‘मानिसहरु काठमाडौँको आधा जनसंख्या त यहि अस्पतालमा जन्मेको हो भन्ने गर्छन्’

- नेपाली हेल्थ

तत्कालिन युवराज्ञी इन्द्रराज्य लक्ष्मी देवी शाहको नामबाट थापाथलीमा स्थापना भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सबैभन्दा बढी सुत्केरी हुने अस्पतालको रुपमा परिचित छ । शासन व्यवस्थामा आएको परिवर्तन संगै यतिवेला अस्पतालको नाम परिवर्तन भएको छ तर सेवामा भने परिर्वतन छैन । बरु झन् झन् सुधार गर्दै ल्याएको छ । अस्पतालमा पछिल्लो पटक निर्देशक बनेका प्राडा जागेश्वर गौतम आफूले नेतृत्व सम्हालेपछि व्यापक सुधार गरेको बताउने गरेका छन् । के के सुधार भयो त ? नेपाली हेल्थका रामप्रसाद न्यौपानेले उनीसंग छोटो कुराकानी गरेका थिए :

प्रसूतिगृह अस्पतालको इतिहासबाटै कुरा शुरु गरौँ न । कसरी स्थापना भयो यो अस्पताल ?

तत्कालिन राजा महेन्द्र बीरविक्रम शाहको जेठी श्रीमती अर्थात तत्कालिन युवराज्ञी इन्द्रराज्य लक्ष्मी देवी शाहको सातौ पटक सुत्केरी हुने बेलामा ‘कप्लिकेशन’ भएर मृत्यु भएको रहेछ । यो विसं २००७ सालको कुरा ।

सुत्केरी हुन नसकेर मृत्यु भईसकेपछि दरबारले युवराज्ञीको नाममा अस्पताल बनाउनपर्छ भन्ने मान्यता विकास भएछ । र राजाहरुले आफ्ना ससुराली खलक राणाहरुलाई भनेर जग्गाको व्यवस्था भएको रहेछ ।

अहिले अस्पताल भएको ठाँउमा २८ रोपनी र त्यसको पारीपट्टी कुपन्डोलमा ३५ रोपनी जग्गा श्री ५ इन्द्रराज्य लक्ष्मी परोपकार प्रसूतिगृह अस्पतालको नाममा छ । यो राणाहरुले दान दिएको जग्गा हो ।

विसं २०१० सालमा यो जग्गा पाइसकेपछि परोपकार संस्थासंग मिलेर निर्माण सुरु भएको थियो तर सम्पन्न हुन ६ बर्ष लाग्यो अर्थात २०१६ सालबाट यहाँ अस्पतालको रुपमा सेवा प्रारम्भ भयो । त्यसबेला ४० सैय्याका साथ यो अस्पताल सञ्चालनमा आएको हो । जो अहिले नेपाल सरकारको ४१५ बेड स्वीकृति हो तर हामीले नयाँ भवन सञ्चालनमा आएसंगै ५०० बेडमा सेवा दिइएको छ ।

यो अस्पतालमा दैनिक जसो कति सुत्केरी हुन्छन् ?

मैले अघि पनि भने, यो विशेष परिस्थितिमा दरबारको इन्ट्रेष्टमा खुलेको अस्पताल हो । विसं २०१६ सालमा सञ्चालन भएसंगै यो सुत्केरी हुने केन्द्र नै हो । मानिसहरुले भन्ने गर्छन काठमाडौँको आधा जसो जनसंख्या त यहि नै जन्मेको हो । बर्षमा १८ हजार, २० हजार प्रसूति हुने यस अस्पतालमा यसपटक २२ हजार १ सय सुत्केरी भएछन् अर्थात दिनमा ६१ जना ।

ओपीडीमा विरामीको ‘फ्लो’ कस्तो छ ?

पाँच बर्ष अघि ओपीडी साढे ३ देखि ४ सय थियो । प्रसूति तर्फ २५० देखि ३०० विरामी हुन्थे । स्त्री रोग तर्फ ७५ वा १०० बिरामी हुन्थ्ये । अहिले सो संख्या बढेर ८०० देखि ९०० सयसम्म पुगेको छ ।

सुत्केरीमध्ये कति प्रतिशतको शल्यक्रियाबाट हुन्छ ?

गएको बर्ष ३३ प्रतिशत सुत्केरी शल्यक्रियाबाट अर्थात ‘सिजेरियन सेक्सन’बाट भएको छ । यो क्रम बर्षेनी बढेको छ । यसको कारण पहिलो कुरा यो अस्पताल रिफरल अस्पताल हो । धेरै जसो कम्लिकेटेड केशहरु आउँछ । र अर्को महत्वपूर्ण कारण अघिल्लो पटक गरिएको शल्यक्रिया हो । पहिलो पटक शल्यक्रिया भएर सुत्केरी भएको छ भने दोस्रो पटक पनि शल्यक्रिया नै हुन्छ ।

पहिला पहिला नर्मल पनि प्रयास पनि गरिन्थ्यो । तर त्यसको ‘रिजल्ट’ देखिएन । त्यसैले अहिले चाँही पहिला शल्यक्रिया गरेको गर्भवतीलाई दोस्रो पटक नर्मल प्रयास गरिदैन । सिधै शल्यक्रिया गरिन्छ । त्यसैले पहिलो पटक नै सकेसम्म शल्यक्रिया नगरौँ भन्छु म ।

सकभर पहिलो सुत्केरी शल्यक्रिया नगराई हुनु राम्रो हुन्छ । पहिलो पटक अप्रेसन नगरी बच्चा जन्माउन सके दोस्रो पटक शल्यक्रिया हुने सम्भावना अत्यन्तै कम हुन्छ । अघिल्लो बर्षको २९ प्रतिशत सिजेरियनमा १६ प्रतिशत अघिल्लो पटक पनि शल्यक्रिया भएकाहरु रहेछन् । १३ प्रतिशत मात्रै पहिलो पटक शल्यक्रिया भएका रहेछन् । त्यसैले पहिलो पटक सकभर शल्यक्रिया नगरी बच्चा जन्माउने प्रयासमा लाग्नुपर्छ ।

तपाईँले नेतृत्व लिइसकेपछि अस्पतालमा के केमा सुधार भयो ?

धेरै कुरामा सुधार भएको छ । पहिलो कुरा भनेको म यहाँ मैले नेतृत्व लिइसकेपछि यहाँको भर्ना र डिस्चार्ज गर्ने प्रक्रिया डिजिटल अर्थात पेपरलेस बनाएँ । यस्तो प्रक्रिया ठूला ठूला अस्पताल जहाँ निजीले पनि सकेको छैन । त्यो हामीले गरेका छौँ । एउटा विरामी भर्ना भइसकेपछि त्यसको फाईल सबै ठाँउमा जान्छ । वार्डमा जान्छ । फाइल बोकेर हिडनुपर्ने झन्झट छैन । अप्रेसन पछिको सबै रिपोर्ट लेख्ने काम पनि डिजिटल हुन्छ । त्यसपछि डिस्चार्ज समेत डिजिटल सिस्टमबाट हुन्छ ।

दोस्रो कुरा हामीले ल्याप्रोस्कोपिक अप्रेसन शुरु गर्‍यौँ । तीन बर्ष देखि यो सेवा शुरु भएको छ । सरकारी अस्पतालमा ल्याप्रोस्कोपिक सर्जरी शुरु गर्ने हामी नै पहिलो हौँ । तेस्रो कुरा हामीले यहाँको इन्भेष्टीगेसनको सुविधालाई अपग्रेड गर्‍यौँ । सुन्दा पनि अचम्म लाग्न सक्छ हामीकहाँ प्रदेक दिन २०० देखि २५० वटासम्म अल्टा«साउन्ड हुन्छ । ६ जना डाक्टरले त्यति धेरै सुविधा दिएका छन् ।

म्यामोग्राम सुविधा सुरु गरेका छौँ । सिटिस्क्यान सेवा पनि सुरु भएको छ । ल्याव म्यानुअल थियो हामीले अटोमेटिक सिस्टम बनायौँ ।
पाठेघरको मुखको क्यान्सरका लागि हुने सबै इन्भेष्टिगेसन यहाँ हुन्छ । एक्सटेन्डेड हेल्थ सर्भिस पेइङ क्लिनिक शुरु गर्‍यौँ । परिवार नियोजन सेवा र गर्भपतन सेवालाई एकीकरण गर्‍यौँ।

शैक्षिक कार्यक्रम अन्तरगर्त हामीले पिसिएल नर्सिङ सुरु गर्‍यौँ । अब पहिलो व्याच निस्कन लागेको छ । कुपन्डोलमा टेष्टट्युव बेवी सञ्चालनका लागि ३० करोडको लागतमा नयाँ भवन बनाएका छौँ । दाताले दिएको एउटा घर थियो भैसेपाटीमा त्यो घरमा अहिले बच्चाको ओपिडी सञ्चालनमा छ । र त्यहाँ अल्ट्रासाउण्ड र ल्यावको सुविधा छ ।

यस्तै म आएपछि एमडी प्रोगममा सीट बढेको छ । भूकम्पका बेला हामीलाई ठूलो क्षति भयो त्यो क्षति हामीले न्युनिकरण गर्‍यौँ । म आउँदाको बर्ष साढे ९ करोड थियो अस्पतालको आय, केही परिवर्तन नगरी अर्को बर्ष आयलाई १४ करोड पुरयायौँ । हाम्रो व्यवस्थापनलाई चुस्त बनायौँ । पहिले पहिले पैसाहरु खर्च नभई प्रिज हुन्थ्यो । अहिले पुरापुर खर्च भएको छ । यहि बेलामा हाम्रो नयाँ भवन पनि तयार भएर सञ्चालनमा आएको छ । एकदमै विरामी मैत्री बनाएका छौँ । यो बीचमा हामीले आफ्नै फार्मेसी सञ्चालन गर्‍यौँ ।

नयाँ भवन सञ्चालनमा आएपछि सुविधा पनि थपिएको छ कि ?

अहिले नयाँ भवनमा इमरजेन्सी सेवा नयाँ भवनमा छ । एन्टीनेटल वार्ड छ । यो वार्ड पहिले १५ बेडमा थियो अहिले ४५ वेडमा विस्तारित भएको छ । इमरजेन्सीसंगै तीन वटा इमरजेन्सी अप्रेसन थिएटर छ । ४० बेडको वेवी युनिट छ । पहिले यो युनिट १५–१६ बेडको हुन्थ्यो । पहिले आमाको आइसियू ६ बेड थियो अहिले १२ बेडको भएको छ ।

बर्थिङ सेन्टर पहिले सानो थियो अहिले ठूलो भएको छ । एकैपटक दश जनाको सुत्केरी गराउन सकिन्छ । त्यति नै संख्यामा नयाँ राख्न पनि सकिन्छ । अर्थात बर्थिङ सेन्टरमा एकै पटक २० जनाले सेवा लिन सक्छन् । त्यहाँ डाक्टर हुँदैनन् तालिम प्राप्त नर्सले गराउँछन् सुत्केरी । यो बीचमा हामीले आफ्नै फार्मेसी सञ्चालन गरयौँ । बाहिरका सबै फार्मेसी हटायौँ । ल्याव र ओटी अपग्रेड गर्‍यौँ । तर यसको मतलव यो होईनकि हामीले सबै काम पुरा गरिसक्यौँ । हामीले अझ धेरै कामहरु गर्न बाँकी छ ।

गर्न बाँकी रहेका कुराहरु के के छन् ?

हामीले एमआरआई सेवा शुरु गर्नुपथ्र्यो त्यो गर्न सकिएको छैन । स्त्री रोगमा सिटीको महत्व बढी हुन्छ तर प्रसूतिमा एमआरआईको बढी महत्व हुन्छ । किनभने एमआरआईमा कुनै रेडियसन हुँदैन ।

भैसेपाटीमा भएको आउटरिच क्लिनिक जस्तै क्लिनिक काठमाडौँका कर्नरहरुमा अझ ३–४ वटा खोल्ने भन्ने योजना छ । र यसका लागि नेपाल सरकार र जर्मन सरकारबीच समझदारी भइसकेको छ । किनभने यहाँको चाप घटाउनका लागि वरपर आउटरिच क्लिनिक नखोली सम्भव छैन ।मिडवाइ फ्री कक्षा सञ्चालन गर्न बाँकी नै छ । हामीले प्रमाणपत्र तहको मिडवाइफ्री कक्षा सञ्चालन गर्न खोजेका हौँ ।

जनशक्ति कस्तो छ ?

जनशक्ति एकदम धेरै पनि छैन एकदम कम पनि छैन । हामीले व्यालेन्स गरेर चलाएका छौँ । धेरै कर्मचारीहरु अहिले पनि अस्थायी हुनुहुन्छ । विविध कारणले गर्दा स्थायी गर्न सकिएको छैन । यसलाई सकेसम्म छिटो टुंग्याउनुपर्ने जरुरी छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *