नसर्ने रोगबाट हुन्छ दैनिक ३३२ जना नेपालीको मृत्यु, नियन्त्रणको प्रयासमा के गर्दैछ सरकार ?

काठमाडौँ, २२ भदौ । ‘नसर्ने रोगबाट दैनिक ३३२ जनाको नेपालीको मृत्यु हुने गरेको छ, महिनामा हिसाव गर्दा यो संख्या १० हजार ८३ जना भन्दा बढी हुन्छ र बर्षभरीको जोडदा १ लाख २१ हजार पुग्छ,’ एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा सार्वजनिक गरेको नेपालको नसर्ने रोगसम्वन्धी विवरणलाई आधार मानेर तथ्य प्रस्तुत गर्दा संघीय सांसद गणेशसिंह ढगुन्नाले चाखपूर्वक सुनि रहेका थिए । चन्दले प्रस्तुत गरेका कुरा स्वास्थ्यमा भर्खरै सरुवा भएर आएका सचिव खगराज बरालले समेत नोट गरिरहेका थिए ।

………………………………………………………………

एनसीडी अलायन्सको आवहानमा विश्वव्यापी रुपमा मनाईएको ‘सेकेण्ड ग्लोबल वीक फर एक्सन अन एनसीडीज’को अन्तिम दिन आज राजधानीमा ‘सर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुपक्षिय पैरवी बैठक’ सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपाल र द यूनियनको संयुक्त आयोजनामा भएको उक्त बैठकमा प्रतिनिधि सभाका सांसद, स्वास्थ्य, गृह तथा अर्थ प्रतिनिधि, चिकित्सक, नसर्ने रोगमा क्रियाशिल गैरसरकारी संस्थाका प्रतिनिधि र स्वास्थ्य पत्रकारहरुको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले नसर्ने रोगले विकराल रुप लिदै गरेको अबस्थामा अबको बाटो ‘न्युनिकरणका लागि कसरी कदम चाल्ने ?’ भन्ने हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘विकसित देशहरुमा युवापुस्तामा नसर्ने रोगको भार कम हुँदै गईसकेको छ तर हाम्रो मुलुकमा भने यसको ठिक उल्टो होला जस्तो छ । नसर्ने रोग विरुद्ध तत्काल कदम नचाल्ने हो भने अवको १०-१५ बर्ष भित्र यसले भयावह अवस्था निम्त्याउने निश्चित छ,’ उनले अगाडी थपे ,’त्यसैले अब यसको न्युनीकरण गर्न कसरी स्टेप चाल्ने त्यसबारेमा सोचौँ ।’

उनले नसर्ने रोग धनी व्यक्तिलाई लाग्ने भन्ने अवधारणा समेत पुरानो भएको नयाँ तथ्यले उजागर गरेको बताए । मुटु, सीओपीडी, स्ट्रोक, आस्थामा लगायतका रोगहरुबाट धनी भन्दा गरीब बढी प्रताडित भएको भन्दै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।

बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुद्धत्त पौडेलले क्यान्सर रोगको बढ्दो क्रममा रहेको तथ्य प्रस्तुत गरे । सो क्रममा उनले क्यान्सर जस्तो नसर्ने रोग समयमै पत्तो नलाग्दा व्यक्तिको ज्यानसंगै उपचार गर्दा परिवार नै उठिवास भएको प्रसंग निकाले ।

क्यान्सरबाट बर्षमा साढे १६ हजार बढी नेपालीले ज्यान गुमाउने गरेको भन्दै उनले तत्काल नियन्त्रण सम्वन्धी कदम नचाले यसले भयावह रुप लिने ठोकुवा गरे । उनले क्यान्सरको प्रमुख कारक धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न तथा व्यक्तिले स्वस्थ खानपान र जीवनशैली सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा बरिष्ठ मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले साइलेन्ट किलरको रुपमा रहेको मधुमेहबाट युवा पुस्ता नै प्रताडित हुन थालेको भन्दै नियन्त्रणका लागि सरकारी स्तरबाटै कार्यक्रम आउनुपर्ने बताइन । उनले सुर्तीजन्य पदार्थमा जस्तै सुगरी ड्रिक्समा पनि सरकारले कर लगाउनु पर्ने बताइन । डाक्टरले लेख्ने औषधिले मात्रै रोग नियन्त्रण नहुने भन्दै उनले रोग लाग्न नदिन व्यक्ति स्वयं सचेत हुनुपर्ने बताइन ।

स्वास्थ्य सचिव भन्छन्, ‘नसर्ने रोग बढाउन परिवारकै पनि हात छ !’


स्वास्थ्य सचिव खगराज बरालले नसर्ने रोग बढ्नुमा परिवारको मुख्य हात रहेको तर्क गरे । उनी भन्छन्, ‘अहिलेको खानपान, अहिलेको जीवनशैली कहाँबाट आयो ? परिवार र समाजबाटै होइन ? खाजामा चाँउचाँउ विस्कुट खान कसले सिकायो ? कोक फेन्टा जस्ता सुगरी ड्रिक्स खान कसले सिकायो ? केटा केटीलाई स्कुलबसको व्यवस्था कसले गरयो ? त्यसैले यी सबै नसर्ने रोगको जोखिम बढाउने फ्याक्टर हुन र थाह नपाइदो गरी यो परिवार र समाजबाटै आएको हो ।’

उनले सरकारले गर्नुपर्ने कतिपय काममा चुकिरहेको आफूले पनि महसुस गरेको भन्दै अबका दिनमा त्यसमा ध्यान नदिई नहुने अवस्था आएको बताए । ‘नीतिगत कुरा होलान, क्याम्पेनिङका कुरा होला, सरकारले अव त्यो दायित्व पनि पुरा गर्नेछ । यसमा सबै पक्षले सहयोग गर्नुपर्ने छ,’ उनले भने ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार खरेलले जटिल अवस्थाको नसर्ने रोगको उपचारका लागि वीमा अप्रयाप्त भएपनि प्रारम्भिक तहमै जाँच गर्न यो प्रभावकारी भएको बताए ।

शिक्षा र विकास भन्दा प्राथमिकतामा स्वास्थ्य पार्नुपर्छ : सांसद ठगुन्ना

सांसद गणेश सिंह ठगुन्नाले स्वास्थ्य सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताए । उनले भने, ‘शिक्षामा एक बर्ष ढिलाई भएर केही हुँदैन, विकासमा एक बर्ष पछि परेर पनि केही हुन्न तर स्वास्थ्यमा एक मिनेट ढिलाई हुँदा पनि गडबड हुन्छ । अर्थात यो मान्छेको ज्यानको कुरा हो ।’

उनले नसर्ने रोगले अहिले गाँउ गाँउसम्म आक्रान्त भएको भन्दै आफ्नो क्षेत्रबाट क्यान्सरको उपचारमा राजधानीमा आउनेमध्ये केही मात्रै निको भएर फर्कने गरेको बताए । उनले भने, ‘क्यान्सर भएर अन्तिम अवस्थामा उपचारका लागि यहाँ आउनुहुन्छ तर निको भएर जानेहरुको संख्या अत्यन्तै कम छ ।’

उनले नसर्ने रोगको भयावह अवस्थालाई न्युनिकरण गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।

सूर्तिजन्य पदार्थ नियन्त्रणका अभियन्ता समेत रहेका एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थ रहेको भन्दै यसलाई नियन्त्रण गर्नु राज्यको पहिलो दायित्व भएको बताए । ‘बार्षिक १ लाख २१ हजार बढी नेपालीको मृत्यु नसर्ने रोगबाट भएको छ । दैनिक हिसाव गर्दा ३३२ जना हुन आउँछ । र यो संख्या दिनानुदिन बढी रहेको छ । यसलाई रोक्न अब पनि कदम चाल्नु पर्दैन ?’ प्रतिप्रश्न गर्दै उनले अगाडी थपे, ‘यसका लागि कानून त पहिले नै बनिसकेको छ सरकारले कार्यान्वनय मात्रै गरिदिए पनि धेरै सुधार हुनसक्छ ।’

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सहसचिवद्धय डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठले नसर्ने रोगको अवस्था र मन्त्रालयले गरेका गतिविधि र योजना बारेमा बोलेका थिए । यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीले नसर्ने रोग नियन्त्रणका लागि जनचेतना जगाउन आफूहरुले गरेका गतिविधिको बारेमा जानकारी गराए ।

गतवर्ष डव्लुएचओले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा नसर्ने रोगको भार ६६ प्रतिशत पुगेको छ । सोही तथ्यांक अनुसार बार्षिक रुपमा एक लाख २१ हजार नेपालीले नसर्ने रोगबाट ज्यान गुमाउने गर्दछन् ।

ती मध्ये मुटु रोगबाट ३० प्रतिशत अर्थात ३६ हजार ३ सय, क्यान्सरबाट ९ प्रतिशत अर्थात १० हजार ८९०, सीओपीडी र दुर्घटनाबाट १० प्रतिशत अर्थात १२ हजार एक सय, मधुमेहबाट ४ प्रतिशत अर्थात ४ हजार ८४० र अरु नसर्ने रोगबाट १३ प्रतिशत अर्थात १५ हजार ७३० जनाको मृत्यु हुने उल्लेख छ । यद्धपी यो तथ्यांक अपुरो रहेको कतिपय सरोकारवालाहरुले बताउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *