तनहुँमा डेङ्गुका बिरामी भेट्टिए

148
Shares


दमौली, १८ साउन । तनहुँमा डेङ्गुका बिरामी फेला परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका १५ वर्षीय कैलाश थापामा डेङ्गु देखा परेको हो ।

ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकामा निजमा डेङ्गु देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । “किशोरमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि भएको छ,” उनले भने, “खासै जटिल समस्या छैन, उपचार भइरहेको छ ।”

किशोरमा डेङ्गु फेला परेपछि म्याग्दे गाउँपालिकाका अन्य मानिसमासमेत डेङ्गु हुनसक्ने भएकाले सचेतना अपनाउन आग्रह गरिएको बाराकोटीले बताए । डेङ्ग लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । एडिज इजिप्टाई जातको लामखुट्टेले डेङ्गु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ ।

यो रोग मुख्यतः स्त्रीजातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने चिकित्सक बताउँछन् । यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र साँझपख मानिसलाई टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङ र ढाँडको माथिल्लो भागमा बीणा आकारका मार्किङ रहेको हुन्छ ।

शुरुमा बिरामीमा धेरै टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पूरै दुख्ने डेङ्गुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार डेङ्गुबाट बच्न घरवरपर पानी जम्ने खाल्डाखुल्डी पूर्ने, घर नजिक झाडी नराख्ने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्नुपर्छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *