नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिई सुख्खै छैन् : श्रम मन्त्री विष्ट

1.0k
Shares

काठमाडौँ, २९ बैशाख । श्रम मन्त्री गोकर्ण विष्टले नर्सहरुको न्युनतम पारिश्रमिक पूर्ण रुपमा लागू गर्ने योजनाका साथ सरकार अघि बढेको बताएका छन् ।

उनले पछिल्लो समय कतिपय स्वास्थ्य संस्थाहरुले न्युनतम पारिश्रमिक कागजीरुपमा मात्रै लागू गरेको पाइएको भन्दै व्यवहारिक रुपमा लागू गर्न सरकार योजनाका साथ अघि बढेको बताएका हुन् ।

अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघले आज आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले नर्सहरुको श्रमशोषण भइरहेको आफूले जानकारी पाएको बताए । उनले त्यसलाई रोक्नका लागि सामाजिक सुरक्षा ऐन लागू हुने र त्यसअघि नै श्रम अडिटलाई अघि बढाइएको बताए ।

‘आउदो आर्थिक बर्षबाट सामाजिक सुरक्षा ऐन लागू हुन्छ । त्यो भन्दा अघि नै हामीले श्रम अडिटलाई अनिवार्य गराउँदैछौँ । यी दुई कुरा क्रियाशिल भएपछि नर्सहरुले कम्तीमा न्युनतम पारिश्रमिक पाउनेछन् ,’ उनले भने ।

मन्त्री विष्टले अहिले पनि कतिपय स्वास्थ्य संस्थाले धेरै पारिश्रमिक बुझेको कागज बनाउने र थोरै दिने गरेको सुनेको भन्दै त्यस्तो प्रमाण भए श्रममन्त्रालयमा उजुरी गर्न समेत नर्सहरुलाई आग्रह गरे ।

उनले कानुनमा व्यवस्था भए मुताविक सम्पूर्ण अस्पताल वा क्लिनिकमा कार्यरत नर्सहरुले न्यूनतम पारिश्रमिक पाएको वा नपाएको बारेमा निरीक्षण सुरु भएको भन्दै न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन आनाकानी गर्ने स्वास्थ्य संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउने बताए।

कार्यक्रममा नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक तारा पोखरेलले नर्सहरुको श्रम शोषण भइरहेको भन्दै यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताइन । उनले अहिले पनि स्वास्थ्य संस्थामा बढी रकम बुझेको कागज गराएर कम पैसा दिने, भोलेन्टियरको रुपमा राख्ने जस्ता काम गरिरहेको भन्दै यस्ता संस्थालाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताइन ।

पोखरेलले विरामी नर्स अनुपात नमिलेको, क्षमता र योग्यता पुगेका नर्सहरुलाई उपल्लो तहमा राख्न आनाकानी गरेको लगायतका गुनासो पोखिन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *