फेरी शुरु हुँदै सुर्ती नियन्त्रण अभियान, ११ वटा अस्पताल क्षेत्र प्रहरीको निगरानीमा

432
Shares

काठमाडौँ, २४ बैशाख । काठमाडौँ प्रहरीले सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा पुन चासो देखाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंले सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा चासो देखाएको हो ।

अभियान अन्तरगर्त प्रहरीले पहिलो चरणमा आगामी २९ बैशाख देखि काठमाडौँका ११ वटा सरकारी अस्पतालको १०० मिटरसम्मको क्षेत्रमा सुर्तीजन्य पदार्थ निषेध गर्ने योजना अघि सारेको छ ।

ती अस्पतालहरुमा बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र परोपकार प्रसूतिगृह अस्पताल थापाथली रहेका छन् । यस्तै निजामति कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र शैनिक अस्पताल छाउनी, कीर्तिपुर अस्पताल र नरदेवी आयुर्वेद अस्पतालमा अभियान शुरु हुँदैछ ।

अभियानको नेतृत्व गर्न लागेको महानरगरीय प्रहरी परिसर टेकुका डिएसपी राजेन्द्र पोखरेलले तोकिएका ठूला सरकारी अस्पतालबाट अभियानको सुरु गर्ने बताए ।

अभियान अन्तरगर्त प्रहरीले सुरुको १५ दिन जनचेतना अभियान सञ्चालन गर्ने र त्यसपछी पनि अटेरी गर्नेलाई कारवाहीको प्रक्रियामा लैजानेछ ।

डिएसपी पोखरेल भन्छन्, ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्त हामी यसपटक देखि सुर्तीजन्य पदार्थ नियन्त्रणलाई कार्यक्रमलाई अभियानकै रुपमा लैजाँदैछौँ । यसका लागि स्थानीय पालिका, अस्पताल, क्लव, नागरिक समाजका अगुवा लगायतको संयुक्त टीम बनाएका छौँ । उनीहरुबाटै यो अभियान अघि बढछ ।’

डिएसपी पोखरेले शुरुको दिन तोकिएका अस्पतालहरुमा मानवशांङलो नै बनाउने योजना रहेको र साथसाथै जनचेतनामुलक कार्यक्रम, माइकिङ, सांकेतिक चिन्ह वितरणका कार्यक्रम समेत शुरु गर्ने बताए । उनले निषेधित क्षेत्रमा सेवन गर्नेलाई सुपसेनि (सूर्तिजन्य पदार्थ सेवन नियन्त्रण) कक्षा लिएर छाडिदिने योजना रहेको समेत बताए ।

‘हामीले मापसे गर्नेलाई कक्षा लिएर छाडेजस्तै निषेधित क्षेत्रमा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई सुपसेनि कक्षा लिने योजना बनाउदैछौँ ,’ उनले भने ।

अभियान सफल पार्नका लागि शुक्रबार आयोजित छलफल कार्यक्रममा १० वटै सरकारी अस्पतालका प्रमुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी, काठमाण्डौ महानगरपालिका जनस्वास्थ्य विभाग, काठमाडौं प्रहरी परिसर, सम्बन्धित प्रहरी वृत्त प्रमुख, सम्बन्धित वडाध्यक्ष, प्रहरी वडा समन्वय समितिका पदाधिकारीहरू सहभागी थिए ।

यो अभियान क्रमशः महानगरका अन्य नीजि अस्पताल, विद्यालय, कलेज र सार्वजनिक ठाउँमा क्रमशः लागु गरिने परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) वसन्तकुमार लामाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *