भक्तपुरमा डेङ्गुको उच्च जोखिम


भक्तपुर, २५ भदौ । देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए ।

उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए ।

यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेङ्गु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेङ्गु रोग भएको बताए ।

उनले भक्तपुर नगरपालिकाले डेङ्गु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत डेङ्गु रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए । सूर्यविनायक, चाँगुनारायण नगरपालिकाले पनि यो रोगबारे जनचेतना फैलाउँदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *