उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री

डोटी, ३१ भदौ । कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन् । आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका डम्मर विष्टले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय तथा नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल राजपुर व्यारेकले सुदूरपश्चिमेली जनतालाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यहाँका विभिन्न क्षेत्रमा सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरमा प्रायःजसो धामीझाँक्री उपचार तथा जाँच गराउन आउन थालेका छन् । पछिल्लो समय विभिन्न किसिमका रोग देखा पर्न थालेका र देउताकै भर पर्दा ज्यान नै खतरामा पर्ने भएकाले आफूहरुले बिरामीलाई अस्पताल तथा चिकित्सककहाँ पठाउने गरेको बोगटान फुड्सिल गाउँपालिका–५ भतालीका धामी देवबहादुर बोहराले बताए ।
उनले भने, “सुदूरपश्चिममा धामी तथा देउताप्रति आस्था र विश्वास नभएको चाहिँ होइन, स्थानीयवासीले विश्वास गर्छन्, तर सबै बिरामी देउताले निको पार्न नसक्ने भएकाले बिरामीको अवस्था र उसलाई लागेको रोगबारे बुझेर हामी अस्पताल जाने सल्लाह दिने गर्छौँ ।” बिरामी उपचार गराउन अस्पताल तथा चिकित्सक खोज्न थालेपछि सुदूरपश्चिमका अधिकांश धामीझाँक्रीको आम्दानी शून्य हुन थालेको दिपायलका कलकबहादुर खत्रीले बताए ।
डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा विगत समयमा मानिस सामान्य बिरामी पर्दा पनि धामीझाँक्रीकहाँ धाउने चलन थियो । अहिले उक्त चलन क्रमिकरूपमा हट्न थालेको छ । यहाँका धामीझाँक्रीले ठूलो रोगबाहेक अन्य केही मसान, पिचास, बोक्सी लागेको भने निको पर्ने गरेको पिपल्लाका पदम दासले बताए। यसरी मसान, पिचास, बोक्सी लागेको छुटाउन यहाँका धामीझाँक्रीले बोका, कुखुरा, राँगा तथा हासको बलि दिने चलन छ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



