्दै यसमा सुधार गर्न जोड दिए ।
‘चिकित्सक भनेको पढाईमा अब्बल विद्यार्थी हो । पढाई लेखाई राम्रो शुद्ध र बुझिने अक्षरमा भएकै कारण उसले अरु विद्यार्थीले भन्दा बढी नम्बर पाएर उत्तीर्ण हुने हो । तर त्यहि विद्यार्थी चिकित्सक बन्ने वित्तिकै बिरामीको रिपोर्ट कार्डमा नबुझिने अक्षर किन लेख्ने ? एउटा दुईटा होइन हरेक जसो चिकित्सकको अक्षर नबुझिने । अचेल त सबैभन्दा नबुझिने अक्षरलाई डाक्टरी अक्षरको संज्ञा समेत दिन थालिएको छ,’ सचिव बरालले भने ।
‘एमडी गरेको व्यक्तिले लेखेको अक्षर हामी जस्तोले नबुझ्ने यस्तो पछि हुन्छ ? कटाक्ष गर्दै उनले भने, बरु एक साताको ‘हेन राईटिङ’ तालिम लिएरै भएपनि सुधार्नुस् । डाक्टर अक्षर आहा भन्ने बनाउनुस्,’ उनले अगाडी थपे ।
सचिव बरालले राम्रो अक्षर लेख्नु भनेर चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिन मिल्ने भए एक मिनेट ढिला नगरी आफूले निर्देशनात्मक पत्र लेख्ने समेत बताए ।
विरामीको स्वास्थ्य सुरक्षाको प्रसंग निकाल्दै उनले चिकित्सक तथा स्वास्थ्यकर्मीले गर्नुपर्ने नम्र व्यवहार, चिकित्सकले लेख्ने बुझिने अक्षर आदिले धेरै नै सहयोग पुग्ने बताए । उनले कतिपय चिकित्सकले विरामीको समस्या समेत राम्ररी सुन्न नचाहने, राम्ररी कम्युनिकेशन नगरिदिदा विरामी र चिकित्सकको सम्वन्धमा खलल पुग्ने गरेको समेत ठोकुवा गरे ।
उनले मान्छेबाट त्रुटी हुने भन्दै असल नियतले काम गर्दा गर्दै हुने त्रुटीलाई सरकारले प्रतिरक्षा गर्ने समेत स्पष्ट पारे ।
मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंहले बिरामी स्वास्थ्य सुरक्षामा बहुपक्षीय र बहुक्षेत्रीय सहभागिताको खाँचो रहेको बताए । उनले सहश्राव्दी विकास लक्ष्य भेटनका लागि पनि बिरामी स्वास्थ्य सुरक्षामा जोड दिनु पर्ने बताए ।
कार्यक्रममा आयुर्वेद विभागका महानिर्देशक डा बासुदेव पाण्डे, उपचारात्मक सेवा महाशाखाका निर्देशक डा तारानाथ पोखरेल, नर्सिङ परिषदका अध्यक्ष गोमा निरौला, बीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोश भेन्डरसन, नेपाल मेडिसिटि अस्पतालका बिजय रिमाल लगायतले विरामी स्वास्थ्य सुरक्षाको बारेमा बोलेका थिए ।
कार्यक्रममा उपचारात्मक सेवा महाशाखाका डा अमृत पोखरेलले विरामी स्वास्थ्य सुरक्षा सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्पर्क इमेल : [email protected]