औषधि व्यवस्था विभागको ‘सफ्टवेर’ नचल्दा सेवाग्राही मर्कामा

1.1k
Shares

काठमाडौँ, २४ बैशाख । सेवालाई छरितो र व्यवस्थित बनाउन भन्दै औषधि व्यवस्था विभागले तीन बर्ष अघि देखि ल्याएको अनलाइन सफ्टवेर ड्रग एडमिनिस्ट्रेशन एण्ड म्यानेजमेन्ट सिस्टम (डीएएमएस) नचल्दा सेवाग्राही मर्कामा परेका छन् । सफ्टवेरकै गडबडीका कारण सेवाग्राहीका महिनौ अघि हुनुपर्ने काम रोकिएका छन् ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा विभागले तीन बर्ष अघि डीएएमएस सफ्टवेर सञ्चालनमा ल्याएको थियो । औषधि दर्ता, नविकरण, पसल दर्ता, इम्पोर्ट लाइसेन्स लगायतका सबै कामहरु सोही सफ्टवेरको माध्यमबाट गर्न थालिएको थियो । तर पछिल्लो समय सो सफ्टवेरले काम गरेको छैन ।

‘विभागको नागरिक बडापत्रमा एक दिनमै काम हुने भनिएको छ तर अहिले एक दिनमा हुने भनिएको काम एक महिनामा पनि हुँदैन । कारण सफ्टवेरले कामै गरेको छैन,’। विभागमा भेटिएका एक सेवाग्राहीले भने ।

औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहाल विभागले सञ्चालनमा ल्याएको सफ्टवेरले सेवाग्राहीलाई सजिलो भन्दा पनि अफ्टेरो पारेको प्रतिक्रिया दिए । उनले भने, ‘सफ्टवेर लागू भएपछि कागजी प्रक्रिया विस्तापित हुने भयो । काम पनि छरितो हुने भयो भन्ने आशा थियो । तर आशा अनुरुप भएन । कहिले सर्भर डाउन छ भनिन्छ । कहिले कता विग्रिएको छ भनिन्छ । यति धेरै सेवाग्राही यति धेरै काम हुने संस्थाको सफ्टवेर चुस्त हुनुपर्ने हो त्यो पाएका छैनौँ । धेरै पटक गुनासो पनि गरियो तर सुनुवाई भएको पाइएको छैन ।’

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले प्रविधिमा जानु आफैमा राम्रो भएपनि विभागको सफ्टवेरले सहजता प्रदान नगरेको बताए । ‘सफ्टवेरले त कामलाई सहज र छरितो बनाउनुपर्ने हो तर यसले धोका दिईरहँदा व्यावसायी तथा सेवाग्राहीले प्लानिङ अनुसार काम गर्न पनि सकेका छैनन् । सफ्टवेरले काम नगर्दा विभागका कर्मचारीसमेत काम विहीन जस्तै बनेका छन्,’ उनले भने ।

तर विभागका महानिर्देशक नारायण ढकालले सेवाग्राहीको गुनासोमा सहमति जनाउने पक्षमा छैनन् । उनी भन्छन्, ‘कहिलेकाँही डाउन हुनु स्वभाविक हो । तर सफ्टवेर चलि रहेको छ काम गरिरहेको छ ।’

उनले प्रविधिमा जाँदै गर्दा केही टेक्निकल अफ्टयारा देखिन सक्ने भन्दै त्यसलाई सच्याइने बताए । ‘यो सफ्टवेरले काम नगरेको होइन निकै राम्रो काम गरेको छ,’ उनले अन्तमा भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *