‘त्यसबेला म मानसिक रोग विशेषज्ञ बन्न चाहन्थें’

  • डा आशा सिंह (डीआईजी)

त्यो दिन सम्झिन्छु ……

त्यो दिन अहिले पनि ताजै छ …….!

विसं २०५२ साल माघ १८ गते । जतिवेला मेरो कान्छी छोरी जन्मेको १८ दिन मात्रै पुगेको थियो । पुलिस इन्सपेक्टरको फुलि लगाएर नेपाल प्रहरी अस्पताल (तत्कालिन बीरेन्द्र प्रहरी अस्पताल)मा प्रसूति तथा स्त्रीरोग विशेषज्ञको रुपमा सरकारी सेवा प्रवेश गरेँ ।

त्यसो त मैले त्यसबेला नै चिकित्साशास्त्र तर्फ डीजीओ(डिप्लोमा इन गाइने अब्सेटिक्स) गरिसकेकी थिएँ । आजकाल त्यत्तिको योग्यता भएको व्यक्तिले सिधै नेपाल प्रहरीको डीएसपी पदमा छिर्न पाउँछ । तर पनि म इन्सपेक्टर पदबाटै छिरेँ ।

प्राविधिक समूहबाट प्रहरी सेवामा प्रवेश गरेको आज २४ बर्ष पुगिसकेको छ । यो अवधीमा मैले सेवा प्रवेश गरेको प्रहरी अस्पताल स्तरउन्नती हुँदै उच्चस्तरीय सेवा दिने अस्पतालमा गनिएको छ ।  अनि, म पनि इन्सपेक्टरबाट पदोन्नती हुँदै प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा पदमा आइपुगेकी छु ।

प्रहरी अस्पताल छिर्नु अघि मैले त्रिवि शिक्षण अस्पतालमा करीब छ महिना काम गरेकी थिएँ । अचम्मको कुरा त्यहाँ त्यतिका समय काम गर्दा मलाई यति नजिक प्रहरी अस्पताल छ भन्ने हेक्का थिएन । प्रहरी अस्पतालले चिकित्सक स्थायी पदपूर्ति गर्न विज्ञापन खोलेको छ भन्ने सुनेपछि मात्रै के रहेछ भनेर बुझ्न भन्दै केही डाक्टर साथीसंग यहाँ (प्रहरी अस्पताल) आएकी थिएँ ।

मैले दरखास्त हालेँ । सायद त्यो बेला पहिलो पटक थियो  ४ जना पोष्टको लागि २३ जना डाक्टरले दरखास्त हालेको । त्यसबेला निकै प्रतिस्पर्धा थियो । तर म अन्तरबार्ताका लागि गएँ । त्यसबेला मलाइ सोधिएको थियो, तपाईँ डिप्लोमा गरेर शिक्षण अस्पतालमा काम गरेको मान्छे प्रहरीको अस्पतालमा आएर के गर्नुहुन्छ ? यहाँ त गाइनेको डिपार्टमेन्ट समेत छैन ।

जवाफमा मैले भने, ‘पुलिस अस्पताल खोल्नु भएको छ । पुलिसको उपचार गर्ने भन्नुभएको छ । त्यसका लागि गाइने डाक्टर त चाहिहाल्यो नि । पुलिसका परिवार छन् । महिला प्रहरी हुन्छन्, त्यसैले यो त चाहिन्छ,’ मेरो यो जवाफले उहाँहरु खुशी हुनुभयो सायद । म सेलेक्ट भएँ ।

मेरो शिक्षा …………….

आफूलाई डाक्टर भनेर  चिनाउन मैले नेपाल, भारत र पाकिस्तानबाट औपचारिक मेडिकल डिग्री लिने काम गरेँ ।

प्रहरी अस्पतालमा सेवा प्रवेश गर्नुपूर्व मैले महाराजगञ्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा करीब ६ महिना काम गरेकी थिएँ । त्रिवि शिक्षण अस्पतालमा आवद्ध हुनु अघि मैले पाकिस्तानबाट डिप्लोमा इन गाइने अब्सेटिक्स विषयमा पोष्ट ग्राजुएट्स गरेकी थिएँ । लाहोरमा रहेको पोष्ट ग्राजुएट्स मेडिकल इन्स्टिट्युटबाट मैले पीजी गरेकी हुँ ।

त्यसअघि सन् १९९१ मा मैले भारतको दिल्ली युनिभर्सिटी अन्तरगर्तको लेडि हार्डिङ मेडिकल कलेजबाट एमबीबीएस पुरा गरेकी थिएँ । भारत सरकारको छात्रबृत्ति सहयोगमा म त्यहाँ एमबीबीएस पढन पुगेकी थिएँ ।

एमबीबीएस गर्नु अघि मैले लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेकी थिएँ । त्यसबेला मेरो आइएस्सीमा प्रथम श्रेणी आएको थियो ।

एसएलसीसम्मको यात्रा भने सानो गौचरमा रहेको महेन्द्र भवन विद्यालयमा भएको हो । विसं २०३८ साल एसएलसी दिँदा मेरो नम्बर सो विद्यालयको रेकर्ड ब्रेक गर्ने थियो । मैले ७९ प्रतिशत नम्बर ल्याएर एसएलसी उत्तीर्ण गरेकी थिएँ ।

पाकिस्तानबाट पीजी गरेर फर्केपछि म दोस्रो सन्तानको आमा बनेकी थिएँ । मैले माथि नै उल्लेख गरेको छु छोरी जन्मेको १८ दिनमा म प्रहरी अस्पतालमा पुगेर नियुक्ति पत्र बुझेकी थिएँ । त्यसपछि विदा नलिई काममा खटिइरहेँ ।

त्यसबेला अस्पतालका चिकित्सकलाई क्वाटर थियो । हामी क्वाटरमा बस्दथ्यौँ । त्यसबेला मेरो दोहोरो जिम्मेवारी थियो । स साना छोरीहरुलाई हेर्ने कि आफ्नो ड्युटी राम्ररी गर्ने ? तर दुबै भुमिका मिलाएर जीवन अगाडी बढाउन सफल भएँ । मैले पीजी गरेको १० बर्षपछि यहीको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट प्रसूति तथा स्त्री रोग विषयमा एमडी गरेँ ।

तर, अहिले पनि गर्वसाथ धेरै ठाँउमा भन्ने गरेको छु त्यसबेला म प्रतिष्ठानमै प्रथम भएको थिएँ । गोल्ड मेडल पाएँ । मैले यहाँ किन उल्लेख गरेको भने, म १० बर्षको अन्तरालपछि नियमित पढाईमा फर्केँर पनि प्रतिष्ठान नै टप गरेँ ।

मामाघरमा जन्मे……………….
मेरो जन्म भारतमा भएको हो । मेरो मामा घर भारत विहारको मधुवनी  जिल्लामा पर्दछ । आमा भारतीय मुलकी हुनुहुन्छ । बाबा तराईवासी । म परिवारको जेठो सन्तान । म जन्मने बेलामा आमा माइत जानु भएको रहेछ र म त्यहि जन्मे ।

मेरो बाबा स्वर्गीय डा. नर्सिङ नारायण सिंह त्यसबेला त्रिविको अंग्रेजी विषयको प्राध्यापक हुनुहुन्थ्यो । पछि उहाँ निजामति सेवा तर्फ पनि आउनुभयो ।

मैले बाबाको प्रसंग किन जोडि राखेको छु भने आज म जे छु बुबाकै देन हो । विसं २०१४ सालमा तराईबाट हिडेरै काठमाडौँ आउनुभएको हो रे ।

बाबाले जहिले पनि छोरीलाई पढाउनु पर्छ । पढेपछि दुख पाउदैनन् , आफ्नै खुट्टामा उभिन सक्छन् भन्नुहुन्थ्यो । तर आमा भने जवान छोरीलाई विहे नगरी पढाउन थालेको भन्दै बाबासंग भुत्भुतिनुहुन्थ्यो । तराईको समाज, त्यसबेलाको परिवेश । त्यसैले आमाको त्यो सोँचलाई अहिले मैले स्वभाविक नै ठान्दछु ।

मेरालागि बाबा आमाको अप्सन : कि पढेर टप्नु पर्ने कि विहे गर्नुपर्ने……..

मैले माथि पनि उल्लेख गरेँ आमा र बाबाको सोच बिचार । बुबाले विहेलाई भन्दा पढाईलाई जोड दिनुहुन्थ्यो । आमाले पढाईलाई जे सुकै होस पहिले विहे चाहि गर्नैपर्छ भन्नुहुन्थ्यो ।

खासगरी एसएलसी नतिजा पछि नै विहेको चर्चा चल्न थाल्यो । बुबा भन्नुहुन्छ यति राम्रो अंक ल्याएर पास गरेकी छ छोरीलाई आइएस्सी पढाउँ, त्यसमा राम्रो गरि भने डाक्टर पनि हुनसक्छे , नत्र विहे गरिदिउला । तर आमालाई भने चिन्ता बिहेकै । पहिले विहे गरिदिनु त्यसपछि घरैकाले जे जे गर्छन गर्छन, लामो समय विहे नगरी राख्दा पछि समस्या हुनसक्छ, आमाले यहि कुरा भन्नुहुन्थ्यो ।

मेरा लागि भने बाबा र आमाको फरक सोच टाउकोमै तरबार झुण्ड्याए जस्तो भइरहेको थियो । फेल भयो कि विहे गरिदिने भए, राम्रो अंक नल्याए पनि विहे गरिदिने नै भए । त्यसैले पनि थप अध्ययन गर्ने चाहना हो भने राम्रो अंक नल्याइ सुखै थिएन ।  मैले त्यस्तै गरेँ । नतिजा मैले सोचेँ जस्तै आयो । फेरी बाबा र आमाको झगडा भयो । बाबाले भन्नुहुन्छ अब डाक्टरी पढाम । आमाले भन्नुहुन्छ विहे गरिदिम ।

तर भाग्यवस भनौँ, त्यसबीचमै मैले भारतीय सरकारको छात्रबृत्ति पाएँ । र,  एमबीबीएस पढ्न दिल्ली तर्फ लागेँ । म दिल्ली गएपछि पनि बुबा र आमाको मेरो विहेका बारेमा पक्षविपक्ष तर्क भइरहन्थे ।

मलाई लाग्दथ्यो एमबीबीएस अध्ययन् शुरु गरेपछि चार पाँच बर्षलाई विहेको तनावबाट उम्किएँ । तर, यसपटक मैले सोचेँजस्तो भएन । एमबीबीएसको तेस्रो बर्ष पुग्दा नपुग्दै मेरो विहे भयो डा. रमेशप्रसाद सिंहसंग ।  मागी विवाह । तर,  सौभाग्य नै भन्नुपर्छ मेरो पति पनि तराईमुलकको, सर्लाहीको । पेशा पनि उही ।  विहे हुँदा म २१ बर्षकी थिएँ ।  मेरो श्रीमान पनि भारतमै पीजी पढदै हुनुहुन्थ्यो ।

छात्रबृत्ति पाएर पहिलो पटक भारत जाँदा……

छात्रबृत्ति पाएर दिल्ली पढ्न जाँदा रुदै जान्थे । केही खान पनि मन लाग्दैनथ्यो । के हुन्थ्यो कुन्नी यत्तिकै आत्तिन्थे । हामी नेपालीको अंग्रेजी माध्यममा पढने बानी पनि थिएन ।आइएस्सीमा पुगेपछि अलि अलि अँग्रेजी माध्यम पढियो । त्यसबाहेक अलि अलि कोचिङ गरेर गएको पढियो ।

ओहो दिल्लीमा त सबै फररर अंग्रेजीमा पढछन् । कति टाठा छन् । त्यो सबै देखेपछि त म आत्तिएछु । म बिरामी भएँ ।  त्यसबेला घाउ समेत आयो । म सधै रोएको रोयैँ गर्न थालेँ ।

त्यसबेला एक जना सर्जरी पढाउने शिक्षक हुनुहुन्थ्यो । उहाँले हेर्नुभयो अनि उहाँले टाउकोमा हात राखेर म पढाई मानवीयता देखाउनु भयो । ‘लडकी मा बापको छोडेर आया तु, अपना ख्याल कर, खातेपीते नही क्या ? अण्डा खाया कर, दुध खाया कर, यहाँ तो तेरा मम्मी ड्याडी हे नहि । ओ तो हे नै खुद करना पढेका तुजको,’  यसरी टाउकोमा हात राखेर सम्झाँउदा एकदमै अपनत्व फिल भयो । त्यसपछि मैले आफूलाई आफै सम्हाल्ने कोशिश गरेँ ।

छ महिना पछि एउटा परीक्षा भयो मैले पास गरेँ । त्यसपछि लाग्यो मैले पनि सक्ने रहेछु । त्यसपछि पढाईको टेन्सन, आत्तिने डराउने र विरामी हुने समस्या दुर हुँदै गयो ।

अप्रेसन गरेका विरामीलाई दिनमा पाँच पटक सोध्न जान्थेँ………………

यो चाँही प्रहरी अस्पतालकै कुरा हो । प्रसूति तथा स्त्रीरोग विभाग खोलेपछि शल्यक्रिया त गर्नै परयो । पढेको थिएँ तर प्रयोगात्मक अभ्यास आफ्नै नेतृत्वमा त्यति धेरै भएको थिएन । त्यसैले मैले शुरु सुरुमा डा सानुमैयाँ दलीको सहयोग लिन्थेँ ।

उहाँलाई भिजिटिङ कन्सलटेन्टको रुपमा ल्याउथेँ अनि मैले अप्रेसन गर्थे र वहाँलाई हेर्नुहोस भन्थेँ । उहाँले त्यसबीचमा मलाई धेरै कुरा सिकाउनु पनि भयो । उहाँ नै अगाडी भएपछि म ढुक्क । अप्रेसन सकेपछि उहाँ फर्किनुहुन्थ्यो । त्यसपछि मेरो मुख्य काम त्यहि अप्रेसन  गरेको बिरामीको  अवस्था बुझ्ने भन्ने नै हुन्थ्यो ।

दिनमा ५-६ पटक त्यो विरामीलाई कस्तो छ भन्दै सोध्न जान्थे । त्यसरी विरामीलाई सोध्न आइरहँदा तिनका आफन्तले यो जस्तो राम्रो डाक्टर कोही छैन समेत भन्ने गर्दथे । मलाई भने त्यो पहिलो पहिलो केस केही हुने हो कि भन्ने चिन्ताले सताइरहन्थ्यो । पछि विस्तारै सिक्दै गइयो र आफै सक्षम हुन पुगियो ।

प्रहरी अस्पतालमा यसरी खोलियो स्त्री रोग विभाग ………………………….

म प्रसूति तथा स्त्री रोग सम्वन्धी डाक्टर । मेरो सेवा प्रवेशका लागि लिइएको अन्तरवार्तामै प्रश्न स्त्री रोग विभाग नभएको भन्ने बारेमा प्रश्न सोधिएको भन्ने बारेमा त मैले पहिले नै उल्लेख गरेँ ।

विभाग चाहिन्छ भनेर जवाफ दिएपछि छनौट गरेपछि यो विभाग खोल्ने जिम्मेवारी पनि मेरै हो भन्ने ठाँने । प्रहरी अस्पतालमा म काम शुरु गरेँ । पुलिस अस्पतालमा गाइने डिपार्ट हुनुपर्छ भनेर म सबै ठाउँमा धाएँ । एक्लै थिएँ । अनि विरामी हेर्न सुरु गरेँ । त्यसपछि विरामीले पनि मन पराउन थाले । त्यसबेला आईजीपी अच्युतकृष्ण खरेल हुनुहुन्थ्यो ।

उहाँको श्रीमती मिना खरेल म कहाँ आउनुभयो । मैले त्यसबेला उहाँसंग पनि कुरा गरेँ । महिलालाई अलि बढी चासो हुन्छ र यो कुरा आइजी साव सम्म पुगोस भनेर सुनाएको थिएँ । मैले कन्फिडेन्सका साथ विभाग चाहिन्छ र त्यसमा मैले गर्न सक्छु भनिरहेँ ।

त्यसपछि आइजीपी सावले प्रसूति तथा स्त्री रोग विभाग खोलिदिनुभयो । आजको दिनमो यो विभागमा हामी छ जना छौँ । नर्मल डेलिभरीदेखि लिएर सबै सेवा हुन्छ । प्रसूती सेवा सुरु गरेको तीन बर्ष जति भयो । त्यसमा पनि म्यानपावर छैन भन्दा भन्दै मैले आफैले तालिम चलाएँ र दक्ष जनशक्ति तयार गरेँ ।

त्यसले अहिले गाइनेको डेलिभरीमात्रै होइन हरेक जटिल सर्जरीहरु, केशहरु देन्छन् । अहिले मलाई आमा बाबुले छोरा छोरी हुर्काएर ठुलो हुँदा देखिने खुशी जस्तै खुशी छु म । अहिले यहाँ प्रहरीमात्रै होइन सर्वसाधारणले पनि यहाँबाट सेवा लिनसक्नेछन् ।

 

त्यसबेला मेरो चाहना मानसिक रोग विशेषज्ञ बन्ने थियो ……………….
एमबीबीएस शुरु गर्दा मैले मानसिक रोगमा विज्ञता हासिल गर्नुपर्छ भनेर सोच्ने गर्दथेँ । मलाई मनपर्ने विधा थियो त्यो । किनभने मलाई मान्छेहरुसंग बोल्न र काउन्सिलिङ गर्न एकदमै मन पर्छ ।

मेरो विश्वास पनि त्यसबेला यस्तो थियो कि मानसिक रोग भनेको लगभग ५० प्रतिशत त काउन्सिलिङ ले नै ठिक हुन्छ भनिन्छ । त्यसैले मैले यो विधा रोजेकी थिएँ । तर त्यसबेला मलाई त पागलको डाक्टर पढने । तँ पनि पागल नै हुने भइस पनि भन्न थाले ।

दोस्रोमा पेडियाट्रिक पढ्ने मन थियो । त्यसपछि बच्चामा इन्टर्नसीप गर्न जाँदा पोष्ट मिजल्स निमोनिया भनिने बच्चाहरुको डेथ हुन्थ्यो । त्यो त मेरा लागि एकदमै तनाव हुन थाल्यो । त्यसपछि यो विषयमा पनि तनाव हुन थाल्यो ।

त्यसपछि मात्रै गाइने रोजेँ । यसको महत्व मैले धेरै पछि बुझेँ । गाइनेमा त भर्खरै जन्मेका शिशु देखि बृद्धसम्म हेर्न पाइने, सर्जरी पनि गर्न पाइने, मनोवैज्ञानिक रुपमा काउन्सिलिङ पनि गर्न पाइने । गाइनेमा आफै आत्मसन्तुष्टि लिएर पढन थालेँ । अहिले लाग्छ मैले सहि विषय रोजेर पढेको रहेछु ।

त्यसबेला म पाकिस्तान नगएको भए यो सायद मानसिक रोग विशेषज्ञ बन्थेँ कि जस्तो पनि लाग्छ ।

पाकिस्तान यसरी पुगेँ……………….

विहेपछि श्रीमान् एमएस (मास्टर्स )गर्न पाकिस्थान जानु पर्ने भयो । त्यो बेलामा नेपालमा पोष्टग्राजुएसन गर्ने कलेजहरु धेरै थिएनन । सुरु नै भएको थिएन भन्दा पनि हुन्छ ।

उहाँ पाकिस्तान गएपछि मेरो यतै कतै काम गर्छु भन्ने योजना थियो तर घरबाट त्यसरी हुँदैन श्रीमानसंगै जानुपर्छ भन्ने भयो । त्यसबीचमा मेरो पहिलो नानु पनि जन्मिसकेको थियो ।

त्यसपछि म पनि पाकिस्तान गएँ । त्यहाँ गएर म डिप्लोमा गरेँ । लाहोरको पोष्ट ग्राजुएट्स मेडिकल इन्स्टिट्युट भन्छन । त्यहाँबाट मैले ग्राजुए्टस गरेँ ।

त्यसपछि सुरु भयो मेरो पढाईमा कन्फिल्क्ट । म पढाईमा राम्रो थिएँ, अनि एम्बीसन पनि । तर श्रीमान र बच्चा भइसकेपछि प्राथमिकता त परिवार र घर हेर्नेपनि त थियो नि । कि त घर विगार्न परयो नत्र घर बढाउनु परयो ।

अरुको घर विग्रिएको देखेर मलाइ भने आफ्नो घर जसरी भएपनि सुरक्षित राख्नुपर्छ भन्ने थियो । मैले पढाई र परिवारलाई मिलाएर राख्ने योजनाका साथ अघि बढेँ । अहिले लाग्छ म त्यसमा पनि सफल रहेँ ।

प्रस्तुति : रामप्रसाद न्यौपाने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *