सीएमसीले शुरु गऱ्यो कलेजो प्रत्यारोपण सम्वन्धि ओपीडी सेवा
चितवन, १२ साउन । चितवन मेडिकल कलेज टिचिङ हस्पिटल (सीएमसी)ले कलेजो प्रत्यारोपण सम्वन्धि ओपीडी सेवा शुरु गरेको छ । विश्व हेपाटाइटिस दिवसको अवसरमा सीएमसीले आजबाट ओपीडी सेवा शुरु गरेको हो ।
सीएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले कलेजो सम्वन्धि जटिल रोगबाट ग्रस्त बिरामीहरुलाई लक्षित गरी आजबाट यो सेवा शुरु गरेको बताए ।
‘अहिलेसम्म कलेजोको जटिल अवस्था आउनासाथ काठमाडौँ जानुपर्ने बाध्यता थियो । हामीले त्यो बाध्यतालाई अन्त्य गर्दै चितवनमै सो सेवा गरेका हौँ,’ उनले भने । डा. न्यौपानेले हेपाटोलोजी तथा कलेजो प्रत्यारोपण ओपीडी सेवा शुरु गर्ने सीएमसी काठमाडौँ उपत्यका बाहिरको पहिलो स्वास्थ्य संस्था रहेको समेत दावी गरे ।
त्यसो त सीएमसीले यसअघि नै कलेजो तथा मिर्गौला प्रत्यारोपणका लागि प्रत्यारोपणको लागि सरकारबाट लाइसेन्स समेत लिइसकेको छ । ओपीडीमा डा सागर पौडेलको नेतृत्वमा रहेको ५ सदस्ययी टोलीले सेवा दिने बताइएको छ ।
कलेजोको क्यान्सर तथा ‘लिभर सिरोसिस’ जस्ता समस्याका कारण बर्सेनी मृत्युदर बढिरहेको अवस्थामा सीएमसीले आफ्नो दायित्व सम्झेर यो सेवा शुरु गरेको डा. न्यौपानेको कथन थियो ।
तुलनात्मक रुपले नेपालमा कलेजो प्रत्यारोपण निकै सस्तो मानिन्छ । छिमेकी देश भारतमै कलेजो प्रत्यारोपणका लागि ७० देखि ८० लाख रुपैयाँ सम्म खर्च लाग्ने गदर्छ तर नेपालमा सो सेवा २० देखि २५ लाख रुपैयाँ उपलव्ध हुने विज्ञहरु बताउँछन् ।
यसैबीच विश्व हेपाटाइटिस दिवसको अवसरमा सीएमसीले आज विहान वाकाथन कार्यक्रमको आजोजना गरेको थियो । कलेजो रोगका बारेमा जनचेतना फैलाउने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको डा न्यौपानेले बताए ।
बिहान करिब साढे सात बजे सिएमसीबाट सुरु भएको वाकाथन चौबीसकोटी, मालपोतचोक, भरतपुर अस्पतालहुँदै दीपेन्द्रचोक निस्केर पुनः सीएमसी पुगेर सकिएको थियो ।
सम्पर्क इमेल : [email protected]