‘अस्पतालको सुरक्षाका लागि प्रहरी चनाखो’
काठमाडौँ, १४ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी चनाखो रहेको बताएका छन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी बृत्त महाराजगञ्जले सोमबार आयोजना गरेको ‘अस्पतालमा हुने सुरक्षा चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अस्पतालको सुरक्षाका लागि प्रहरी जहिले पनि चनाखो रहेको उल्लेख गरे ।
अस्पतालमा हुने घटनापश्चात् भित्रभित्रै पैसा दिएर समस्या सल्टाउने समस्याका कारण अस्पताललाई थप चुनौती थपिएको सुवेदीको भनाई थियो ।
नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा आशा सिंहले चिकित्सकले बिरामीप्रति सहानुभूति राखी उपचार गर्न सके चिकित्सकको सुरक्षा चुनौती कम गर्न सकिने बताए ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले अस्पताल क्षेत्रलाई खतरामुक्त गराउन जस्तोसुकै कदम चाल्न नगरपालिका तयार रहेको बताए । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अस्पताल जस्तो पवित्र स्थानलाई कमाइ खाने भाँडो नबनाई सामाजिक सेवाको भावले जनताको सेवा गर्ने थलोको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
महाराजगञ्ज बृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले अस्पतालमा हुने सुरक्षा चुनौतीलाई कम गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रममा महाराजगञ्ज बृत्तअन्तर्गतका २८ निजी तथा सरकारी अस्पतालका अध्यक्ष, पदाधिकारी, स्थानीय तहका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
सम्पर्क इमेल : [email protected]