श्वासप्रश्वास उपचार केन्द्र निर्माण छिट्टै :उपप्रधानमन्त्री यादव

दमौली, १ भदौ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको निर्माण कार्य छिट्टै शुरु गरिने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित उपचार केन्द्रको  निरीक्षण गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपचार केन्द्रलाई अन्तरराष्ट्रियस्तरको बनाइने बताए ।

पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको उपचार केन्द्रको निर्माणमा ढिलाइ भएको भन्दै मन्त्री यादवले यसलाई गम्भीररुपमा लिएर निर्माण कार्य अगाडि बढाउन सरकार दृढ रहेको प्रतिबद्धता जनाए । उनले भने, “उपचार केन्द्रलाई अन्तरराष्ट्रियस्तरको बनाउनका लागि सहयोगी दाताको खोजी भइरहेको छ । सहयोगका लागि दातासँग कुरा पनि भएको छ । भारत सरकारले यसमा चासो देखाइरहेको छ ।”

उपप्रधानमन्त्री यादवले भौगोलिकलगायत सबै हिसाबले उपचार केन्द्र निर्माण उपयुक्त ठाउँमा रहेको बताए । सरकारले यस वर्ष उपचार केन्द्रको पूर्वाधार विकासको काम गर्नका लागि बजेटको व्यवस्था गरेको सो अवसरमा उनले जानकारी दिए ।

केन्द्रका सञ्चालक समितिका सदस्य राम भण्डारीले उपचार केन्द्रका समस्याका बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए । बेलचौतारामा करीब ७०० रोपनी जग्गामा निर्माण हुने केन्द्रको गुरुयोजनाको काम यसै वर्ष शुरु हुने भण्डारीले बताए ।

स्थानीय बुद्धिजीवी प्रा डा बुद्धिबहादुर थापाले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र निर्माणमा ढिलाइ नगर्न मन्त्री यादवको ध्यानाकर्षण गराए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्मानमा विसं २०६७ मा उपचार केन्द्र स्थापना गर्ने निर्णय भएको थियो । स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनदेखि गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ ।

अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । पचास श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । त्यसबाहेक सो उपचार केन्द्रमा सुत्केरी गराउनेको सङ्ख्या पनि उल्लेख्य रहेको उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *