नेपाल सहित चार देश बने ‘हेपाटाइटिस बी’ नियन्त्रण गर्ने दक्षिणपूर्वी एसियाको ‘पहिलो मुलुक’

792
Shares

नयाँ दिल्ली ११ साउन ।  नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रका चार वटा देशले हेपाटाइटिस बी नियन्त्रणमा ल्याएको छ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)का अनुसार नेपाल, बंगलादेश, भुटान र थाइल्याण्डले हेपाटाइटिस बी नियन्त्रणमा ल्याएको हो ।

डव्लुएचओले यी चारवटै देशलाई दक्षिण–पूर्वी एसिया क्षेत्रबाट हेपाटाइटिस बी नियन्त्रण गर्ने ‘पहिलो मुलुक’ भनेको छ ।

डव्लुएचओका अनुसार यी देशहरुले ज्यानै लिने रोगको रुपमा रहेको हेपाटाइटिस बी लाई पाँच वर्ष उमेरका बालबालिकामा १ प्रतिशत भन्दा कममा परिणत गरेर नियन्त्रणमा ल्याएको जनाएको छ ।

हेपाटाइटिस विरुद्धको खोप हरेक ठाउँमा, हर समय, सम्पूर्ण बालबालिकामा पुर्याउने अठोटले नै यो सम्भव भएको संगठनको दावी छ ।
विश्व स्वास्थ्य संगठन, दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम क्षेत्रपाल सिंहले यो सफलताको पछाडि देशहरुले आफ्नो जनताको स्वास्थ्य सुधारको लागि गरिएको प्रतिज्ञा, स्वास्थ्यकर्मी र समुदायको अथक प्रयासले सम्भव भएको बताएकी छन् ।

हेपाटाइटिस बी नियन्त्रण भए नभएको जाँच गर्न यी चारै देशमा विज्ञहरुको प्यानलले बालबालिकामा खोपको तथ्यांक हेरेका थिए। त्यो तथ्यांकले यी देशमा जन्मिएदेखि १ वर्षसम्म हेपाटाइटिस बी को खोपको डोज ९० प्रतिशत भन्दा बढी पहुँच पुगेको देखियो।

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाली राष्ट्रको ११ देशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हेपटाइटिस बी को खोपको ३ डोज दिइन्छ । त्यसैगरी ८ देशले पनि हेपटाइटिस बी को खोप आमाबाट शिशुमा रोगको संक्रमण नहोस् भनेर खोप दिने गरेका छन्।

यो खोपले डरलाग्दो संक्रमणबाट बचाउनुका साथै कलेजोको क्यान्सर तथा सिरोसिसको जोखिम पनि घटाउँछ।

निर्देशक डा सिंहका अनुसार हेपाटाइटिस सजिलै रोकथाम र उपचार गर्न सकिन्छ। सदस्य राष्ट्रहरु यसबारे जनचेतना फैलाउनुपर्छ, रोकथामका लागि सुरक्षित खोप, संक्रमण रोकथाममा ध्यान दिनुपर्छ।

रोकथाम गर्न सकिने भए पनि भाइरल हेपटाइटिसले विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाली राष्ट्रमा हरेक वर्ष ४ लाख १० हजार मानिसको मृत्यु हुने गरेको छ। ९ करोड मानिस जटिल किसिमको कलेजोको समस्या र कलेजोको क्यान्सर तथा सिरोसिसबाट ग्रसित हुने गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *