महामारीको मौका छोप्दै पूर्वका निजी अस्पताल : छ गुणा बढीमा डेंगु किट बेच्दै

काठमाडौँ, २ असार । महामारीको रुपमा फैलदै गएको डेंगु पूर्वका केही निजी अस्पताल तथा मेडिकल कलेजका लागि भने कमाउने मौका बन्न पुगेको छ । उनीहरुले डेंगु परीक्षण गर्ने किट ६ गुणा बढी पैसा लिएर बेच्न थालेका छन् ।

बढी मूल्य लिएर बेच्न थालेको उजुरी बढदै गएपछि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्ने मूल्य भन्दा बढी पैसा लिएर किट बेचेको पाइएमा कालाबजारी ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा पूर्वका केही मेडिकल कलेज तथा अस्पतालहरुले ४ सयमा पाइने डेंगु किटलाई १ हजार ८ सय देखि २ हजार ४ सय सम्म लिएर बिक्री वितरण गरेको पाइएको बताएको छ ।

गत ३० बैशाखमा धरानमा देखिएको डेंगु नियन्त्रणमा आउनुको सट्टा झन् झन् फैलदोँ क्रममा छ । अहिलेसम्म परीक्षण र उपचार गरिएको संख्या सात सय नाघेको छ । केशहरु धरानबाट, इटहरी, बिराटनगर, झापा हुँदै उदयपुरमा समेत थालेको छ ।

डेंगुको प्रकोप फैलँदा आत्तिएका स्थानीयले जति पनि रकम तिरेर डेंगुकिट लिन सक्ने भएकोले अस्पताल तथा मेडिकल कलेजहरुले चर्को मूल्यमा यो किट बेचेका हुन् ।

‘खुल्ला किन्दा ४ सय रुपैयाँमा पाइने किटलाई नोवेल मेडिकल कलेजले २ हजार ४ सय रुपैयाँ, विराट मेडिकल कलेजले १ हजार ८ सय रुपैयाँ, अरु निजी अस्पताल तथा क्लिनिकहरुले पनि त्यहि हाराहारीमा पैसा लिने गरेका रहेछन् । गुसाना बढदै गएपछि स्थानीय प्रशासनले हामीसंग मूल्यको बारेमा सोधेको थियो,’ मन्त्रालयका एक अधिकारीले भने ।

त्यसो त इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाले डेंगु परीक्षण गर्ने किट २४८ रुपैयाँमा खरीद गरेर पूर्वमा पठाइरहेको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *